को हुन् बालेन ? किन भए उनी मेयर ?


२०४७ सालमा पिता  डा. रामनारायण शाह जो आयुर्वेदिक चिकित्सक थिए र आमा आमा ध्रुवदेवी शाह अर्थात् शान्ति शाहले बालेन अर्थात् बालेन्द्र शाहलाई जन्म दिए ।  बालेन मधेसको तेली समुदायका युवा हुन् । उनका हजुरबुबा अजोधी साहले २००७ सालको जनक्रान्तिका बेला जनकपुर क्षेत्रमा ठूलो योगदान पु¥याएको मानिन्छ । यसरी उनका बाबुबाजे मधेसी मूलका भए पनि बालेन  चैँ काठमान्डुवासी हुन् । काठमान्डूमै जन्मे–हुर्केका उनी नेवारी भाषा बोल्न जान्दछन् भने यहाँको संस्कार र संस्कृतिसँग चिरपरिचित छन् । बालेनले भनेका छन्, ‘म पनि नेवाः हुँ । नेवाः भनेको जात हैन समुदाय हो । काठमाडौँ उपत्यकामा बसेर, यहाँको कला संस्कृतिलाई अपनाएर, यहाँको जात्रामा रमाएर, यहाँको पर्व चाड मनाएर, यहाँको भावनालाई बुझेर यहाँको संस्कृति बुझ्ने जति पनि उपत्यकावासी छन्, ती सबै नेवा हुन् ।‘

काठमान्डूको गौरिगाउँ तीनकुनेमा जन्मिएका बालेनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजी बाट सिभिल इन्जिनियरिङ र कर्नाटक राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रकचरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका थिए। पेसागत हिसाबमा उनले धेरै वटा पहिचान बोकेका छन् । उनलाई झट्ट चिन्नेले र्यापरको रूपमा चिन्छन् । तर उनी इन्जिनियर, भिड्यो डाइरेक्टर, स्क्रिप्ट राइटर, सङ्गीत निर्माता, गीत लेखक, निर्देशक र सामाजिक अभियन्ता  हुन् ।  तर अब उनको छवि र पहिचान त्यो भन्दा पनि बढी काठमान्डू महानगरपालिकाको मेयरको रूपमा भएको छ ।

सानैदेखि प्रश्न सोध्न गर्न  मन पराउने जिज्ञासु र उत्सुक बालेन उत्तर सही नपाउँदा भने दुखी हुन्थे ।  उनको  भनाई हुन्थ्यो सही प्रश्न र सही उत्तरले देशलाई विकासको गतिमा डोर्याउछ चाहे त्यो शिक्षकले विद्यार्थीलाई दिने उत्तर होस् वा आमाले उनका सन्तानलाई।  त्यहीबाट सुरु हुन्छ सायद सभ्य राजनीतिको अभ्यास ।  त्यही भएर होला बालेन सही प्रश्न गर्न र सही प्रश्नको सही उत्तर दिन काठमान्डूको मेयर पदमा आई पुगेका छन् ।  

किने उठेका थिए बालेन मेयरमा ?

उनले पाँच वर्ष पहिल्यै काठमाडौँ महानगरपालिकाको मेयरको पदमा चुनाव लड्ने घोषणा गरेका थिए। उनले आफ्नो पोस्टमा भनेका थिए   ’यसपालि मैले भोट दिइनँ । किनभने, म उम्मेदवार होइन । अर्को पालि भोट दिनेछु, आफैँलाई । मलाई अरू कसैको भर लाग्दैन ।’ आखिर उनले त्यो काम फत्ते गरेरै छोडे–– आफैँ उम्मेदवार भएर उठे अनि आफैलाई भोट हाले र आफैले जिते ।  उनले आफूलाई बोलीको पक्का भएको देखाए ।  आफ्नो मेयरको उम्मेदवारीलाई उनले भनेका थिए  ’म राजनीतिमा छिरेको भन्दा पनि काठमान्डूको विकास गर्न आएको हुँ । “

बालेनलाई नजिकबाट चिन्नेहरू भन्छन् बालेन नाकाबन्दीका बेलादेखि नै राजनीतिक गतिविधिमा संलग्न हुन थालेका थिए  । उनी नाकाबन्दीताका फेसबुकको ’एमआरआर’ समूहले आयोजना गरेको सडक भोजमा होस् वा त्यस्तै अर्को समूह ’दारी ग्याङ’ ले गर्ने विभिन्न सामाजिक कार्यक्रममा होस्, बालेन सहभागी हुने गर्थे । पहिल्यैबाट नेपालको राजनीतिक विसङ्गति र नेताहरूको गैर जिम्मेवार पूर्ण अभिव्यक्तिका कारण देशको विकास हुन नसकेकोमा उनी जहिल्यै दुखी हुन्थे ।  खास गरी काठमान्डूको हकमा भन्ने हो भने यहाँको फोहोर व्यवस्थापन र खानेपानीको प्रमुख समस्या हुनु।  त्यसै गरी ट्राफिकको समस्या र काठमान्डू काठमान्डू जस्तो हुन नसक्नुले उनलाई पिरोलिरहन्थ्यो ।  “काठमान्डूलाई एउटा म्युजियम जस्तो बनाउने हो,” उनले धेरै अन्तर्वार्तामा  पनि भने ।  “केही गर्नुपर्दैन।  केही समस्या छन् सम्बोधन गरे पुग्छ।” आफू काठमान्डू मै जन्मेको र हुर्केको कारणले गर्दा यहाँका समस्यालाई राम्रो गरी बुझेको र त्यसमा पनि आफू “स्ट्रक्चरल इन्जिनियरिङ” भएको नाताले काठमान्डूले खोजेको मान्छे आफू नै हो भन्ने लागेकाले आफै मेयरमा उठ्नुपर्छ भन्ने उनलाई लागिरहन्थ्यो ।  उनलाई नजिकबाट चिन्नेहरूले भन्छन् बालेनले र्‍यापमा पनि यस्तै विसङ्गतिलाई बढी उजागर गरेका छन् ।   उनले काठमान्डूको मेयर पदलाई अरू राजनीतिक नेताहरूभन्दा फरक किसिमले हेरेका थिए ।  उनले भनेका थिए, ’काठमाडौँको मेयर पद भनेको कुनै कम्पनीको सिइओ जस्तो हो । मेयरको पद राम्रो ज्ञान भएको मान्छेले लिनुपर्छ। , राजनीतिसँग तुलना गर्न मिल्दैन।’ अब उनी त्यो पद सम्हाल्न आई पुगेका छन् ।

बालेनका एजेन्डा

बालेनले आफ्नो एजेन्डामा सरकारलाई डिजिटल बनाउनेदेखि लिएर आइडिया बैङ्कसम्मको कन्सेप्टलाई अगाडी ल्याएका छन् । सर्वसाधारणलाई  कुनै दुख नदिने हिसाबले उनले विभिन्न विषयमा प्रतिबद्धता नै जनाएका छन् जस्तो व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने ।  सबै वडा र नगरपालिका स्तरमा अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने, सूचनाको हक र खरिद, टेन्डर प्रक्रिया र बजेटको पारदर्शिता डिजिटल माध्यमबाट गर्ने, जन्म दर्ता प्रमाणपत्र, मृत्यु दर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरी गर्ने  बालेनको एजेन्डामा पर्छ  । उनका एजेन्डामा युवाहरूलाई उनीहरूको व्यक्तिगत करियर मार्ग पत्ता लगाउन मद्दत गर्ने उद्देश्यले करियर परामर्श र कोचिङ कक्षा उपलब्ध गराउने तथा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षा दिने समेत उल्लेख छन् । सारंसमा उनी भन्छन् आफू इञ्जिनियरिङ्गको विद्यार्थी भएको कारणले काठमान्डुलाई एउटा सबल इन्जिनियरको खाँचो छ, र त्यो सँगै नेवा समुदाय र काठमान्डू बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु पर्ने छ । बालेनका एजेन्डा हेर्दा, सुन्दा र पढ्दा साँच्चै लाग्छ काठमान्डूबासीले खोजेको यही हो ।  यिनै एजेन्डालाई स्पष्ट राख्न सकेका कारण पनि हो बालेनले मतदाताको मन जित्न सकेको ।“ खास गरी भन्ने हो भने त उनले काठमान्डूको फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने बारेको स्पष्ट धारणा नै हो किनकि काठमान्डूको सबैभन्दा ठुलो समस्या भनेको फोहोर र ट्राफिक समस्या हो र त्यो सँग जोडिएका अन्य कुरा जसका कारण काठमान्डू अव्यवस्थित र दुर्गन्धित भएको छ ।  अब हेर्दै जाऊँ बालेनले आफूले गरेका बाचा कति पुरा गर्ने हुन् ।

बालेन माथि लागेका आरोप

बालेन काठमान्डूको मेयरमा उठेपछि वा उनी चुनाव प्रचार प्रसारमा  आइरहँदा उनलाई मन नपराउने वा अर्को राजनीतिक पार्टीको मान्छे जसले उनको हार होस् भन्ने चाहन्थ्यो हरूले विभिन्न आरोप भन्ने लगाई रहे ।  स्थानीय चुनावको समयमा केशव स्थापितले उनलाई एक “अन्तर्राष्ट्रिय ठग“ समेत भन्न भ्याए । अर्का थरीले भने, ’देशको झन्डालाई यसरी प्रयोग गर्नु भएन ।’ तर ती कुनैले बालेनलाई टस को मस पारेन | बालेनले कलिलो उमेरमा गरेका र्याप भिड्यो हरू सार्वजनिक गर्दै त्यहाँ प्रयोग भएका केही अश्लीलतालाई महिलामाथिको दुर्व्यवहारको रूपमा पनि हेरेर प्रश्न उठाए ।  त्यसै गरी प्राय सधैँ कालो चस्मा लाउनेले कसरी जनताका आँखामा सिधा हेरेर राजनीति गर्न सक्छ भनेर पनि होच्याउन र गल्ती देखाउन खोजे । कतिले भने, ’अहो, बालेनले ट्विटरमा एक जनालाई पनि फलो गरेको छैन । यो घमन्डको अर्थ के हो ?’ जताततै बालेन शाह देशको झन्डा काँधमा राखेर हिँडिरहेका तस्बिरहरू आउन थालेपछि  अर्का थरीले भने, ’देशको झन्डालाई यसरी प्रयोग गर्नु भएन ।’ तर ती कुनैले बालेनलाई टस को मस पारेन । फलतः उनी आज काठमान्डूको मेयरमा विजयी भएका छन् ।  आसा गरौँ उनीमाथि लागेका यी सबै आरोपलाई उनले झुट साबित गर्न सक्नेछन् र प्रमाणित गर्न सक्ने छन् कि उनको कालो चस्मा पछाडिको रहस्य काठमान्डूका जनता र काठमान्डूको हित गर्ने भन्दा बाहेक अरू केही छैन ।  

बालेनको आत्मविश्वास

“म ९० हजार भन्दा बढी मत ल्याउँछु“ भनेरै पूर्ण विश्वासका साथ बालेन लागिपरेका थिए ।  हरेक अन्तर्वार्तामा उनले त्यो कुरा दोर्ह्यारहे ।   उनले भनेका थिए ,“हामीले सबै डाटाको अध्ययन गरेका छौँ काठमान्डुका ३२ वटै वडाबाट।“  यसरी तोकेरै, किटान गरेरै भन्नुमा उनको अध्ययन र अनुसन्धान झल्किन्थ्यो ।  यद्यपि उनले आफूले भने जति  मत नल्याए पनि, जित भने उनैको भयो  ।  जब बालेन उत्रिए मैदानमा तब उनलाई सपोर्ट गर्ने युवा पुस्ता लगायत धेरै सेलिब्रेटीहरूले उनलाई सपोर्ट र समर्थन गरेका थिए  ।  उनलाई सामाजिक सञ्जालमा उनको तस्बिर र चुनाव चिन्न लौरो नै राखेर प्रचार, प्रसार समेत गर्न भ्याए थिए ।  त्यसले बालेनलाई अझ आत्मबल र विश्वास दिएको थियो ।  आसा गरौँ उनले यो विश्वासलाई तोड्ने छैनन् । उनको प्रशंसा गर्नेको वा-वामा लागेर बिग्रिने छैनन्।  हुन त उनले भनेकै छन कि निष्पक्ष रूपमा काम गर्न सकियोस् भनेर कोहीबाट चन्दा लिने काम पनि गरेका छैनौ । 

बालेनको जितको सङ्केत

युवाहरू प्रति जनताको भरोसा र साख कतिसम्म हुनसक्दोरहेछ भन्ने प्रमाण हो यो । परिपक्वता उमेरमा होइन भिजन, एजेन्डा र स्पष्टतामा हुनसक्दोरहेछ भन्ने उदाहरण हो यो । यसलाई नेताहरूले गहिरिएर सोच्नु जरुरी छ । यो जित बालेनको भाग्य होइन उनको मेहनत र परिश्रम हो । पाँच वर्षदेखि सामाजिक अभियानमा लागेका बालेनले काठमाडौँको अध्ययन र सर्वसाधारणसम्म पुगेर उनीहरूसँग जानकारी र आशीर्वाद लिएर देश र जनताको लागी के गर्न सकिन्छ भनेर गरेको समर्पणको नतिजा हो बालेनले पाएको जित हो । उनको जितसँग अब धेरै काठमान्डूबासीको प्रीत गाँसिएको छ । त्यो मात्र होइन कहिल्यै काठमान्डू नटेकेका र नदेखेकाहरूका लागि समेत बालेनको यो उचाइ गर्वको विषय बनेको छ । नेताहरू नसुध्रिए बालेनहरू स्वस्फुर्त आउने रहेछन् र जित उनीहरूकै हुन सक्ने रहेछ भन्ने प्रस्ट सङ्केत हो यो । नेताहरू नसुध्रिए बालेनहरू स्वस्फुर्त आउने रहेछन् र जित उनीहरूकै हुन सक्ने रहेछ भन्ने प्रस्ट सङ्केत हो यो । अरू पार्टीका नेताहरूले नै भन्न थालिसकेका छन् कि  “हामीले कोर्स करेक्सन नगर्ने हो भने पार्टीप्रतिको जनमत हराउँदै जानेछ” र बालेनहरू उदाउँदै जानेछन् ।

बालेन बिम्ब

बालेन अहिले एउटा बिम्ब बनेको छ  ।  बालेन अब नाम होइन काम बनेको छ ।  बालेन अब शब्द होइन सम्भावना बनेको छ  ।  बालेन अब अक्षर होइन एजेन्डा भएको  छ ।  बालेन अब नेताका कार्यक्षमताका लागि चुनौती भएको छ ।  युवापिंडीका लागि मार्ग निर्देशन भएर उभिएको छ  ।  बालेनले अलग छुट्टै पहिचान बनाएको छ । बालेनले भनेका छन् “कुनै राजनीतिक दल, व्यक्ति र पार्टीलाई गाली गर्ने होइन, हामीले कसरी  हुन्छ राम्रो काम गर्ने हो।“ जुन सायदै कुनै नेताले भनेको होस् ।  खालि अप्रिय शब्दले हिलो छ्याप्न बानिपरेका, षडयन्त्र सिद्धान्तको आडमा आफूलाई वैकल्पिक, वैज्ञानिक र देशभक्ति देखाउँदै सत्तामा जुको झैँ टाँसिन पल्केकाहरूका लागि अन्ततः बालेन एउटा आसलाग्दो शक्ति भएको छ । राजनैतिक प्रगति नभएको, जनतालाई गरेका बाचाहरू पुरा नभएको र जनताका सपनाका ढाडमा टेकेर नेताहरूले आफ्नो मात्र पेट भरेकोले गर्दा त्यो विद्रोह र पिडा को अभिव्यक्तिले सृजित परिणाम  भएको छ बालेनको जित ।

अन्त्यमा,

अब बालेनले  मेयर पदमा जितिसकेका छन् ।  बालेन विध्वंसको बल बन्नु हुँदैन। सुसंस्कृत राजनीतिको बल हुनुपर्छ जुन देशको विकास सँग जोडिएको होस्  ।  अहिले बालेनलाई यो पहिचान दिएको जनताले हो, उनलाई विश्वास गरेर ।  आफू स्वतन्त्रबाट उठ्दा उनका पछाडि थुप्रै चुनौतीहरू  छन् कसरी आफूले अगाडी सारेका एजेन्डाहरूलाई लिएर अगाडी जाने  तर “खासै चुनौती छैनन् सजिलो छ,“ बालेन भन्छन् । ’किनकि मलाई समस्या के हो थाहा छ। मात्र कडा परिश्रम चाहिन्छ ।’

बालेनले यो उचाइ लिए सँगै धेरैले एउटा सकारात्मक अपेक्षा गरेका छन् । मधेसी मूलको पृष्ठभूमि भएको परिवारबाट आएका बालेन शाहको जित मधेस र पहाडलाई जोड्ने र सहिशुणताको दिशातिर लान सक्ने प्रक्षेपण पनि धेरैले गरेका छन्  । बालेन आफैले भनिरहेका छन् काठमाडौँमा आधुनिकता र संस्कृतिलाई कसरी सँगै जोडेर  लिएर जाने भनेर । 

बालेनको व्यवहार हेर्दा यस्तो लाग्छ भोलि उनले बोलेका कुरा पुरा गर्नेछ ।  किनभने बालेनले सधैँ बोल्दाखेरि ‘हामी, हामी’ भन्छन्, जबकि कि उनी सिङ्गै एक्लो उठेका छन् । उनले भनेका ती ‘हामी’ को को हुन् ? भनेर प्रश्न गर्दा लाग्छ ती हामी सबै जनता हौँ । 

आसा गरौँ   बालेनको जित सँगै काठमाडौँको मैलो हट्ने छ र जो कोहीले चाडै नै नजिकबाट जुगल हिमाल मुस्कुराई रहेको देख्नेछन्  । अहिले नै धेरैले पानी परेपछिको खुलेको आकाश झैँ महसुस गरेका छन् बालेनको यो उचाइलाई लिएर । बिसङती र विकृतिलाई र्यापमा हालेर समाज, राष्ट्र र नेताको हैसियतलाई उदाङ्ङो र नाङ्गो देखाइदिने बालेन अब आफै एउटा यस्तो उत्तरदायी पदमा आई पुगेका छन्  कि  हेरौँ अब यहाँबाट उनले कति छलाङ मार्न सक्छन्  त्यसैको पर्खाइमा छन् सम्पूर्ण  जनता ।

जाँदा जाँदै,   महाभारतमा अर्जुनका धेरै नाम थिए, जस्तो धनञ्जय, विजय, कीर्ति, कौन्तीय आदि, इत्यादि ।  काम, परिभेष र सन्दर्भ अनुसार कृष्णले अर्जुनलाई विभिन्न नामले सम्बोधन गर्थे । ती विविध नामहरूको अर्थ अर्जुनका कामसँग हुन्थ्यो।  ती नामहरू विशेषण बन्थे  । काम र नामसँगै उनका विविध पहिचान बन्थे । आज बालेन चर्चामा आइरहँदा र मेयरमा विजयी भइसक्दा उनका बहुआयमिक पहिचानका परिचर्चा भइरहेका छन् । हिजोको र्यापर बालेन, आजको काठमान्डू महानगरपालिकाको मेयर बालेन भएको  छ । यस्तो लाग्छ काठमान्डूबासीको मत र जनताको समर्थनले बालेनलाई एउटा ’फोर्स’ बनाएको छ । आसा गरौँ  बालेन एउटा त्यो फोर्स बन्न सकुन् । 

साभार: अन्नपूर्ण पोस्ट (आईतबार, जेठ १५, २०७९ (Sunday, May 29, 2022)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope