अलैँची विकास केन्द्रमै अकबरे खुर्सानीको बीउ उत्पादन


–टीका खतिवडा

मङ्गलबारे, १७ भदौ (रासस): अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो ।

इलाममा व्यावसायिक खेती हुने अकबरे खुर्सानीको बिरुवा माग बढेपछि बिरुवा उत्पादन सुरु गरिएको कार्यालयका सूचना अधिकारी दिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हाल डेढ रोपनी जमिनमा बिरुवा उत्पादन गरिँदै आएको छ । नेपालको इलामसहित पूर्वी भागमा व्यावसायिक खेती हुँदै आएको अकबरे खुर्सानी बिरुवाको माग अत्यधिक छ । माग बढेपछि केन्द्रले अलैँचीसहित खुर्सानीको पनि बीउ उत्पादन सुरु गरेको श्रेष्ठ बताउनुहुन्छ । केही समयअघि पूर्वी नेपालमा बढी उत्पादन हुने अकबरे हाल पश्चिमका जिल्लामा समेत उत्पादन हुन थालेको छ ।

किसानले गर्ने गरे पनि पहिलोपटक सरकारी निकायले पनि बीउ उत्पादन थालेको हो । व्यावसायिक खेतीका लागि अकबरे खुर्सानीको बिरुवा र बीउको माग धेरै भएकाले अलैँची विकास केन्द्रले उत्पादन गर्न थालेको जनाइएको छ । सूर्याेदय नगरपालिकामा स्थापना भएको अलैँची विकास केन्द्रले यसअघि अलैँचीका बिरुवामात्रै उत्पादन गर्दै आएको थियो । अलैँचीका बिरुवाको खरिद गर्ने स्थानीय तह र किसानले खुर्सानीको बीउसँगै बिरुवाको समेत माग गर्न थालेपछि केन्द्रको फार्ममा अहिले बीउ उत्पादन गर्न अकबरे खुर्सानी रोपण हुँदै आएको छ । यस वर्ष केन्द्रमा धनकुटाबाट दिउल ल्याएर उत्पादन सुरु गरिएको श्रेष्ठले बताउनुभयो ।

धनकुटाको खुर्सानी बढी पिरो हुने र ठाउँ परिवर्तन गरेर रोप्दा बढी फल्ने भएकाले पनि यसको उत्पादन गर्न लागिएको हो । हाल जिल्लाका स्थानीय तहसहित दोलखा, पाल्पा, रसुवा, रामेछापलगायत जिल्लाबाट खुर्सानीका बीउ र बिरुवाको माग आएको छ । पूर्वी नेपालमा व्यावसायिक खेती हुँदै आएको अकबरेको बिरुवा र बीउ मागअनुसार पूरा नभएकाले उत्पादन गर्न थालेको केन्द्रले जनाएको छ । खुर्सानी खानाका परिकारमा स्वादका लागि लिइने गरिन्छ ।

नेपालमा उत्पादन हुने चाउचाउमा समेत यसको माग बढेको छ । बाहिरी जिल्लामा मात्र होइन, नेपाल बाहिरसमेत यसको माग उत्तिकै छ । अन्तर्राष्ट्रिय बजारमा माग रहेकाले अकबरेको पूर्वी नेपालमा व्यावसायिकरुपमा खेती हँुदै आएको छ । पाकेको अकबरे नेपाली बजारमा प्रतिकिलो रु दुई सयदेखि रु तीन सयमा बिक्री हुँदै आएको छ ।

खुर्सानी नेपालमा भ्रमणमा आउने पर्यटक तथा नेपालबाट विदेश जानेले आफन्तका लागि लैजाने गरेका छन् । भारतको सिलीगुढी, दार्जिलिङ र पश्चिम बङ्गालका अन्य बजारमा यहाँको अकबरे बढी मात्रामा निर्यात हुन्छ । केन्द्रले बिरुवाभन्दा पनि बीउ अर्थात् दिउल नै उत्पादन गर्न थालेको सूचना अधिकारी श्रेष्ठ बताउनुहुन्छ ।

निजी क्षेत्रबाट अकबरेको बीउ दिउल प्रतिकिलो रु ३० हजारमा बिक्री भएको उहाँले बताउनुभयो । केन्द्रले प्रतिकिलो करिब रु २० हजारमा सुक्खा खुर्सानीको दिउल खरिद बिक्री गर्न सक्ने जनाएको छ । सिजनमा खुर्सानी हरियो वा पाकेको भए पनि रातो नै बढी स्वादिष्ट हुने गरेको छ । बिना सिजनमा बफ्याएर समेत राख्न सकिन्छ । खुर्सानीलाई नुनमा समेत राख्न सकिन्छ । नुनमा राखेको खुर्सानी करिब दुई वर्षसम्म ताजाजस्तै हुने गरेको छ । बढीजसो चिसोमा खुर्सानी बढी खाने गरिन्छ । –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope