ढुक्कले अझै खानेपानी पाइँदैन

बागलुङ नगरपालिका–६ का झण्डै एक दर्जन गाउँका बासिन्दाले हिउँदको समयमा घाँटी भिजाउने पानीको मुहान गाउँभन्दा झण्डै छ किलोमिटर टाढाको गाउँमा छ । बागलुङ नगरपालिका–७ मा रहेको तितौरे गाउँको पानी वर्षौं लगाएर यहाँ ल्याइएको हो ।
अहिलेभन्दा २१ वर्ष पहिले सुरु भएको पानी ल्याउने काम केही वर्षमा पूरा भएपछि गाउँमा पानी त आयो तर हिउँद बर्खा दुवै सिजनमा ढुक्कले गाग्री भर्न भने यहाँका सर्वसाधारणले अझै पाएका छैनन् । लामो दूरीमा पाइपलाइन भएकाले वर्षामा बाढी पहिरोको शिकार हुने र हिउँदमा मुहान सुक्ने र पानी कम हुने समस्याले सर्वसाधारण समस्यामा छन् ।
असारदेखि फागुनसम्म चाहिने जति पानी पाउने गरेका यहाँका सर्वसाधारणलाई फागुन, चैत र वैशाखमा पर्ने खडेरीले निकै पिरोल्छ । चैत वैशाख र जेठमा वर्षा हुँदा गाउँमा खुशियाली छाउँछ । “आकाशको पानी आउँदा मुहान सर्सिन्छन्, हामीले पानीको समस्या भोग्नुपर्दैन्, नत्र पानी सुकेर धारा हुन्छ पानी हुँदैन”, बागलुङ नगरपालिका–६ का मानबहादुर केसीले भन्नुभयो, “पहिलाभन्दा घर पनि बढेका छन्, पानी धेरै चाहिन्छ तर आउने पानी कम हुन्छ ।” वर्षा हुँदा खानेपानीको समस्या कम हुने भएकाले गाउँले सबै खुसी हुने गरेका छन् ।
यो वडा बागलुङ नगरपालिकाको केन्द्र बागलुङ बजारदेखि नजिकै उत्तर क्षेत्रमा पर्छ । यहाँ नजिकमा पानीका मुहान निकै कम भएकाले खानेपानीको अधिकांश गाउँमा समस्या थियो । २०५८ सालमा छ किलोमिटर टाढा तितौरेबाट पानी ल्याउने काम सुरु भएको भए पनि २०६४ सालमा गाउँमा पानी आएको केसी सम्झन्छन् ।
“ट्याङ्कीमा जम्मा गरेर घर घरमा पुगेका पाइपमा पानी बाँढेर काम चलाइएको छ, धारा बनाउन र पानी व्यवस्थित गर्न अझै बाँकी छ”, केसीले भन्नुभयो, “यसअघि वडाले पहिला पानी नभएका ठाउँमा काम गर्यो, जसोतसो चलेकै थियौँ, अब व्यवस्थित होस् भन्ने लागेको छ ।” २१ वर्ष पहिले जडान भएको पानी ल्याउने पाइप सानो भएको र मुहान थप गरेर भएपनि बाह्रै महिना २४ सैँ घण्टा पानी आउने वातावरण हुनुपर्ने केसीजस्तै वडावासीको माग छ । यो मुहानको पानी यहाँका ४०० घरपरिवारले प्रयोग गर्ने गरेका छन् ।
बागलुङ नगरपालिका–६ का २५० परिवारमा अझै पनि खानेपानीको समस्या छ । लाकुरीबोट, धारापानी, पैञ्युपाटा, भान्साको छापलगायतका गाउँमा उपयुक्त मुहानको अभावमा घरघरमा पानी पु¥याउन समस्या रहेको वडाध्यक्ष रुद्रबहादुर कसीले बताउनुभयो । सर्वसाधारण पुराना पँधेरा र कँुवाको भरमा खानेपानीको जोहो गर्ने गरेका छन् । ती पँधेरा र कुवासमेत सुक्खा समयमा सुक्ने भएकाले लिफ्टििङ प्रविधिबाट त्यहाँ पानी पु¥याउने योजना रहेको उहाँले सुनाउनुभयो ।
“बर्खाको समयमा खासै पानीको समस्या हुँदैन्, हिउँदमा खडेरी परे मुहान सुक्छन् र समस्या निम्तिन्छ”, केसीले भन्नुभयो, “सुक्खा समयमा पनि एक दुईपटक वर्षा हुँदा मुहान सर्सिन्छन् र त जनताका घाँटी भिजेका छन् ।” पानीको स्रोत थोरै र उपभोक्ता धेरै भएकाले अझै पनि खानेपानीको समस्या झेल्नुपरेको स्थानीय युवा दीपक सापकोटा बताउनुहुन्छ ।
सरकारले एक घर एक धारा कार्यक्रम सञ्चालन गरिरहेको भए पनि यहाँका सर्वसाधारण सबैको घरमा अझै धारा पुगेको छैन । “मौरीभिरको गाउँमा एउटै धाराबाट पाँच परिवारले पानीको जोहो गर्छन्”, सापकोटाले भन्नुभयो, “घरघरै धारा बनाउन त पानीको मुहान चाहियो नि !” वडा नं ६ को भीरलाङ्कुरी, लंगाउँ, तिनतलेलगायतका ठाउँमा लिफ्टििङ प्रविधिबाट पानी पु¥याइने र बाँकी गाउँमा समेत उपयुक्त मुहानको खोजी गरेर खानेपानी आयोजना सञ्चालन गरिने वडाध्यक्ष केसीले बताउनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस