दसैँका लागि हवाई टिकट बुकिङ धमाधम


काठमाडौँ, १९ भदौ (रासस) : दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैँमा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ ।

उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन् । दसैँमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ । दसैँ आउन करिब तीन साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले दसैँका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिनुभयो ।

उहाँले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताउनुभयो । “दसैँका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान सङ्ख्या थप्ने योजनामा छौँ ‘ट्रक रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ ।” प्रवक्ता शर्माले दसैँ लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज प्रयाप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिनुभयो । सामान्यतया दसैँ आउन एक महिनाअघि देखि नै हवाई टिकट खुलाइन्छ ।

अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् । उनीहरुका अनुसार दसैँलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । सङ्घका प्रवक्ता कँडेल अनलाईनबाटै अधिकांश बुकिङ भएको बताउनुहुन्छ ।

आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक दुई सय ६० दुईतर्फी उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेका छन् ।

दसैँमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने उहाँको अनुमान छ । “कोभिड–१९ महामारीमा उडानको चाप थियो, यस पटकको दसैँमा झनै यात्रुको चाप हुने देखिन्छ, यात्रुको मागअनुसार उडान थप्छौँ”, प्रवक्ता सिटौलाले भन्नुभयो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैँका लागि अहिले धमाधम बुकिङ भइरहेको र समग्रमा ७० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अहिलेसम्म ६० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला जस्तो दसैँलाई मात्र भनेर बुकिङ खुलाउने गरिएको छैन, टिकट अनलाइनमा सहजै पाइने भएकाले बुकिङ करिब फुल भइसकेको छ । यात्रुको मागअनुसार उडान सङ्ख्या थप्न गर्न सकिन्छ ।” तुलनात्मक रुपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो यातायात भएकाले हवाई यात्राप्रतियात्रुको आकर्षण बढ्दो छ ।

कमाइका हिसाबले पनि यो मौसम उपयुक्त मानिन्छ । त्यसैले केही महँगो भए पनि हवाई यात्राका लागि अधिकांश यात्रु लालाहित हुन्छन् । नजिकिएको दसैँलाई मध्यनजर गर्दै अहिले हवाई सेवा प्रदायक कम्पनीले धमाधम अग्रिम टीकट बुकिङ गरिरहेका छन् । केही गन्तव्यमा त दसैँ आउन एक महिनाअघिनै टिकट ‘प्याक’ भइसकेको छ ।

दसैँमा राजधानी काठमाडौँ छाडेर गाउँघर पुग्ने यात्रुको चहलपहल बढी हुन्छ । टिकाको भोलिपल्टदेखि राजधानी फर्किने यात्रुको चाप बढ्छ । वायुसेवा कम्पनीका अनुसार अहिले दसैँको अन्तिम दिनलाई लक्षित गरी उच्च दरमा टिकट लिने क्रम बढेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope