दसैँसँगै रामलीलाको रौनक


–भेषराज वस्नेत

राँझा, १७ असोज (रासस)ः नेपालगञ्जको सांस्कृतिक पहिचानको रुपमा डेढसय वर्षदेखि सञ्चालन हुँदै आएको रामलीला महोत्सवले दसैँ पर्वको रौनक ल्याएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको एक सय ५५ औैं संस्करण असोज १० गते घटस्थापनादेखि प्रारम्भ भएकोे छ ।

रामलीला महोत्सव यो वर्ष भव्यताका साथ सुरु भएकोे सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो । उहाँका अनुसार एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४ औं वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । दुई वर्ष रोकिएको रामलीला मञ्चन हेर्न यो वर्ष भक्तजनको उल्लेख्य सहभागिता हुने गरेको छ । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ ।

रामलीला मञ्चनका लागि भारतको वृन्दावन धामको ब्रज रासलीला एवम् रामलीला मण्डल नेपालगञ्ज आएको छ । मण्डल सञ्चालक राधारमण शर्मा नेतृत्वको कलाकार टोलीले भगवान राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गरिरहेका छन् । रामलीलाको मञ्चन राज्याभिषेक अर्थात् विजयादशीको रातिसम्म चल्ने रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले जानकारी दिनुभयो ।

यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको उहाँको भनाइ छ । रामलीला मञ्चनका लागि नेपालगञ्जको रामलीला मैदानको मञ्च दुलहीझैं सिङ्गारिएको छ । रामलीलालाई भव्य, सभ्य र सफल बनाउन विभिन्न उपसमितिमा जिम्मेवारी बाँडफाँट गरिएको छ । सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको शुरुआत गरेका थिए ।

भारतको बृन्दावनबाट ल्याइएका कलाकारहरुले रामलीला मञ्चन गर्छन् । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौंको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । नेपालगञ्जको परम्परालाई जोगाई राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका प्रचारमन्त्री विष्णुलाल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार रामलीला महोत्सव सञ्चालन गर्न करिव रु. १५ लाख खर्च हुन्छ । सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयहरुबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट समेत हजारौं श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन् ।

श्रीरामको जीवन चरित्र नाटक मञ्चन

यो वर्ष भारतको वृन्दावनबाट आएका कलाकारले नाटक मञ्चन गरिरहेका छन् । यसअघि पनि भारतका विभिन्न स्थानका कलाकारहरू आउने गरेका थिए । नेपालको जनकपुरबाट पनि केही वर्षअघि कलाकार ल्याएर रामलीला मञ्चन गराइएको प्रचारमन्त्री विष्णु कुम्हालले बताउनुभयो ।

कुम्हालका अनुसार जङ्गबहादुर राणाले नेपालगञ्ज शहर बसालेदेखि नै मनोरञ्जनका लागि स्थानीय बासिन्दाको सहयोगमा भगवान श्रीरामको कथामा आधारित नाटक मञ्चन गर्न थालिएको हो । गोस्वामी तुलसी दासले श्रीराम चरित्र मानस अवध भाषामा अनुवाद गरेपछि रामलीला मञ्चन गर्न सहज भएको कुम्हाल बताउनुहुन्छ ।

रामलीलामा श्रीरामको जीवन चरित्र देखाइने कलाकारहरू बताउँछन् । भगवान राम र सीताको जीवन लीलालाई कलाकारहरूले घटस्थापनादेखि प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म मञ्चन गर्ने गर्छन् । विजयादशमीको दिन रावण वध गरी एकादशीको रात भरतसँगको मिलाप र त्रयोदशीको रात रामको राज्याभिषेक गरी नाटक अन्त्य गरिन्छ ।

रामलीलाले बढायो दशैँको रौनक

घटस्थापनादेखि नेपालगञ्जस्थित रामलीला मैदानमा सुरु भएको रामलीला मञ्चनसँगै नेपालगञ्जमा दशैँको रौनक बढेको छ । यस वर्ष रामलीला हेर्नेको सङ्ख्या तीन गुणा बढेको प्रचारमन्त्री कुम्हालले बताउनुभयो । उहाँले रामलीला मञ्चन हेर्न गाउँ–गाउँबाट ट्याक्टर चढेर सर्वसाधारण आउने गरेको बताउनुभयो ।

पहिलेदेखि नै हेर्दै आएको रामलीला दुई वर्ष हेर्न नपाउँदा न्यास्रो मानेका सर्वसाधारण यस वर्ष उत्सुकताका साथ सहभागी भएका छन् । गाउँबाट हुल बाँधेर सर्वसाधारण आएपछि कलाकार उत्साहित भएका छन् । “कोरोनाका कारण दुई वर्ष महोत्सव नलागेकोले यस वर्ष रामलीला हेर्नेको भिड लागेको हो”, उहाँले भन्नुभयो,“जतिजति रात छिप्पिँदै जान्छ उतिउति दर्शकको सङ्ख्या बढ्दै जान्छ ।” दशैँको अवसरमा समुदायमा सकारात्मक सन्देश फैलाउन र रामराज्यको अनुभूति दिलाउन रामलीला महोत्सवलाई निरन्तरता दिईएको रामलीला सञ्चालक समिति सदस्य नन्दलाल बैश्यले उल्लेख गर्नुभयो । घटस्थापनादेखि सुरु हुने रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्बर, राम वनवास, दशरथ मरण, सीताहरण, लङ्का दहन, लक्ष्मण शक्ति वाणको लीलालगायत प्रदर्शन हुने गरेको उहाँको भनाइ छ ।

विजयादशमीका दिन ४५ देखि ५० फिटको रावणको पुत्ला दहन गरी महोत्सव समापन हुने गर्दछ । विजयादशमीका दिन अपराह्नदेखि नै विशेष लीला मञ्चन गरी रावण बध गरिन्छ । सो दिन जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट समेत मानिस आउँछन् । भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्य रूपमा प्रस्तुत रामलीला महोत्सवमा गरिन्छ । यो क्रम रावण बध नहुञ्जेलसम्म चल्छ ।

“सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने दशैँभरि सहरमा रामलीलाको रौनक हुन्छ । रामले अन्यायका लागि लडेको कथा र प्रजालाई गर्ने व्यवहारबारे प्रस्तुत गरिन्छ”, रामलीला सञ्चालक समिति सदस्य बैश्यले भन्नुभयो, “रामलीलाले युवालाई सकारात्मक सन्देश दिन्छ ।

रामलीला हाम्रो संस्कृति बनिसक्यो । भगवान् रामको आदर्श र मर्यादाको प्रचारका लागि पुर्खाले सुरुआत गरेका हुन् ।” जीवन्त कला, अर्थात भगवान श्रीरामको जीवन लीलालाई वृन्दावनबाट आएका भारतीय कलाकारहरुले हरेक दिन प्रस्तुत गर्नेछन् । यो क्रम एक सय ५५ वर्षदेखि चलिआएको प्रामाणिक तथ्य छ । विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदैआएको यो कला नेपालीमाझ जति परिचित छ, त्योभन्दा कयौँ गुणा भारतीयहरूबीच लोकप्रिय छ । “भगवान श्रीरामलाई जीवन्त प्रस्तुत गर्दै मानव जीवनलाई कर्तव्यबोध गराउन नेपालगञ्जमा डेढसय वर्षदेखि कला प्रस्तुत हुँदै आएको छ रामलीला”, अध्यक्ष कनोडियाले भन्नुभयो, “धार्मिक आस्थाले मानव सभ्यतालाई मर्यादित बनाउँछ । अनुशासित जीवन पद्धतिका लागि पनि यो अपरिहार्य हुन्छ, नेपालगञ्जकै मौलिक इतिहासलाई थामेर हिंडेको छ, रामलिलाले ।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope