पोल्ट्रीजन्य सामग्री उत्पादन गर्ने उद्योग स्थापना


पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री उत्पादन गर्न नवलपुरमै उद्योग स्थापना गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित दलदलेमा चार उद्यमीको रु आठ करोडको लागतमा उद्योग स्थापना गरिएको हो ।

पोल्ट्री क्षेत्रमा बढ्दो लगानी र पोल्ट्री उद्योगका लागि आवश्यक पर्ने सामग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै दलदलेमा कम्पास एग्रो इन्डष्ट्रिज प्रालि स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सङ्गम घिमिरेले जानकारी दिनुभयो । पोल्ट्रीजन्य उद्योगलाई चाहिने सबै सामग्रीसहित कृषिसँग सम्बन्धित सामग्री उत्पादन गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उहाँले बताउनुभयो । कम्पनीले पोल्ट्री फार्ममा आवश्यक पर्ने सम्पूर्ण प्लाष्टिकका सामग्री, कृषि उत्पादनमा थोपा सिँचाइका लागि आवश्यक पर्ने सामग्री तथा अन्य प्लाष्टिकका सामग्रीसमेत उत्पादन सुरु गरेको जनाइएको छ ।

“पोल्ट्री फार्मका लागि आवश्यक पर्ने ९० प्रतिशतभन्दा बढी सामग्री हामीले यहाँ नै उत्पादन सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यसका साथै व्यवसायी र किसानले चाहेअनुसारका सबै प्रकारका प्लाष्टिकजन्य सामग्री उत्पादन गर्ने क्षमता राख्दछौँ ।” कम्पनीले पोल्ट्रीको ड्रिङकर्स, पोल्ट्रीको फिडर्स (केजहरू ठूला, मिडियम र साना आकारमा) उत्पादन सुरु गरेको छ । त्यसैगरी प्यारेन्ट्स, ब्रोइलर र लेयर्स जातका कुखुराहरूका लागि अटोमेटिक ड्रिङकर्स, निप्पल ड्रिङकिङ सिस्टम उत्पादन भइरहेको जनाइएको छ । कम्पनीमा उत्पादन भएका निप्पल तथा ड्रिङकिङ सिस्टमहरू ठूला ह्याचरी, इनहाउस, मध्यम र साना ह्याचरीहरूमा जडान गर्ने गरिएको कार्यकारी घिमिरेले जानकारी दिनुभयो ।

कम्पास एग्रो इन्डष्ट्रिज प्रालिबाट उत्पादित सामग्रीको प्रयोग गरेपछि कुखुराले कहिल्यै पनि फोहरपानी नखाने र चल्ला पनि छिटो हुर्कने तथा कुखुरामा रोग कम लाग्न उहाँले दाबी गर्नुभयो । कुनै पनि वितरक, पोल्ट्री व्यवसाय तथा अन्य कम्पनीले आफ्नो लोगो र नामसहित सामान उत्पादन गराउन चाहेमा पनि उद्योगले सोहीअनुसार प्रिन्टसहितको उत्पादन उपलब्ध गराउने उहाँले बताउनुभयो ।

नेपालमा स्थापना भएका पोल्ट्री र ह्याचरी उद्योगसँग सम्बन्धित आवश्यक सम्पूर्ण सामान भारत र चीनबाट आयात हुने गरेकामा अब भने स्थानीय उत्पादन प्रयोग गर्न पाइएको वितरक शिव पौडेलले जानकारी दिनुभयो । “नेपालमा पहिले केही प्लाष्टिक कम्पनीहरूले एउटा–एउटा प्रोडक्टको मात्र उत्पादन गर्ने गर्दथे । तर, कम्पास एग्रोले सबै सामान एकै ठाउँमा उत्पादन सुरु गरेपछि हामी वितरकहरूलाई समेत सहज भएको छ”, उहाँले भन्नुभयो, “पोल्ट्री उद्योगसँग सम्बन्धित सानादेखि ठूला सबै सामान यही उत्पादन सुरु भएकाले अब भारत र चीनबाट सामान ल्याउनुपर्ने बाध्यता हटेको छ ।”

कम्पनीले उत्पादन गरेका सामान आफूहरूले देशका विभिन्न सहरमा पठाइरहेको उहाँको भनाइ छ । यहाँ उत्पादन भएको सामान बाहिरबाट ल्याएको भन्दा रु २०–२५ सस्तो पर्ने गरेको जनाइएको छ । “यहाँका सामान प्रयोग गर्दा साना–साना सामान हराउने, फुट्ने समस्या भएको छैन”, उहाँले भन्नुभयो, “बाहिरबाट ल्याउँदा एउटा फिडरको सानो सामान पाइएन भने पूरै फिडर फेर्नुपर्छ । तर कम्पास एग्रोले सबै फेर्न मिल्ने सामान उपलब्ध गराएको कारण यसले डिलरहरू र ग्राहक दुवैलाई सजिलो भएको हामीले पाएका छौँ ।”

कम्पासका सबै उत्पादन गुणस्तरीय भएको उद्योगका प्रमुख कार्यकारी अधिकृत घिमिरेले दाबी गर्नुभयो । “हाम्रो कम्पनीले हरेक उत्पादनको तीनवटा क्वालिटी बनाउने गरेको छ । सानो, मध्यम र उच्च दरको फरक–फरक मूल्य तोकिएको छ”, उहाँले भन्नुभयो, “थोरै लगानीमा थोरै समय कुखुरा पाल्छु भन्ने किसानले धेरै लगानी गर्ने कुरा भएन । यसलाई पनि मध्यनजर गर्दै कम्पास एग्रोले सामान उत्पादन गरेको छ ।” कसरी हुन्छ किसानलाई सहज बनाउने भन्ने नै आफूहरूको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो
–––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope