दाङमा आए १८ डायलायसिस मेसिन

दाङका लागि १८ ‘डायलायसिस मेसिन’ आएका छन् । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन पठाएको हो ।
यसअघि प्रतिष्ठानमा पाँच डायलायसिस मेसिनमात्रै थिए भने प्रादेशिक अस्पतालमा पनि पाँचवटा मात्रै थिए । सीमित मेसिन हुँदा मिर्गौलाका बिरामीले सास्ती खेप्नुपरेको थियो ।
लामो समय कुनुपर्ने तथा बाहिर सिफारिस गर्नुपर्ने अवस्था थियो । अब भने त्यो समस्या अन्त्य हुने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले बताउनुभयो । “यसअघि २३ जनामात्रै बिरामीलाई सेवा दिन सकिएको थियो”, उहाँले भन्नुभयो, “अब भने ६० जनासम्म बिरामीलाई सेवा दिन सकिन्छ ।”
प्रतिष्ठानबाट पनि अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका सबै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान दाजु भट्टराईले बताउनुभयो । उहाँका अनुसार अहिले दुई सिफ्टमा मात्रै सेवा दिने गरिएको भए पनि अब भने चौबीसै घण्टा सेवा दिन सकिन्छ । आएका डायलायसिस मेसिन सञ्चालनमा आउन करिब तीन महिना लाग्ने मेडिकल सुपरिटेण्डेन्ट डा सिंहले बताउनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस