जनताहरू भेडा होइनन्

२२ बर्षे ठिटोले आफूले लाएको जुत्ताले  नेपाल कम्युनिस्ट पार्टीका (माओवादी) अध्यक्ष प्रचण्डतिर हानेको झटारो भन्दा, सुनसरीको एउटा कार्यक्रममा झलनाथ खनाललाई  उनकै पार्टीका ५२ वर्षीय कार्यकर्ता  देवी प्रसाद रेग्मीले हानेको थप्पड भन्दा कयौँ गुणा शक्तिशाली झापड हो यो स्थानीय चुनावको नतिजा  ।


हामीले तिनै नेतालाई पटक पटक भोट दियौँ ।  चुनावमा जितायौँ ।  उनीहरूले खासै राम्रा काम गर्न सकेनन् । फेरी  हामीले उनीहरूलाई नै मत दिएर जितायौँ ।  उनीहरूले फेरी पनि विकास गर्न सकेनन् ।  त्यसपछि हामी अवाक् भयौँ  अनि नेतालाई  मात्र होइन जनतालाई पनि गाली गर्न थाल्यौँ– ‘भेडा,’ ‘इन्करेजिबल’ अर्थात् कहिल्यै नसुध्रिने, ‘अशिक्षित,’ ‘विकास नचाहने,’ ‘परिवर्तन नचाहने,’ ‘त्यही एउटै पार्टीलाई  समातेर बस्ने’  आदि इत्यादि । तर जनता भेडा वा ‘इन्करेजिबल’  होइन रहेछन् भने कुरा अहिलेको स्थानीय चुनावले ल्याएको  नतिजाबाट  थाहा  हुन्छ — चाहे त्यो धरान उपमहानगरपालिका मेयरमा स्वतन्त्रबाट उठेका हर्क साम्पाङको जित होस् वा धनगढी उपमहानगरपालिका मेयरमा गोपाल हमालको वा अहिले निकै चर्चामा रहेको काठमान्डू महानगरपालिकाको मेयरमा बालेनको जितको सम्भावना।  यी सबै स्वतन्त्र पदबाट उठेका हुन् । पक्कै पनि यिनीहरू कसैले मत किन्न पैसा खर्च गरेनन्।

अहिलेको स्थानीय चुनावको नतिजाले संस्थागत पार्टीका नेतालाई भन्दा, स्वतन्त्र पदबाट  उठेका व्यक्तिलाई जनताले पत्याएको, विश्वास गरेको देखिन्छ ।  उमेरका हिसाबले पनि युवा पुस्ताको नेतृत्वलाई मन पराएको भन्ने बुझिन्छ, उदाहरणको लागि ३२ वर्षका बालेन भनौँ या  ३९ वर्षका हर्क साम्पाङ  ।  अर्थात् सारांशमा भन्नुपर्दा जनताले कुनै पार्टीसँग आबद्ध व्यक्ति विशेषलाई मत दिनुभन्दा पनि कसले आफ्ना समस्यालाई सम्बोधन गर्न सक्छ भन्ने सोचेर मत दिएको बुझिन्छ ।  जसले जनता ‘भेडा’ होइनन् भन्ने देखाउँछ ।  बरु पटक पटक नेताहरूलाई अवसर दिने दयालु हृदय भएका नेपाली रहेछन् भन्ने बुझिन्छ तर नेताहरूले भने शङ्काको सुविधामा मोज गरेको र जनतालाई भेडा र दास बनाइरहेका रहेछन् भन्ने देखिन्छ । 

विकासका काम गफ दिएर वा अर्को पार्टीलाई गाली गरेर वा उसका खुट्टा तानेर वा सपना मात्र देखाएर हुँदैन, सम्बोधन गर्नुपर्ने समस्याका एजेन्डा र त्यसका समाधान स्पष्ट रूपमा जनतासामु ल्याउन सके मात्रै जनताले पत्याउने रहेछन् भन्ने कुरा यसपालिको स्थानीय निर्वाचनको नतिजाले देखाएको छ । 

यसपालिको स्थानीय चुनावले  हामीले जनतालाई अवमूल्यन गर्नु हुँदैन भन्ने देखाएको छ ।  नतिजाले जनताको चेतनाको स्तरलाई माथि देखाएको छ।  विकासका काम गफ दिएर वा अर्को पार्टीलाई गाली गरेर वा उसका खुट्टा तानेर वा सपना मात्र देखाएर हुँदैन, सम्बोधन गर्नुपर्ने समस्याका एजेन्डा र त्यसका समाधान स्पष्ट रूपमा जनतासामु ल्याउन सके मात्रै जनताले पत्याउने रहेछन् भन्ने कुरा यसपालिको स्थानीय निर्वाचनको नतिजाले देखाएको छ ।   जनताले तिनै एजेन्डाहरू देखेर, पढेर र सुनेर यसपालिको स्थानीय चुनावमा मत खसालेछन् भन्ने आभास हुन्छ ।

 काठमान्डू महानगरपालिकाको मेयर कै कुरा गर्ने हो भने पनि मेयर पदमा उठेका उम्मेदवार आफ्ना एजेन्डालाई स्पष्ट रूपमा राख्ने र समस्यालाई प्रस्ट देखाउन सक्नेमा पहिलो बालेन नै थिए जुन केशव स्थापितले समेत गर्न सकेका थिएनन् त्यसैले बालेनले पाएको मत सङ्ख्या हेर्दा लाग्छ बालेनलाई जनताले पत्याए ।  यसका लागि मिडियालाई पनि धन्यवाद दिनुपर्छ जसले जनतासामु उनीहरूका विचारहरूलाई सुन्ने र जनताले स्वनिर्णय गर्ने अवसर प्रधान गरे ।  मलाई लागेको थियो “स्पष्ट एजेन्डाको आधारमा हेर्ने हो भने बालेनले जित्नुपर्छ तर जित केशव स्थापित कै हुन्छ किनकि जनता ‘भेडा’ छन्, कार्यकर्ताको ठूलो लस्कर छ, सिन्डिकेट छ, जनताको चेतनाको स्तर अझै माथि उठेको छैन।” मैले पनि मनमनै यसरी नेपाली जनताको  अवमूल्यन गरेको थिएँ । त्यो मात्रै होइन बालेनले किटान गरेरै यति र उति मत ल्याउँछु भनिरहँदा धेरैले उनलाई जोक बनाएका थिए। ‘मेम’ नै बनाएर उनलाई हाँसोको पात्र बनाउन पनि भ्याए । तर अहिले बालेनले पाएको मत र मतान्तर हेर्दा मैले गरेको जनताप्रतिको अविश्वास फिर्ता अहिले नै लिन चाहन्छु ।

अझै पनि केही नेताहरू एक अर्कालाई दोष थुपार्न तल्लीन छन् भने अरू केही नेताहरू जो  वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै आएका छन् फेरी पनि आफूले सोचेको मत नपाउँदा भन्दै छन् ‘नेपाली जनता इन्करिजेबल छन्। ‘ उनीहरू अझै पनि निर्मम समीक्षा गर्न तयार छैनन् कि किन उनीहरूले जनताको विश्वास गुमाए ।   अब सबैले के सिक्नु जरुरी छ भने जनताको सम्मान नगर्नु भनेको एक दिन न एक दिन उनीहरूबाट सजाय पाउनु हो ।  यसपालिको स्थानीय चुनावले मै हुँ भन्नेहरूलाई पनि ठूलो सजाय दिएको छ ।  हिजो पनि राम्रा काम गरेका कुनै पार्टीमा आबद्ध नेताहरू छन् भने उनीहरूको जित आज पनि भएको छ जस्तो उदाहरणको लागि म आफै स्थायी बसोबास गर्दै आएको जिल्ला ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका मेयर चिरिबाबू महर्जनले पाएको मतलाई हेर्दा हुन्छ  ।  यसले पनि के देखाउँछ भने जनता ‘भेडा’ छैनन् ।

कुनै चिप्ला भाषण गरेका होइनन् ।  उनीहरूले वाक युद्ध गरेका होइनन् । कुनै अर्को पार्टीलाई वा अर्को पार्टीको नेतालाई तथानाम गाली गरेका होइनन् ।  समस्यामा मात्र फोकस भएका हुन् । 

साम्पाङ र बालेनले जनतासामु आफ्ना ठाउँका समस्या र तिनीहरूको हलका बारेमा बोलेका हुन् ।  साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका हुन् भने बालेनले काठमान्डूको फोहोर तथा ट्राफिक व्यवस्थापनको बारेमा बोल्दै आएका  हुन् ।  कुनै चिप्ला भाषण गरेका होइनन् ।  उनीहरूले वाक युद्ध गरेका होइनन् । कुनै अर्को पार्टीलाई वा अर्को पार्टीको नेतालाई तथानाम गाली गरेका होइनन् ।  समस्यामा मात्र फोकस भएका हुन् ।  उनीहरूले कुनै झुन्ड वा कार्यकर्ता तयार पारेर, लावा लस्कर सहितको भाषण पनि गर्दै हिँडेका होइनन् ।  आखिर नतिजा हेर्दा जनताले उनीहरूलाई नै विश्वास गरेका छन् जो विश्वास गर्न लायक थिए।  त्यही भएर जनता भेडा होइनन् ।  

यो नतिजा भनेको नेताहरूको अहिलेसम्मको कार्यशैलीप्रतिको घोर भर्त्सना हो ।  गोल्छे सार्कीले रामचन्द्र पौडेललाई दिएको जुत्ता प्रहार भन्दा,  २२ बर्षे ठिटोले आफूले लाएको जुत्ताले  नेपाल कम्युनिस्ट पार्टीका (माओवादी) अध्यक्ष प्रचण्डतिर हानेको झटारो भन्दा, सुनसरीको एउटा कार्यक्रममा झलनाथ खनाललाई  उनकै पार्टीका ५२ वर्षीय कार्यकर्ता  देवी प्रसाद रेग्मीले हानेको थप्पड भन्दा कयौँ गुणा शक्तिशाली झापड हो यो स्थानीय चुनावको नतिजा  ।  यो झापड भनेको एउटा वा दुइटा नेताका लागि मात्र नभएर सम्पूर्ण पार्टीका नेतालाई समेत हो ।  नेताको दास भएर बस्न मन पराउने हजारौँ कार्यकर्ताहरूलाई पनि हो यो झापड ।  राजनैतिक प्रगति नभएको, जनतालाई गरेका बाचाहरू पुरा नभएको र जनताका सपनाका ढाडमा टेकेर नेताहरूले आफ्नो मात्र पेट भरेकोले गर्दा त्यो विद्रोह र पिडा को अभिव्यक्तिले सृजित परिणाम  हो यो यसपालिको स्थानीय चुनावको नतिजा  । झापड नहानीकनै हानेको गतिलो झापड हो यो ।  संस्कारी झापड हो यो ।  नेताको दासत्वबाट मुक्त हुने झापड  हो यो । यो नतिजा जनताका नेताहरूबाट पाएको धोका, निराशा र विद्रोहको बिम्बात्मक अभिव्यक्ति हो  । नेताहरू नसुध्रिए साम्पाङ र बालेनहरू स्वस्फुर्त आउने रहेछन् र जित उनीहरूकै हुन सक्ने रहेछ भन्ने प्रस्ट सङ्केत हो यो ।  त्यसैले जनताको अवमूल्यन नगरौँ ।  उनीहरू भेडा होइनन् ।  जनताको सम्मान गरौँ ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope