बिरुडा पञ्चमी मनाइँदै


दार्चुला, १६ भदौ (रासस)ः

सुदूरपश्चिमेली महिलाको महान् पर्व गौरापर्व आजदेखि आरम्भ भएको छ । सुदूरपश्चिममा हिन्दू नारीले हरेक वर्ष गौरापर्वलाई महत्वपूर्ण पर्वका रूपमा मनाउने गर्दछन् ।

हरेक वर्ष भाद्र कृष्ण पञ्चमी तथा भाद्र शुक्ल पञ्चमीदेखि सो पर्व औपचारिकरूपमा सुरुआत हुने गर्दछ । भाद्र कृष्ण पक्षमा हुने गौरालाई अनारी गौरा र भाद्र शुक्ल पक्षमा मनाइने गौरालाई उजेली गौरा भन्ने गरिन्छ । भगवान् शिवकी धर्मपत्नी पार्वतीको स्वरुप गौरालाई पुज्ने चलन छ ।

विवाहित महिलाले आज पञ्चमीका दिन व्रत बसी गौरापर्वको दिन धुबीधागो लाउने गर्दछन् । व्रतबाट सुस्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । आजका दिन अर्थात् बिरुडा पञ्चमीका दिन विवाहिता महिला व्रत बसी बिरुडा (पाँच प्रकारका गेडागुडीहरु) तामाको भाडामा भिजाउने चलन छ ।

गौरापर्वको पहिलो दिन अर्थात् बिरुडा पञ्चमीका दिन भिजाइने पाँच प्रकारका गेडागुडीलाई बिरुडा भनिन्छ । बिरुडा पञ्चमीका दिन गुराँस, गहत, गहुँ, केराउ र मास गरी पाँच प्रकारका गेडागुडी भिजाउने चलन रहिआएको छ । षष्ठी तिथिका दिन पञ्चमीको दिन भिजाएको बिरुडा धुने चलन छ, सप्तमी तिथिका दिन गौरा देवीको प्रतिमा बनाएर महिलाले यो पर्वलाई हर्षोल्लासका साथ मनाउने चलन छ । कृष्ण जन्माष्टमीका दिन गौरा मनाइने घर अर्थात् थलोमा महिलाले गौराको गीत गाउँदै सुदूरपश्चिमेलीहरूको भाका डेउडा खेल धुमधामका साथ खेल्ने गरिन्छ । देशकै राष्ट्रिय धाम श्री शैल्य मालिकार्जुनको भूमिमा पनि विभिन्न गाउँ गर्खाबाट गौरा मनाउनेहरुको घुइँचो लाग्ने गर्दछ ।

भाद्र अष्टमीका दिनसम्म गौरा मनाएर त्यसको भोलिपल्ट साइतअनुसार फरक–फरक दिन गौरा विसर्जन गर्ने गरिएको मालिकार्जुन मन्दिरका मुखिया धिर्कसिंह धामीले बताउनुभयो । गौरापर्वमा वर्षभरिमा गरिने आज पञ्च दलहन (बिरुडा) भिजाउँदै विधिवत रुपमा सुदूरपश्चिमेली महिलाहरुको महान् पर्व आरम्भ हुने मान्यता छ । यस वर्षको गौरापर्व यही भदौ १८ गते मनाइँदैछ । पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास रहँदै आएको छ । आज बिरुडा पञ्चमीका दिन पाँच प्रकारका अन्न भिजाएर भोलि शुक्ल षष्ठीका दिन व्रत उपासेका महिलाले धारोमा लगेर सामूहिकरूपमा पञ्च बिरुडा धुने गर्दछन् ।

भदौ १८ गते दुर्गा अष्टमीका दिन भिजाएर धोएको बिरुडा गौरा हुने स्थान मन्दिरमा चढाएर आफ्ना आफन्तबाट पञ्च बिरुडाले शिरदेखि पाउसम्म पुज्ने चलन छ । गौराको दिन पञ्च बिरुडाका साथै विभिन्न किसिमका फलफूल मन्दिरमा चढाएर आफन्त इष्टमित्रलाई बाँड्ने चलन छ । पञ्चमीका दिन भिजाएका बिरुडा केही मात्रामा गौराका दिन मन्दिरमा चढाएपश्चात घरमा रहेको बाँकी बिरुडालाई पकाएर बाँडीचुडी खाने गर्दछन् । बिरुडा पञ्चमीलाई सुदूरपश्चिम अर्थात् दार्चुलामा पनि हर्षोउल्लासका साथ मनाउने गरेका छन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope