राहत पुगेन, भूकम्पपीडितको त्रिपालको बास


डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् । उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउसमा रात बिताउन बाध्य भएको बताएका छन् ।

भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेको बताएका हुन् ।

गत मङ्गलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ । यहाँका स्थानीय भरत बोहराले भन्नुभयो, “सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरु पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ ।” नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएको यहाँको परिवारका सदस्यलाई रु एक लाख ५० हजार तथा नेकपा एमाले डोटीबाट रु एक लाख आर्थिक सहयोग प्राप्त भएको थियो ।

अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् । गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बादर र मुसाले खान थालेको पीडितहरु बताउँछन् । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताउनुभयो ।

उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले आजै विपद् व्यवस्थापनको बैठक राखी सम्भवतः आजै वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला ।” मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसमा परी उक्त गाउँका छ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जर्नौँ घरमा क्षति पुगेको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope