बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल


पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो । वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ ।

झण्डै २५ लाख घरधुरीले २० युनिट बिजुली निःशुल्क पाएका छन् । सिँचाइमा प्रयोग हुने बिजुलीको महसुल झण्डै ५० प्रतिशतले घटेको छ । केन्द्रीय प्रसारण लाइनको विस्तारको काम पनि धमाधम अगाडि बढेको छ । मानिसहरू क्रमशः विदेशी ग्यास छाडेर स्वदेशी बिजुली प्रयोग गर्न थालेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्वमा विगतको निरन्तरताकै रूपमा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेतृत्वका रूपमा स्थापित व्यक्तित्व पम्फा भुसाल हुनुहुन्छ । उहाँकै जोडबलमा सरकारले बूढीगण्डकी जलाशयुक्त आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै माथिल्लो अरुण र दूधकोसीजस्ता आयोजना पनि क्रमशः अगाडि बढ्न लागेका छन् । गठबन्धन सरकारमा माओवादीका तर्फबाट सरकारको नेतृत्वसमेत उहाँले नै गर्नुभएको छ । यसै सन्दर्भमा वर्तमान सरकार गठन भएपछि मुलुकको ऊर्जा क्षेत्रमा भएको प्रगति र एक वर्षमा सरकारको तर्फबाट भए÷गरेका काम कारबाहीका बारेमा राष्ट्रिय समाचार समितिका समाचारदाता रमेश लम्सालले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश :

वर्तमान सरकारको एउटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेको हिसाबले एक वर्षभित्र तपाईँले आफूले गरेको कामको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?

मैले यो मन्त्रालय सम्हालेको एक वर्ष भएको छ । यसमा जिम्मेवारी सम्हाल्न आउने भन्ने कुनै चर्चा थिएन । तर यहाँ आउने भन्ने कुरा एक घण्टा पहिलेमात्रै थाहा भएको थियो । मैले सम्हालेको मन्त्रालयमा एउटा ऊर्जा र अर्को सिँचाइ छ । नेपालमा गरिबीको रेखामुनि रहेको १८ प्रतिशत जनसङ्ख्या छ ।

कोभिडले सामान्यरूपमा त्यसमा केही प्रतिशत बढाएको पनि होला । आफूले सम्हालेको मन्त्रालयबाट त्यो जनसङ्ख्याले सुविधा पाउनुपर्छ भन्नेमा मेरो ध्यान थियो । मैले जिम्मेवारी सम्हालेको एक महिनाको बीचमा विद्युत्को क्षेत्रमा अध्ययन गराउँदा २० युनिटसम्म निःशुल्क दिन सकिन्छ भन्ने देखियो । त्यसबाट बत्ती जोडेको आधाभन्दा बढी उपभोक्ताले राहत पाउँछन् भन्ने देखियो । त्यतिबेला अध्यादेशबाट बजेट आएको थियो । प्रतिस्थापन विधेयकको तयारी थियो । त्यसलाई ध्यान नदिइकन मैले मन्त्रालयकै स्रोत तथा साधनबाट नागरिकलाई राहत दिने निर्णय गराए । कूल २० युनिटबाट बत्ती, टिभी हेर्न, मोबाइल चार्ज गर्न सुविधा पुग्छ । त्यो लागू हुन भने मङ्सिरसम्म लाग्यो ।

किनकि विद्युत् नियमन आयोगले निर्णय गर्न केही समय लाग्यो । यस आधारमा हेर्दा यस मन्त्रालयबाट नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सम्बोधन गर्न सकियो भन्ने लाग्छ । घरेलु महसुलमा पनि केही न केही घटाइएको छ । खाना पकाउने एलपी ग्यासको आयात केही मात्रामा भए पनि घटाउनका लागि हामीले स्वदेशी बिजुली प्रयोग गराँै, विदेशी ग्यास छाडौँ भन्ने नाराका साथ अभियान चलायाँै । त्यसको केही न केही प्रभाव परेको छ । पेट्रोलियम पदार्थको आयात घटाउनका लागि पनि हामीले केही प्रयास ग¥यौँ । यसले तत्काल प्रभाव नपरे पनि दीर्घकालमा यसको सकारात्मक प्रभाव पर्छ ।

विद्युतीय चुल्होको प्रयोग बढाउनका लागि ट्रान्सफर्मरको क्षमता वृद्धिलगायतका काम पनि अभियानका रूपमा अगाडि बढाएका छौँ । सय केभी क्षमतासम्मका ट्रान्सफर्मर निःशुल्करूपमा प्रतिस्थापन गर्न सकिने व्यवस्था गरेका छौँ । मैले मन्त्रालय सम्हाल्न आउँदा बिजुली खेर गइरहेको थियो ।

त्यो देख्दा धेरै नै चित्त दुख्यो । प्रयास गर्दा अलिक ढिलै भए पनि भारतले ३९ मेगावाट बिजुली खरिद ग¥यो । हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ भनेजस्तै त्यो पनि नेपालको ऊर्जा निर्यातका लागि महत्वपूर्ण कोशेढुङ्गाका रूपमा स्थापित भयो । व्यापारलगायत विद्युत्को भरपूर उपयोग गर्ने विषयमा पनि महत्वपूर्ण काम भए । पछिल्लोपटक प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहमति भयो । विद्युत् उत्पादन, प्रसारण र वितरणमा त्यसले विशेष हिस्सा राखेको छ ।

कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सिँचाइमा बिजुलीको महसुल छुट दिइएको छ, त्यसबाट के कस्तो प्रभाव परेको छ ?

हो, नेपालमा वार्षिक तीन खर्ब बढीको कृषि उपजको आयात भइरहेको छ । त्यसलाई रोक्नका लागि केही न केही पहल गर्नैपर्छ । त्यसका धेरै कारण छन् । कृषि उत्पादन बढाउने र उत्पादकत्वमा वृद्धि गर्ने कुरा धेरै छन् । आकाशे पानीको भरमा खेती गर्ने ठाउँमा सिँचाइ सुविधा पु¥याउने विषयलाई ध्यान दिइएको छ । कृषियोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराउन सकेको खण्डमा उत्पादन बढाउन सकिन्छ भन्ने ध्येयका साथ मैले महसुल घटाए ।

उत्पादन बढाउने र व्यापारघाटा घटाउनका लागि पनि केही न केही उत्पादन बढाउनै पर्छ । सिँचाइमा राष्ट्रिय गौरवका आयोजनामा केही विलम्ब भएका थिए । त्यसलाई कसरी छिटो गराउन सकिन्छ भन्नेबारेमा विशेष ध्यान दियौँ । लामो प्रयासपछि महाकाली सिँचाइ आयोजनामा पनि पानी आएको छ । यस्तै डिपबोरिङमा पनि हामीले प्रयास ग¥यौँ । झापामा १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्यका साथ योजना सुरु भएको छ । भैरहवा तथा नवलपरासी क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रयास भएको छ । सतह सिँचाइका योजना नपुगेका कैलाली पश्चिममा पनि काम सुरु भएको छ । राष्ट्रिय गौरवका आयोजनाले नभ्याउने अन्य क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराउनका लागि असाध्यै ठूलो मेहेनत गरिएको छ ।

निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गराउन तथा सञ्चालनमा रहेका आयोजनाको मर्मतसम्भारमा पनि उत्तिकै ध्यान दिइएको छ । डिपबोरिङमा पनि त्यस्तै काम भएको छ । कपिलवस्तुमा सिँचाइ पु¥याउनका लागि नौमुरे आयोजनालाई जोड दिइएको छ । अहिलेको लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको छ ।

पहाडी क्षेत्रका टार तथा समथल क्षेत्रमा सिँचाइ सुविधा पु¥याउनका लागि सरकारले महत्वका साथ काम गरिरहेको छ । मध्यपहाड र हिमाली क्षेत्रमा समेत सिँचाइ सुविधा पु¥याउनका लागि हामीले जहाँ खेतीयोग्य जमिन, त्यहाँ सिँचाइ भन्ने नाराका साथ काम गरिरहेका छाँै । कृषि उत्पादनको आयात रोक्ने उद्देश्यका साथ सिँचाइलाई केन्द्रमा राखेर नै काम भइरहेको छ । अरु धेरै विषय यसमा जोडिएका छन् । तर हामीसँग जोडिएको सिँचाइलाई विस्तार गर्ने लक्ष्यका साथ काम भएका छन् ।

एक वर्षमा सम्पन्न भएका कामका आधारमा तपाईँ कति सन्तुष्ट हुनुहुन्छ ?

जे–जति काम एक वर्षको बीचमा अगाडि बढाइयो त्यस आधारमा म सन्तुस्ट नै छु । तर यो भन्दा अझै धेरै काम सकिन्थ्यो भन्ने पनि लाग्छ । अध्यादेशबाट बजेट आएको बेला नै मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको हो । नयाँ ढङ्गले काम गर्न सकिएन । प्रतिस्थापन विधेयक पनि हतार–हतारमै ल्याइयो । हाम्रो लामो प्रशासनिक प्रक्रिया छन्, त्यसको पनि प्रभाव प¥यो नै । हामी पनि राजनीतिक मानिस भएकाले राजनीतिक काममा पनि केही समय दिइयो होला ।

स्थानीय निर्वाचनले पनि केही समय काम प्रभावित भयो । तपाईँले अगाडि सार्नुभएको स्वदेशी बिजुली प्रयोग गरौँ, विदेशी ग्यास छाडौँ भन्ने नारालाई देशले नै आत्मसात् त ग¥यो, तर त्यसको व्यवहारिकरूपमा कार्यान्वयन हुन सकेन भन्ने टिप्पणी भइरहेको छ ? यसलाई तपाईँले कसरी लिनुभएको छ ? यो टिप्पणी आङ्शिकरूपमा सही छ । हामीले हिजो सिएफएल बल्व बालेर लोडसेडिङको अन्त्य गरायौँ । त्यो बेला बिजुली बाल्ने कुरा नै महत्वपूर्ण थियो । अहिलेसम्मको ऊर्जा उज्यालोका लागि, अबको ऊर्जा उज्जवल भविष्यका लागि भनेर हामीले थप नयाँ व्यवहारिक कार्यक्रम अगाडि सारेका छौँ ।

मैले यो कुरा संसद्मा नै राखेको छु । अहिले इन्डक्सन बाल्नुस्भन्दा विद्यमान संरचनाले पुग्दैन । त्यसका लागि ट्रान्सफर्मरको क्षमता वृद्धि गर्नुपर्छ । घरको वाइरिङ पनि त्यस खालको छैन होला । त्यो पूर्वाधारको विकास पनि सँगसँगै लगेका छाँै । कोही कसैले थ्रिफेजको लाइन विस्तार गरिदेओस् भनेर माग गरेको खण्डमा सात दिनभित्र उपलब्ध गराउने व्यवस्था गरेका छौँ । ट्रान्सफर्मरको क्षमता बढाउनु माग आएको खण्डमा पनि हामीले सात दिनमै गर्ने व्यवस्था गरेका छौँ ।

सबै क्षेत्रमा त तत्काल सुविधा पु¥याउन नसकिएला । तर महानगर, उपमहानगर तथा नागरपालिका एवं सहज क्षेत्रमा गुणस्तरको वृद्धि गर्न सकिन्छ । पाँच प्रतिशत स्थानमा त केन्द्रीय प्रणाली नै जोड्न बाँकी छ । दुई वर्षभित्र सबैलाई बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम पनि भइरहेको छ । नब्बे हजार घरधुरीमा वैकल्पिक ऊर्जाको स्रोतमार्फत बिजुली उपलब्ध गराउने योजना पनि अगाडि बढेको छ । ग्रामीण विद्युतीकरणका लागि पनि प्रक्रिया अगाडि बढाइएको छ ।

जहाँ सुविधा पुगेको छ त्यहाँ थप क्षमता पु¥याउने, नपुगेका स्थानमा पु¥याउने लक्ष्य राखिएको छ । काठमाडौँ उपत्यकाको आगामी ५० वर्षमा के–कति बिजुली चाहिन्छ भनेर अध्ययन पनि भएको छ । वितरण, प्रसारण कसरी गर्ने भनेर त्यसको योजना पनि बनेको छ । सातै प्रदेशमा पनि के–कसरी अगाडि बढाउने भनेर काम भएको छ । गुणस्तरीय पूर्वाधार निर्माण गर्ने विषय पनि चुनौतीपूर्ण छ । त्यसको साथसाथै जनताले माग गरेअनुसारको बिजुली उपलब्ध गराउन हामी सक्षम छौँ ।

विद्युतीय सवारीसाधनको प्रयोग बढाउने विषयलाई पनि यहाँले महत्वका साथ सार्वजनिक मञ्चमा धारणा राख्दै आउनुभएको थियो, तर नतिजा भने देखिएको छैन ?

विद्युतीय सवारीसाधनको प्रयोगमा केही वृद्धि त भएको छ । तर अपेक्षितरूपमा भने अगाडि बढेको छैन । विद्युतीय सवारीसाधनको प्रयोगका लागि चार्जिङ स्टेशन निर्माण, क्षमता विस्तारका लागि सुन्दर यातायातलाई भर्खर मात्रै सहजीकरण गरिएको छ । सार्वजनिक यातायातमा प्रयोग हुने बिजुलीको डिमाण्ड शुल्क नलिने भनेर निर्णय गरेका छाँै । हामीले यस क्षेत्रलाई विशेषरूपमा प्रोत्साहन गरेका छौँ । हाम्रोमा नपाउने भन्ने नै छैन । अहिले श्रीलङ्काले लिन्छु भनेर पनि पाएको छैन ।

जलाशयुक्त आयोजनाका सन्दर्भमा पनि यहाँले महत्वका साथ धारणा सार्वजनिक गर्नुभएको थियो, त्यसमा चाहिँ तपाईँले के गर्नुभयो ?

जलाशययुक्त आयोजनाका बारेमा धेरै कुरा भएको तर, काम भने हुनसकेको थिएन । केही तयारीमा पनि छन् । त्यसमध्ये केही आयोजना अगाडि बढेका छन् । हिउँदमा कम हुने, वर्षामा बढी हुने अवास्थाको अन्त्यका लागि पनि र सन्तुलन मिलाउन पनि जलाशययुक्त आयोजना आवश्यक पर्छ । भरपर्दो नै त्यही हुन्छ ।

हामीसँग मात्रै नदी प्रवाही आयोजना छन् । अर्धजलाशयुक्त आयोजनामा निजी क्षेत्रले पनि चासो देखाएको छ । हाम्रो जोड भनेकै अर्धजलाशयुक्त र जलाशययुक्त आयोजना हो । निजी क्षेत्र पनि क्रमशः अर्धजलाशयुक्त आयोजनामा आकर्षित भएका छन् । एक हजार ५०० मेगावाटदेखि दुई हजार मेगावाट क्षमता बराबरका आयोजना निजी क्षेत्रले अगाडि बढाउने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाएका छन् । हामी माथिल्लो अरुणको वित्तीय व्यवस्थापन गर्न लागिपरेका छौँ । यो अन्तिम चरणमा छ ।

सुरुङसहितको बाटो बनाउनुपर्ने छ । परामर्शदाताको छनोट तथा अन्य काम पनि सँगसँगै अगाडि बढेका छन् । दूधकोसीको जग्गा अधिग्रहणको काम अगाडि बढेको छ । सो आयोजना हामी छिटो बनाउँदैछाँै । नलगाडको विस्तृत परियोजना प्रतिवेदन बनाउने कामलाई पनि म आएदेखि नै जोड दिएको छु । तर अन्तिम नतिजा भने आएको छैन । यो देशमा भनेको समयमा काम नहुने प्रवृत्ति छ । हाम्रा निर्माण व्यवसायी, परामर्शदाताका पनि कारण छ । उनीहरूका कारण पनि आयोजनाको समय र लागत दुवै बढेको छ । हामीले सोचेको र सस्तो मूल्यमा काम नहुने अवस्था छ ।

सहरी क्षेत्रका नागरिकलाई विद्युतीय चुल्हो प्रयोग गर भन्दै गर्दा संरचनागत सुधारका लागि ठोसरूपमा के काम भए ?

हामीले ट्रान्सफर्मरको क्षमता वृद्धिको काम अभियानका रूपमा अगाडि बढाएका छौँ । सय केभीएसम्मको ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणले निःशुल्करूपमा बदलिदिन्छ । मागेअनुसारको बिजुली उपलब्ध गराउँछौँ । थ्रीफेज लाइन सात दिनमा नै दिने व्यवस्था गरिएको छ । आधारभूत संरचना छ । त्यसमा सुधार गरिएकै छ । माग भएको ठाउँमा थप गर्दै जान्छौँ । भइरहेका संरचनाको गुणस्तर वृद्धिका लागि एकाध दिनमा नै काम गर्न सकिन्छ । पिकआवरमा समस्या हुनसक्छ । त्यसमा पनि व्यवस्थापन गरिएको छ । नियमावलीमा नै परिवर्तन गरिएको छ ।

विशेषरूपमा काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा कोठा भाडामा बस्नेले बढी शुल्क तिर्नु परेको भन्ने गुनासो व्यापकरूपमा उठ्ने गरेको छ, यसलाई सम्बोधन गर्ने केही प्रयास गर्नुभयो ?

हो, यस खालको गुनासो आउने गरेको छ । मेरो सामाजिक सञ्जालमा पनि यस्ता गुनासा आउने गरेका छन् । हामीले के व्यवस्था गरेका छौँ भने घरधनीको सहमतिमा भाडामा बस्नेले पनि मिटर राख्न पाउने व्यवस्था गरेका छौँ । डेरामा बस्नेले बढी तिर्नु पर्दैन । हाम्रो अधिकतम मूल्य प्रतियुनिट ११ मात्रै छ । त्यो भन्दा बढी तिर्नु पर्दैन । बढी लिन पाइँदैन । बढी महसुल लिएको भए उजुरी गर्नुपर्छ । त्यो पनि एक प्रकारको ठगी नै हो । ठगी गर्न कानुनले नै बर्जित गरेको छ । सबैले मिटर राख्नुपर्छ ।

सहरी क्षेत्रमा नै विद्युतीय सामग्रीको प्रयोग गर्नका लागि घरमा नै फ्यूजको क्षमता वृद्धि, वाइरिङ सिस्टममा परिवर्तन गर्नुपर्नेलगायतका धेरै काम गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि सरकारको केही दायित्व हुन्छ होला नि ? आमरूपमा यस खालको जिज्ञासा उठ्ने गरेको छ । तपाईँ के भन्नुहुन्छ ?

घरधनीले मैले अब यति क्षमताको बिजुली प्रयोग गर्छु भनेर प्राधिकरणका सम्बन्धित शाखामा गएर आवेदन दिनुपर्छ । तपाईँको घरमा यसरी जोड्नुस् भनेर जान के–कति सम्भव होला ? म अब इन्डक्सन बाल्छु, मेरो घरमा क्षमता बढाइदिनुस् भनेर माग गरेको खण्डमा तत्कालै त्यो भइहाल्छ ।

सहरमा मानिसका तला–तला भान्छा हुन्छ ? मैले कतिको राख्नुपर्ला भनेर सोध्नु पनि प¥यो । उपभोक्ता पनि आफैँ जागरुक हुनुपर्छ । खाना पकाउनका लागि ग्यासभन्दा बिजुली आधा सस्तो छ । हिजोसम्म ग्यास छ, चलेको छ भन्ने छ । हरेकपटक ग्यासको मूल्यवृद्धि भइरहेको छ । बिजुलीको मूल्य त क्रमशः घटिरहेको छ । संरचना तयार छ । सहरी तथा सहरोन्मुख क्षेत्रमा हामी मागअनुसारकै बिजुली दिन सक्ने अवस्थामा पुगेका छौँ । केही काममा भने उपभोक्ता पनि आफँै जागरुक हुनुपर्छ । त्यसको हिसाब किताब गर्नुपर्छ ।

भनेपछि संरचनाका कारण कोही कसैले पनि माग गर्दा पाएन भन्ने अवस्था छैन, भन्ने हो तपाईँको भनाइ ?

हो, भौतिक संरचनाको स्तरोन्नति क्रमशः भइरहेको छ । उपभोक्ता आफैँले पनि यसमा चासो राख्नुपर्छ । प्राधिकरणका तर्फबाट भने क्रमशः काम भइरहेको छ । माग गरेको सात दिनभित्रै काम हुन्छ ।

सबै तयारी भइसकेको एकदमै कम क्षमताको बुढीगङ्गा जलविद्युत् आयोजनासमेत अगाडि बढ्न नसकेको अवस्थामा मेगा परियोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने निर्णय गर्नुभएको छ, हाल उपलब्ध साधन र स्रोतले सो आयोजना निर्माणमा जान सक्छ

ऊर्जाको हिसाबले लोड सेन्टर नजिक रहेको बूढीगण्डकी आयोजना निर्माणका लागि हामीले कम्पनी स्थापना गर्ने निर्णय गरेका छौँ । केही दिनभित्रै कम्पनी दर्ता हुँदैछ । यो आयोजना एकदमै जरुरी छ । हामीले उपभोक्तालाई बिजुली खपत बढाउनुस् भनेका छौँ । २४सै घण्टा सहजरूपमा बिजुली उपलब्ध गराउनका लागि पनि जलाशयुक्त आयोजना आवश्यक पर्दछ । सो आयोजना बनाउन ढिलो भएको छ । अब ढिला गर्नु हुँदैन भनेर प्रक्रिया सुरु गरिएको छ । प्रक्रियामा रहेका अरु आयोजना पनि निर्माण सुरु हुन्छन् । मैले त हरेक प्रदेशमा एक जलाशयुक्त आयोजना भनेको छु ।

त्यसमध्ये पनि अब बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढ्छ । पहिला त्यो आयोजनाको अनुमतिपत्रको झमेला थियो । केहीले त तपाईँले सक्नुहुन्छ र भनेका थिए । चुनौती दिएका थिए । मलाई के लाग्यो भन्यो, मेरो देश पहिला हो । त्यसपछि मात्रै अरु हो । जोसँग आयोजना थियो, ऊ सँग स्रोत पनि थिएन । इपिसीएफको कानून पनि छैन हामीसँग । एक वर्ष ढिला हुनु भनेको पनि ठूलो मात्रामा बिजुली खेर जानु हो भन्ने ठानेर प्रक्रिया अगाडि बढाइएको छ ।

म लगातार यसमा लागँे । मन्त्रिपरिषद्मा लगेर निर्णय भएको छ । अन्तरमन्त्रालयको सहमतिलगायतका अन्य कारणले गर्दा पनि केही समय ढिला त भयो । तर अब भने सो आयोजनाले गति लिने चरणमा पुगेको छ । त्यसको सबै प्रक्रिया अगाडि बढाइएको छ । केही सामान्य प्राविधिक समस्याका कारणले कम्पनी दर्ता हुनसकेको छैन । केही दिनभित्रै कम्पनी दर्ता हुन्छ । कम्पनी दर्ता भएपछि परामर्शदाता छनोटको काम पनि सुरु भइहाल्छ, जनशक्तिको व्यवस्थापन हुन्छ । त्यसपछि आयोजनाको बोलपत्रको काम सुरु हुन्छ । नेपाल सरकारले नै निर्माण गर्ने भनेर नीति कार्यक्रम र बजेटमा समावेश गरिएको छ ।

अरु साना आयोजना बनाउँदा त हामीले विदेशी ऋण लिएका छौँ । यो आयोजनाका लागि पनि केही ऋण लिने प्रक्रिया पनि अगाडि बढाइन्छ । सरकारको नीतिअनुसार नै आयोजनाका लागि नै भनेर ऋण लिइन्छ । आयोजना निर्माण अवधि नै छदेखि आठ वर्ष लाग्छ । एकैपटक धेरै पैसा चाहिँदैन । आवधिक हिसाबले नेपाल सरकारले उपलब्ध गराउने बजेट, केही ऋण तथा अनुदान गरेर पनि आयोजना अगाडि जान्छ । स्थानीयवासी पनि लगानी गर्न इच्छुक हुनुहुन्छ । आयोजना आफैँमा बहुउद्देश्यीय हो । आयोजनास्थल पर्यटकीय गन्तव्य बन्छ, कृषि र सिँचाइमा पनि योगदान दिन्छ । नेपालको अर्थतन्त्रमा पनि एउटा गेमचेञ्जर परियोजनाजस्तो बन्न जान्छ । अब बूढीगण्डकी आयोजना अगाडि बढ्यो । अब रोकिँदैन ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope