स्वदेशमा नै श्रम गर्न जनचेतना जगाउनुपर्ने : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले स्वेदशमा नै रोजगारीको वातावरण बनाउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज वैदेशिक रोजगार र श्रमसम्बन्धी रहेका समस्याका सम्बन्धमा गरेको बैठकमा उहाँले स्वदेशमा नै श्रमिकलाई श्रम गर्न जनचेतना जगाउनुपर्ने बताउनुभयो ।
नेपालमा नै बाहिर मुलुक भारतबाट आएर श्रम गरिरहेको भन्दै उहाँले नेपालकै श्रमिक रोजगारका लागि विदेशमा गएर काम गर्नुपरेको उल्लेख गर्नुभयो । “नेपालमा नै श्रम बजार छ भनेर यहाँका श्रमिकलाई जनचेतना जगाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “नेपालमा नै विदेशमा गरे जतिकै श्रम पाइन्छ भन्ने कुराको जनचेतना गराउनु पर्दछ ।”
उहाँले भारतलगायत देशबाट आएका कामदारले नेपालका विभिन्न उद्योग, कलकारखानामा काम गरिरहेको बताउनुभयो । उहाँले दक्ष सीप भएका जनशक्तिलाई मात्र वैदेशिक रोजगारमा पठाउनुपर्ने बताउनुभयो । समितिका सभापति विमलश्री वास्तवले यहाँका श्रमिकलाई विदेश नपठाइ स्वदेशमा नै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । “हामीले रोजगारका लागि बाहिर मुलुकमा श्रमिक पठाउने गर्दछौँ, तर हाम्रै मुलुकमा भारतबाट आएका श्रमिकले काम गरेर राम्रै आर्थिक उपार्जन गरिरहेका छन”, उहाँले भन्नुभयो, “मुलुकमा नै आन्तरिक श्रमिक व्यवस्थापन गर्नुपर्दछ ।”
उहाँले आफूले एक स्टिल उद्योगमा अनुगमनका क्रममा जाँदा एक हजार दुई सय श्रमिकमध्ये आठ सय भारतीय श्रमिक पाएको जनाउँदै नेपालमा रहेका श्रमिकलाई विदेशमा पठाउनुभन्दा स्वदेशकै उद्योग, कलकारखानाका काममा लगाउनुपर्ने बताउनुभयो । श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले स्वदेशमा नै श्रमबजारको व्यवस्थापन गरिरहेको बताउनुभयो ।
उहाँले आन्तरिक रोजगार गर्नका लागि आन्तरिक रोजगार प्रवद्र्धन गर्न मन्त्रालयले काम गरिरहेको बताउनुभयो । अहिले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत एक लाख ४५ हजार एक सय १३ जनालाई स्वरोजगार बनाइएको उहाँको भनाइ थियो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस