पर्यटक कुर्दै चितवनको गोलाघाट


भरतपुर, २८ भदौ (रासस):

पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ । भरतपुर महानगरपालिका– २८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ ।

कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय र चितवन जोड्ने सडकका कारण आन्तरिक पर्यटक पनि आउन सकेनन् ।

गोलाघाटसँगै जोडिएको राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा अहिले आन्तरिक पर्यटकको सङ्ख्या घटेको छ । वनअन्तर्गतको टिकट काउन्टरमा काम गर्दै आउनुभएकी रुपामाया कुमालले घुम्न आउनेको सङ्ख्या निकै कम भएको जानकारी दिनुभयो । “दिनमा दुईदेखि तीन सयको हाराहारीमा आन्तरिक तथा बाहिरी पर्यटकले जीप सफारीमार्फत सामुदायिक वन घुम्थे ।

अहिले दैनिक ५० देखि ६० जनामात्रै हुन्छन् । कहिलेकाहीँ यही पनि हँुदैनन्”, उहाँले भन्नुभयो । कुमालले वन क्षेत्र घुम्न आउने पर्यटकका लागि प्रतिव्यक्ति रु २० टिकट शुल्क लिने गरेको बताउनुभयो । पर्यटकीय क्षेत्रका रूपमा बामे सर्दै गर्दा कोरोनापछि यो क्षेत्र थलापरेको व्यवसायीहरू बताउँछन् । यस क्षेत्रलाई पुनः पहिलाकै अवस्थामा पु¥याउन अझै धेरै कसरत गर्नुपर्ने होटल व्यवसायी सतिश कुमाल बताउनुहुन्छ ।

अहिलेसम्म अफसिजन भएकाले पनि पर्यटकको सङ्ख्या घटेको उहाँको भनाइ छ । सुनसान देखिएको गोलाघाट चाडपर्व नजिकिएसँगै भरिभराउ हुने उहाँले आशा व्यक्त गर्नुभयो । भरतपुर –२६ ज्योतिनगरबाट गोलाघाट घुम्न आउनुभएकी सुनिता चौधरीले पर्यटक आकर्षण गर्नका लागि सेवासुविधामा जोड दिनुपर्ने बताउनुभयो ।

घुम्न, आनन्द लिन, एक्लै समय बिताउन, लेखक र अनुसन्धानका लागि उपयुक्त ठाउँ भए पनि यहाँ आन्तरिक पर्यटकले खोजेजस्तो सेवा–सुविधा कम भएको उहाँको भनाइ थियो ।

गोलाघाटमा विषेश गरेर वाइल्ड लाइफ (वन्यजन्तु) हेर्नका लागि पर्यटक आउने गर्छन् । निकुञ्जको जङ्गल र दुई नदीको सङ्गम भएको अत्यन्त सुन्दर र रमणीय गोलाघाटमा नारायणी नदी र राप्तीखोला मिसिएर अगाडि बढ्छन् र यहाँ गोलाघाटमा सूर्यास्तको दृश्य नियाल्न स्थानीय तथा पर्यटक आउने गर्दछन् । फराकिलो भएर बगेको नदी र परपरसम्म कुनै मानवीय बस्ती एवं भौतिक संरचना नभएका कारण यहाँबाट सूर्यास्तको शानदार दृश्य देखिन्छ ।

पश्चिम चितवनको अन्तिम बिन्दु रहेको हुनाले गोलाघाटभन्दा तल चितवनको कुनै बस्ती छैन । सूर्यास्तसँगै बाघ, एकसिङ्गे गैँडा, मृग, चित्तल, गोही पनि यहाँको आकर्षणको केन्द्रबिन्दु रहेको मेघौली सिराइ ताज सफारीका गाइड बुद्धि चौधरीले बताउनुभयो । उहाँका अनुसार गैँडालगायत जङ्गली जनावर किनारमा चर्दै गरेको र पानी खान आएको देख्न पाइन्छ । उहाँले पर्यटकको सङ्ख्या थोरै भए पनि सन्तुष्ट भएर फर्किएको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेसँगै सहजरुपमा हेर्न पाउँदा पर्यटक सन्तुष्ट भएको उहाँको भनाइ थियो । यसले अबका दिनमा पर्यटक आगमनमा सहयोग पुग्ने चौधरीको विश्वास छ । अहिले होटल तथा रिसोर्टमा बस्ने पर्यटक अधिकांश देशभित्रकै रहेको उहाँले बताउनुभयो । पछिल्लो समय युक्रेन, क्यानडा, युएस र फिलिपिन्सका पर्यटक पनि परिवारसहित आइरहेको जनाइएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope