‘पानी सफा होइन शुद्ध पिउनुपर्छ’


कैलालीकी रुपा देवकोटाको परिवारले पिउनका लागि अझै हाते पम्प (नल्का)को पानी प्रयोग गर्दै आइरहेका छन् । हिउँद होस् या बर्सात सधैँजसो नल्काको पानी पिउने गरेको उहाँको परिवारलाई पानी सफा आएका शुद्ध नै होला भन्ने लाग्छ । “

हेर्दा सफा लाग्छ, त्यही भएर नल्काको पानी पिउने गरेका छौँ”, उहाँले भन्नुभयो, “धेरै वर्षदेखि नल्काकै पानी पिउँछौँ, कसैलाई केही समस्या भएको छैन । बर्सातमा वर्षा बढी भएर वरिपरि पानी जम्दा भने अलि धमिलो आउँछ । धमिलो आए पनि त्यही पिउँछौँ ।” भजनी नगरपालिका–५ पुलियापुर बाढी प्रभावित क्षेत्र हो । त्यहाँका बासिन्दा असार लाग्ने वित्तिकै हुलाकी सडक किनारामा पाल टाँगेर बस्ने गर्छन् । बर्सेनि असार लाग्दा सडकमा आउने र असोजको मध्यतिर फेरि बिग्रेको घर मर्मत गरी घर फर्कन्छन् । त्यहाँका १५ परिवारको बर्सातभरि सडकमै बास हुन्छ ।

नागरिकलाई शुद्ध पिउने पानी पिउन अपरिहार्य भए पनि उनीहरु पनि नल्काको पानी पिउने गरेका छन् । प्रभावित क्षेत्रकी रमा विकले सडकमा बस्दा शुद्ध पानी पिउन सम्भव नभएको बताउनुभयो । “हुलाकी सडकमा बास छ, कसरी शुद्ध पानी पाउनु ?”, उहाँले भन्नुभयो, “हामी त घाम, पानी, लामखुट्टेको टोकाइ सबै सहन सक्ने भएका छौँ । बर्सातमा सर्प, किराको डर त्यतिकै छ ।” उहाँ बिरामी हुँदामात्र उमालेको पानी पिउने गरेको बताउनुहुन्छ । “सडककै किनारमा दाउरा बटुलेर आगो बालेर खाना पकाउँछौँ, यहाँ दाउरा, अन्नकै समस्या छ”, उहाँले भन्नुभयो, “यस्तो बेला पानी शुद्ध पिउनुपर्छ भन्नेबारेमा ध्यान दिएर मात्रै पुग्दैन । हामी त भोक, प्यास मेटिए पनि रमाउँछौँ ।”

टीकापुरकी सीता अधिकारीको परिवारले भने फिल्टरको पानी पिउने गरेका छन् । नल्काको पानी फिल्टरमा राख्ने, फिल्टर भएको शुद्ध पानीलाई बाल्टिङमा जम्मा गरी छोपेर राख्ने र आवश्यक परेका बेला त्यही पानी पिउने गरेको उहाँ बताउनुहुन्छ । “घरमा फिल्टर जडान गरेका छौँ, त्यही पानी पिउने गरेका छौँ”, अधिकारीले भन्नुभयो, “पानीबाट धेरै रोग लाग्ने जोखिम हुने भएकाले हामी सचेत छौँ ।” त्यस्तै कैलालीकै मीना जिसीका घरमा भने खानेपानीको धारा जडान गरिएको छ । अन्य कामका लागि धाराको पानी प्रयोग गरे पनि पिउनका लागि जारको पानी नै प्रयोग गर्दै आइरहेको उहाँ बताउनुहुन्छ ।

“धाराको पानी खानयोग्य भनिएको छ तर कहिलेकाहीँ धमिलो, लेदो आउने भएकाले हामीले प्रशोधित पानी किनेर पिउने गरेका छौँ”, उहाँले भन्नुभयो । त्यस्तै, लक्ष्मीनारायण पोख्रेलको परिवारले भने पानीलाई इलेक्टोनिक जगमा तताएर प्रयोग गर्दै आइरहनुभएको छ ।

सानो परिवार भएकाले जति बेला चाहे पनि सजिलै तताएर खान मिल्ने र सुरक्षित हुने भएकाले पनि इलेक्टिक जगको प्रयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । “मेरो घरमा एक वर्षको सानो बच्चा छ । हामी सबै परिवार वर्षभरि नै उमालेको पानी पिउँछौँ”, उहाँले भन्नुभयो, “आजभोलि उमालेको पानी अर्को भाडामा जम्मा गरेर चिसो बनाएर पिउँछौँ । जाडो सिजनमा भने तातो पानी नै पिउने गरेका छौँ ।” पानीका कारण अधिकांश रोग लाग्ने गर्दछन् ।

शुद्ध पानीले धेरै रोग लाग्नबाट जोगिने भएकाले शुद्ध पिउने पानी नै प्रयोग गर्न टीकापुर अस्पतालका डाक्टर संवाद खरेलको आग्रह छ । “पानी शुद्धीकरण गर्ने विभिन्न विधिमध्ये जुन विधि अपनाएर भए पनि शुद्ध पिउने पानी नै प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “स्वस्थ जीवनका लागि शुद्ध पानी अपरिहार्य हो । पानी मात्रै पनि शुद्ध पिउने हो भने धेरैजसो रोगबाट बच्न सकिन्छ ।” डाक्टर खरेल आजभोलि जताततै बर्सातको मौसममा पानीका मुहान दूषित हुने भएकाले पानी फिल्टर गरेर होस् यो उमालेर प्रयोग गरे पनि धेरै रोगबाट बच्न सकिने बताउनुहुन्छ । “मानिसको स्वास्थ्यका लागि शुद्ध पानी आवश्यक हुन्छ । मानिसलाई धेरै रोग फोहोर पानी पिउँदा लाग्ने गरेका हुन्छन् । पानी सफा देखिए पनि पानीमा नदेखिने किटाणु अथवा फोहोर हुनसक्छ”, उहाँले भन्नुभयो, “पानी सफामात्र भएर पुग्दैन, शुद्ध पानी पिउने कुरामा मानिस सचेत हुनुपर्छ ।” –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope