काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन् । अब गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो ।
निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेनले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् ।
बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ । अब मतगणना गर्न बाँकी रहेको मतमध्ये एक मत पनि बालेनको पक्षमा नआए पनि नतिजामा फरक पर्ने छैन ।
हालसम्मको मतगणनाअनुसार एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । स्थापितको भन्दा बालेनले २१ हजार १२१ बढी मत पाएका छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजार ३२२ मत प्राप्त गरेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो ।
साभार: शिलापत्र
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस