किन हुन्छ बलात्कार?

यो कथित सभ्य समाज भित्र किन यति क्रूरता ? किन यस्तो असभ्यता ? खास गरी नेपालमा बलात्कारका घटना घट्नुमा यौन भन्ने चिजलाई असभ्यको पर्यायसँग जोडिदिने हाम्रो नेपाली पितृसत्तात्मक सत्ता र सोचको कारण समाजमा यस्ता विकृत घटना बारम्बार घटिरहेका हुन्छन् । 


अमेरिकामा अपाङ्गताका लागि काम गर्ने एउटा संस्थामा काम गर्ने क्रममा ३५ बर्षे एक अपाङ्गता भएका पुरुषले मेरो घाँटी नै समाउला झैँ गर्दै मसँग अङ्ग्रेजीमा  भने “मलाई कुनै स्त्रीसङ यौन सम्पर्क गर्न मन छ।“  अपाङ्गता भएको व्यक्तिमा यौन चाहाना हुँदैन भन्ने सोच भएका मानिसहरूका लागि त्यो वाक्य चुनौतीपूर्ण त थियो नै तर मलाई कुन कुराले अचम्मित बनायो भने ती पुरुषमा एक किसिमको  कुण्ठा र रिस बढी थियो, प्रेम भन्दा पनि । सम्झे यो कस्तो यौन चाहना हो ?  मानौँ उनले आज सम्म कहिल्यै यौन सम्पर्क गर्न पाएका छैनन् र   यौन चाहाना परिपूर्ति हुन नसक्दा  भित्र भित्रै विद्रोही, निराश र निरस छन् ।   त्यसै गरी काठमान्डू डुल्न आएका एक अमेरिकन  पर्यटकको अघिल्लो रात कुनै नगर बधूले यौन सम्पर्क गर्ने सर्तमा पैसा लिएर भागिछन् र त्यही रिसमा उनी भोलिपल्ट अर्को जनासङ यौन सम्पर्क गर्न पुगेछन् ।  उनले मसँग भने, “ हिजोको रिस पनि फेरे अर्कीसँग।“ म ट्वाल्ल परेँ यो कस्तो खल्लो, निरस यौन सम्पर्क हो जहाँ प्रेम र भावना होइन रिस, आवेग, र बदला मिसिएको छ । यौन तथा यौनिक क्रियाकलापको उच्चतम बिन्दु भनेको त प्रगाढ प्रेम, दुई आत्माको मिलन र शारीरिक, मानसिक र भावनात्मक सन्तुष्टि होइन र ?

बलात्कार, सामूहिक बलात्कार, बच्चा तथा वृद्धाको बलात्कार, अपहरण अनि बलात्कार, शिक्षकले विद्यार्थीमाथि गरेको बलात्कार, बाबु तथा हजुरबुवाले आफ्नी छोरी तथा नातिनीमाथि गरेको बलात्कार आदि इत्यादि हामीले प्राय: समाचारमा सुनिरहेका छौँ । तिनै बलात्कारका काण्ड मध्ये हुन् निर्मला तथा सुष्मिता काण्ड अनि यस्तै यस्तै अरू काण्डहरू   । यस्तो घिन लाग्दो हर्कत र आँग नै सिरिङ्ग हुने समाचार पढ्दा र सुन्दा पिडकलाई सिधै फाँसी नै दिई हालौँ, उसको लिङ्ग नै काट्दी हालौँ जस्तो लाग्छ ।  के त्यसो गर्दैमा बलात्कार हुन् छोड्ला?

जति जति हामी सभ्यताको मार्गतिर उन्मुख हुँदै जाँदै छौँ त्यति त्यति हामीले  बलात्कारका घटना बढेको देखिरहेका छौँ, पढिरहेका छौँ, सुनिरहेका छौँ । नेपालको “फ्याक्ट्स रिसर्च एन्ड एनालाईसिस’, मानव अधिकारवादी  संस्थाको अध्ययन र पुलिस रिपोर्टले  पनि त्यही देखाउँछ ।  ’युनाईटेड नेसन्स’को डाटा हेर्ने हो भने पनि बलात्कारको घटना संसार भरि नै बढ्दो देखिन्छ ।  संसारभरिका बलात्कारका घटना हेर्दा पुरुषले नै महिलालाई बढी बलात्कार गरेको देखिन्छ, खास गरी नेपाल जस्तो पितृसत्तात्मक देशमा त अझ बढी ।  यो कथित सभ्य समाज भित्र किन यति क्रूरता ? किन यस्तो असभ्यता ? खास गरी नेपालमा बलात्कारका घटना घट्नुमा यौन भन्ने चिजलाई असभ्यको पर्यायसँग जोडिदिने हाम्रो नेपाली पितृसत्तात्मक सत्ता र सोचको कारण समाजमा यस्ता विकृत घटना बारम्बार घटिरहेका हुन्छन् ।  आज भन्दा सयौँ वर्ष अगाडी देखि मन्दिर र टुँडालमा ईश्वरका नग्न तस्बिर र उनीहरूका विभिन्न यौन आसन र मैथुनका पोजहरूलाई खुलेआम राखेर  त्यसलाई ढोग्दै पवित्रताको आँखाले हेर्दै आएको र कामसूत्रलाई पढ्दै आएको हाम्रो समाज ढोँगी छ ।  त्यही ढोँगी समाज दिक्तेलका समाजसेवी मदन राईले खुलेर यौनका बारेमा कुरा गरे भने “छिल्लिएको समाज बिगार्ने बुढोले नेपाली समाज र राई जातिको इज्जत नै बिगार्ने भो“ भन्छ ।  त्यो समाज रति रागले भरिएको टुँडाल र कामसूत्रको स्वास्थ्यकर यौन अर्थ र त्यसको गुणात्मक जीवनसङको सम्बन्धको बारेमा बुझ्न चाहँदैन र त्यसलाई लाजको विषयको रूपमा लिन्छ।

महाभारतमा पाँच भाइ पाण्डवकी एउटै श्रीमती द्रौपदीलाई उनकै पतिहरूका अगाडी नङ्ग्याएको  घटना होस् वा राणाकलामा श्रीमतीलाई नाङ्गै सहर घुमाएर उनका पतिलाई दिएको यातनाको घटना  होस्–– यसले के देखाउँछ भने यौन प्रेमको उच्चतम विन्दु, अपरिहार्य जैविक आवश्यकता र यसको मानवीय गुणात्मक जीवनसङको सम्बन्ध हुनु भन्दा पनि इज्जत र प्रतिष्ठाको विषय हो ।

महाभारतमा पाँच भाइ पाण्डवकी एउटै श्रीमती द्रौपदीलाई उनकै पतिहरूका अगाडी नङ्ग्याएको  घटना होस् वा राणाकलामा श्रीमतीलाई नाङ्गै सहर घुमाएर उनका पतिलाई दिएको यातनाको घटना  होस्–– यसले के देखाउँछ भने यौन प्रेमको उच्चतम विन्दु, अपरिहार्य जैविक आवश्यकता र यसको मानवीय गुणात्मक जीवनसङको सम्बन्ध हुनु भन्दा पनि इज्जत र प्रतिष्ठाको विषय हो ।  यो बुझाइले  यस्तो भाष्य  निर्माण गर्‍यो कि यौनिक क्रियाकलाप भनेको बच्चा जन्माउन मात्र प्रयोग गरिनुपर्छ, नत्र यसलाई लुकाएर राखिराख्नु पर्छ  । महिलाको इज्जत लुटिनुलाई रिस, कुण्ठा, आवेग पोख्ने र सजाय दिइने माध्यमको रूपमा लिन्छ हाम्रो समाज  ।  खास गरी यिनै गतिविधिले गर्दा  यौन र यौनिक क्रियाकलापलाई जीवनको महत्त्व सँग लगेर बुझ्न बाट वञ्चित हुन्छौँ । हाम्रो जस्तो पितृसत्तात्मक समाजमा यी निम्न खाले भाष्यको निर्माण पुरुष मनोविज्ञान तथा पितृ सत्तामा  हुनुले पनि बलात्कारलाई प्रशय दिइरहेका हुन्छ ।

 “महिलाले ’हुन्न हुन्न’ भन्नु भनेको वास्तवमा ’हुन्छ, हुन्छ’ भनेको हो“: म त्यस्तै १८/१९ वर्षको हुँदा केही मेरा साथीहरूले गफ गरेको सुन्थे, “त्यसले त यार मान्दै मानिन“ अनि अर्कोले भन्थ्यो, “मुला, त्यो त उनीहरूले नमानेको जस्तो गर्ने मात्र हुन् “ ’हुन्न हुन्न’ भन्छन् तर वास्तवमा उनीहरूले चाहिराखेकै हुन्छ ।“   यो पितृ सत्ताले निर्माण गरेको भाष्य हो जसको कारण बलात्कारका घट्नाले प्रशय पाइराखेका हुन्छन्।  महिलाले ’हुन्न हुन्न’ भन्दा पनि उनीहरूको मन्जुरी बेगर पुरुषले बलजफती गरिराखेको हुन्छ ।  सी एल मुएलेनहार्ड र एल सी होलाबगले अध्ययन गरेको लेख जसको नेपाली शीर्षक हुन्छ  “के महिलाले साँच्चै ’हुन्न’ भनेको ’हुन्छ’ भनेको हो?“ मा के देखाएको छ भने वास्तवमा उनीहरूले ’हुन्न’ नै भनेको हो ।  उनीहरूले आत्मीयता र मायाको ग्यारेन्टी खोजेको देखिन्छ , यौन चाहना नभएर होइन ।  जब उनीहरूको अस्वीकारमै बलजफती यौन सम्पर्क हुन पुग्छ त्यो बलात्कार हुन्छ र त्यसले महिलालाई एउटा ’ट्रमा’ दिएर जान्छ । 

२ “गल्ती महिलाकै हो“: पितृ सत्ताले निर्माण गर्ने अर्को भाष्य यो हो  कि दोषी पुरुषलाई भन्दा पनि महिलालाई नै देखाउने ।  ’यदि उ बलात्कृत हो भने किन पहिल्यै भनिन ?’ ’किन लगातार त्यही पुरुषसँग यौन सम्पर्क गरिरही?’ ’किन उसले छोटा लुगा लगाएर हिँडी ?’ ’किन राति अबेर सम्म घर आइन ?’ आदि इत्यादि ।  यो पछिल्लो सुष्मिता काण्डकै कुरामा पनि केही महिलाहरूलाई मैले सोधेको थिएँ  ’को दोषी देख्नुहुन्छ?“ उनीहरूले ’महिला’ नै भने।  मैले ’किन?’ भने ।  उनीहरूले भने ’उ फेरी बलात्कार गर्ने पुरुषको सम्पर्कमा किन लगातार आइरही?’   तर उनीहरूले यो बुझ्न सकेनन् कि डर , धम्की र त्रासमा त्यो पीडित युवती कसरी बाँची ? कानुनले १८ वर्ष भन्दा मुनिकोलाई बालक/बालिका सम्झिनु पछाडिका वैज्ञानिक कारण के हुन् ? यसबाट के प्रस्ट हुन्छ भने धेरैमा यौन शिक्षा र यौन कानुनको ज्ञानको अभाव छ । यसको मूल कारण भनेकै यौनलाई जबरजस्ती लाजको विषयसँग लगेर जोड्नु हो । यस्ता कुराले बलात्कारीको मनोबललाई उच्च बनाउन मद्दत गर्दछ । 

३ “म पुरुष हो नि यार“: अर्को भाष्य पितृ सत्ताले निर्माण गरेको छ  त्यो हो पुरुष हुनु भनेको “आईमाईते’ हुनु होइन, पुरुषत्व देखाउनु हो ।  पुरुषले जति वटी  पनि ल्याउन सक्छ।  त्यसो भनेर समाजले लाहा छाप नै लगाई दिएको छ कि पुरुषसँग २/३ वटी श्रीमती हुनु भनेको पुरुषहुनुको गर्व हो । यसले कुन कुरालाई प्रशय दिइराखेको हुन्छ भने  रिस, घमन्ड, आवेग, विद्रोह, र बदला पुरुषले लिने हो , महिला त निष्क्रिय, सहनशील , धर्ती हुने हो ।  यस्तो भाष्यले बलात्कारीलाई अझ प्रेरणा मिल्दछ । 

 ४ “क्या राम्री यार त्यो– स्लिम, उठेको वक्षस्थल, कस्तो सुन्दर अनुहार“:  अर्को भाष्य भनेको महिलाको सुन्दरताको परिभाषा उसको रूप, वक्षस्थल, नितम्ब र शारीरिक बनावटसङ मात्र हुनु।  त्यस्तो सुन्दरताको विज्ञापन साहित्य, फिल्म देखि ग्ल्यामरको दुनियाँसम्म हुन्छ ।   विज्ञापन देखि सुन्दरी प्रतियोगिता सम्मका अवधारणामा पनि शारीरिक सुन्दरतालाई बढी फोकस गर्नु, ग्ल्यामरस दुनियाँले यौन तथा यौनिक क्रियाकलापलाई माया, संवेदनशीलता, संवेदना, र करुणाको रूपमा लिनु भन्दा पनि फोर्सको रूपमा ’प्रोजेक्ट’ गर्नुले बलात्कारले  ठाउँ पाइराखेको हुन्छ । खागसरि भन्ने हो लैङ्गिक पूर्वाग्रहबाट जन्मिएका जति पनि “स्टेरियोटाईप्स’ छन् यो पप कल्चर र मिडियामा आएका त्यसका कारण पनि बलात्कारका घटना बढ्दै गएको देखिन्छ ।   तर फेरी पनि बलात्कारका घटना घट्नुमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यौन तथा यौनिक क्रियाकलापलाई लाजको विषयको रूपमा हेर्नु, र इज्जत र प्रतिष्ठाको विषयसँग लगेर जोड्नु नै हो खास गरी नेपालको सन्दर्भमा ।   यौनलाई इज्जतसङ जोड्नाले दुई वटा कुरा हुन्छ: एउटा यौनलाई महिलाको इज्जतसङ जोडिन्छ जसको कारण  महिलाको मन्जुरी बिना नै यौन सम्पर्क गरेर उसको सेखी झार्नु र इज्जतलाई माटोमा मिलाउनु भन्ने हुन जान्छ भने अर्को परिवारको  प्रतिष्ठासङ जोडेर हेरिन्छ जसको कारण पीडित आफै त्यो कुरालाई बाहिर ल्याउन हिचकिचाऊ गर्छिन् पारिवारिक तथा सामाजिक दबाबको कारण। 

बलात्कारका घटना बढिरहँदा, संसदमा पनि बहस हुन् थालेको छ । जेल राखेर मात्र पीडितलाई न्याय नहुने भएकाले बलात्कारका घटनामा हदम्याद हटाएर बलात्कारको पुन: परिभाषा गरी विधेयक ल्याउनुपर्ने कुरामा छलफल भइरहेको छ  । कसैले महिलामाथि हुने सबै हिंसालाई एउटै कानुनमा समेटेर ल्याउनुपर्ने र कानुनमा दूरदर्शिता  हुनुपर्ने कुरामा जोड दिएका छन् ।जसले गर्दा  एउटा विषय उठेपछि कानुन बनाउनुपर्ने र अर्को घटना बाहिर आएपछि पछुताउन पर्ने अवस्था आउँदैन।कतिपयले भने  यौन शोषण जघन्य अपराधको एउटा उदाहरण भएकाले यसलाई अन्य घटनासँग तुलना गर्न मिल्दैन भनेका छन् । हामीले के बिर्सनु हुँदैन भने सबैभन्दा महत्त्वपूर्ण कुरा त यौन जन्य हिंसामा पीडित भन्दा पिडक जिम्मेवार हुन्छ ।  सामाजिक लैङ्गिक विभेदका कारण र पुरुषले महिलालाई हेर्ने दृष्टिकोणका कारण यस्ता घट्न बग्रेल्ती घटेका छन्  ।

सारांशमा,  यौनको अस्वस्थ बुझाइले हुन्छ बलात्कार ।  यौनलाई खाली लिङ्ग र योनिबिचको समागमको रूपमा मात्र बुझ्नाले हुन्छ बलात्कार ।  यो संसारमा मात्र दुई लिङ्ग अर्थात् स्त्री र पुरुषको अस्तित्वलाई मात्र स्विकार्नाले हुन्छ बलात्कार । पितृसत्तात्मक सोचले ग्रस्त यो समाजले पुरुषको मनोविज्ञानलाई  स्त्रीलाई, दबाउने, होच्याउने, धज्जी उडाउने, बदला लिने र उसको अस्तित्वलाई तहसनहस पार्ने कुराको सम्बन्ध पुरुषले महिलालाई गर्ने ’रेप’ सँग जोड्नाले हुन्छ बलात्कार ।  यौनको महत्त्व र यसको गुणात्मक जीवनसँगको सम्बन्ध नबुझ्नाले हुन्छ बलात्कार ।  यसका बहु आयामिक पक्षहरूका बारेको अल्प ज्ञानले हुन्छ बलात्कार ।   यौनका विषलाई लाजसँग लगेर जोड्दिनाले र यस विषयलाई “ट्याबू“ को विषय मान्दिनाले हुन्छ बलात्कार ।  मानवीय कुण्ठा, रिस, आवेग लाई यौनसँग झोड्नाले हुन्छ बलात्कार ।  मानवीय जीवनमा यौनको अपरिहार्यताबारे नबुझ्नाले र मानवीय सङ्कीर्ण सोचले हुन्छ बलात्कार ।  यौन चाहना र इच्छालाई ’च्यानलाईज’ गर्न नसक्नु, यौन कर्मलाई प्रेम, सहानुभूति र मानवीयता र आत्माको मिलनसँग लगेर बुझ्न नसक्नुका कारण हुन्छ बलात्कार ।  महिला हिंसालाई पुरुषको दम्भ र पुरुष हुनुको गर्वसँग जोड्नाले हुन्छ बलात्कार ।  मदन राई आफ्नो फेसबुक स्ट्याटसमा लेख्छन्,  “योनीमा अल्झिएको इज्जत झिकिदिऊँ। यौन पारदर्शी हुनुपर्छ लुकाउने विषय होइन ।“ जबसम्म यौनको स्वास्थ्यकर सोचाइमा हरेक मानिसमा परिवर्तन आउँदैन तबसम्म कुनै सजाय र नियम कानुनले यस्ता घटना घट्न बाट रोकिने छैनन् ।  सभ्यताको नाममा यौनिक क्रियाकलापलाई जीवनको स्वास्थ्य र गुणात्मक पक्षसँग नजोडेर असभ्य र फोहोर आचरणसँग जोडिदिनु नै अभिसाप हो ।  “यौन जीवनको महत्त्वपूर्ण बस्तु हो यसको गुणात्मक जीवनसँग अन्योन्याश्रित सम्बन्ध हुन्छ,“ रबर्ट मक्यु र अन्न मालो आफ्नो पुस्तक “सेक्स एन्ड  डिसेबिलिटि“ मा लेख्छन् ।  त्यही भएर यसको सम्मान गरौँ ।  लाजको विषय नबनाऊँ । जबसम्म यो लाजको विषय हुन्छ तबसम्म बलात्कारका  घटना भइरहन्छ ।

आचार्य “सेक्स, जेण्डर एण्ड डिसएबिलिटि इन नेपाल” पुस्तकका लेखक हुन् ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope