सम्बन्धहरूको चिरफार गर्ने उपन्यास ‘मोचन’


पोखरा : उही प्रेमी उही प्रेमीका तर पूर्वीय संस्कार, सभ्यता र दर्शन अँगालेको नेपालमा हुँदा सामाजिक संरचना र संस्कारका कारण कतिसम्म बाँधिन्छन् र पश्चिमा संस्कारमा रमेको अमेरिकामा हुँदा कतिसम्म व्यक्तिगत स्वतन्त्रता खोज्छन् भन्ने दृष्टान्त मोचनले देखाएको छ, चलचित्रका दृष्यजस्तै। समीक्षक गोपीकृष्ण ढुंगानाले बुधबार पोखरामा आयोजित मोचनमाथिको मन्थनमा यसरी टिप्पणी गरे। ‘उपन्यासकारले मोचनलाई त्रिकोणात्मक सम्बन्धहरूको सञ्जालमा उनेका छन्। उनले मनोविश्लेषणात्मक यथार्थवादलाई उपन्यासको धार बनाएका छन्’, उनले थपे।

दुई मुख्य महिला पात्रको बीचमा रहेको पुरुष पात्र जीवनको जगत्प्रति हेर्ने दृष्टिकोणबारे सञ्चारकर्मी ढुंगानाले प्रश्न गरे, ‘सम्बन्धहरूकै जटिलतामा लपेटिएको छ ऊ। भन्नोस्, दुई डुंगामा खुट्टा राख्नेको हालत के हुन्छ ?’ पात्रका माध्यममार्फत थुप्रै घटनाक्रम प्रस्तुत गरेर जीवनलाई कसरी लिने ? कोसँग कस्तो सम्बन्ध राख्ने ? अपेक्षा र उपेक्षा किन र कसरी गर्ने ? जीवनलाई कसरी सहज बनाउने ? आदि सिकाइएको उनको भनाइ छ।

प्रमुख अतिथि सरुभक्तले भने, ‘मुख्य पात्र जीवनले जीवनमाथि मोचन प्राप्त गर्यो गरेन, उपन्यास त्यसैमा केन्द्रित छ। स्थान विशेष (अमेरिका)ले कसरी दाम्पत्य जीवन भत्काउने रहेछ भन्ने उपन्यासमा छ।’ उनले २१औं शताब्दीलाई सम्बोधन गर्ने शक्तिशाली साहित्यिक विधा आख्यान भएको उल्लेख गरे।

मोचनलाई विभिन्न दृष्टिकोणबाट हेरेर व्याख्या गर्न सकिने उनको भनाइ छ। ‘साहित्य रचनापश्चात् पाठकको हातमा पुग्दा उनीहरूले आफ्नै दृष्टिले पढ्छन् र लेखकको दृष्टिको कुनै अर्थ हुँदैन, सय जनाले मोचन पढे भने सय थरिको धारणा बनाउन सक्छन्’, उनले भने। कृति लेखिसकेपछि लेखकको मृत्यु हुन्छ भन्ने उत्तरआधुनिक चिन्तन रहेको पनि उनले स्मरण गराए। त्यही भएर पाठकका लागि कुनै पनि लेख व्याख्या गर्न खुल्ला रहन्छ भनी उनले तर्क गरे।

नेपाल लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले मुक्तकदेखि महाकाव्यसम्म कथा हुने तर्क गर्दै उपन्यास मोचनभित्रको कथाले पाठकलाई तान्ने बताए। उनले भने, ‘संस्कृतिलाई भाषाले बोक्छ, संस्कृतिको पुल भत्किएर सम्बन्धमा दरार आउँछ। मोचनमा यही छ।’ गजलकार प्रकट पंगेनी शिवले पात्रका चरित्रलाई घटनाक्रमबाट जीवन्त बनाउन सक्नु उपन्यासको बलियो पक्ष भएको बताए। लेखक डा. तुलसी आचार्यले भने, ‘पतिपत्नीको सम्बन्ध परालको आगो भन्थे, उपन्यासमा त सखुवाको आगो बनेको छ।’ नेपाली समाजमा हुर्किएर अमेरिकी भूमिमा आएका पतिपत्नीबिचको सम्बन्धमा आएका दरार र त्यसले निम्ताएको परिणतिले सम्बन्ध र संस्कृतिबारे सोच्न बाध्य बनापछि मोचन लेखेको डा. आचार्यको भनाइ छ।

‘मोचनले समाज र सम्बन्ध बुझाउँछ’ -डा. तुलसी आचार्य, उपन्यासकार

मोचन किन लेख्नु भयो ? नेपाली समाजमा हुर्किएर अमेरिकी भूमिमा आएका पतिपत्नीबिचको सम्बन्धमा आएका दरार र त्यसले निम्ताएको परिणतिले सम्बन्ध र संस्कृतिबारे सोच्न बाध्य बनापछि लेखें।

मोचनमा के छ ? आजका मानिसले प्रेम र सम्बन्धमा भोगेका जटिलताहरू। अमेरिकन समाज र नेपाली समाजमा हुने भिन्नता। जीवनमा खुसीको महत्व अनि पवित्र सम्बन्ध स्थापित गर्नलाई चाहिने खुराक छ यसमा।

किन पढिनुपर्छ मोचन ? नेपाली समाज कता गइरहेको छ ? पति पत्नी हुनु भनेको के हो ? सम्बन्धमा मायाप्रेम र यौनको भूमिका कति र कस्तो रहन्छ ? अहंताले सम्बन्धमा पार्ने प्रभाव र गुणात्मक जीवनमा सफल वैवाहिक जीवनका लागि चाहिने कुरा बुझ्न मोचन पढिनु पर्छ।

साभार: अन्नपूर्ण पोस्ट


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope