पदयात्रीका रोजाइमा ‘देवचुली डाँडा’


त्रिवेणी, १३ मङ्सिर (रासस):

पदयात्रा रुचाउनेका लागि अहिले नवलपुरको ‘देवचुली डाँडा’ प्रमुख गन्तव्य बनेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सहतदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ । अहिले सो स्थान नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको रोजाइमा पर्ने गरेको छ । यहाँबाट नवलपुरका विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भागहरू अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिने जनाइएको छ ।

पर्यटकीय दृष्टिले ‘देवचुली डाँडा’ निकै रमणीय रहेको स्थानीय लोक तिमिल्सिनाले बताउनुभयो । प्राकृतिकरूपमा निकै सुन्दर ठाउँ रहेको र यहाँ घुम्दा निकै रमाइलो अनुभूति भएको उहाँले सुनाउनुभयो । “साँच्चै देवचुली डाँडा निकै रमाइलो ठाउँ रहेछ, पहिलोपटक आएँ, डाँडाबाट नजिकै देखिने हिमशृङ्खला, पहाडका टाकुरा र दक्षिणमा देखिने फाँट निकै मनमोहक लाग्ने”, उहाँले भन्नुभयो । पदयात्राका क्रममा बीच भागमा आवश्यक मात्रामा होटल, अघिल्लो दिन आउनेका लागि स्तरीय आवासको व्यवस्था भए अझै राम्रो हुने उहाँले बताउनुभयो । सो स्थान पूर्व–पश्चिम राजमार्गको दलदलेबाट उत्तरतर्फ रहेको छ । देवचुली डाँडा जाने दुईवटा मार्ग छन् ।

एउटा देवचुली नगरपालिकाको कीर्तिपुर हुँदै र अर्को कुसोतबाट पोखरी हुँदै देवचुली डाँडा जान सकिन्छ । कीर्तिपुर र पोखरीसम्म यातायातको सुविधा छ । पोखरी हुँदै जाँदा करिब २० किलोमिटर दलदलेबाट उत्तर लाग्नुपर्छ । कीर्तिपुरबाट जाँदा १२ किलोमिटरको दूरी पर्छ । त्यसपछि भने पैदलमार्ग सुरु हुन्छ । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुली डाँडा पुग्न सकिन्छ । देवचुली डाँडा जाने धेरैजसो पोखरी हुँदै जाने गरेका छन् । यो मार्ग हुँदै जाँदा ठाडो उकालो कम पर्ने हुनाले धेरैले यो मार्ग प्रयोग गर्ने गर्दछन् ।

यो मार्ग भएर जाने कतिपय अघिल्लो साँझ नै बोझापोखरी पुग्ने गर्दछन् । यहाँ घरबाससमेत रहेकाले राति घरबासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहानै पैदलयात्रामा निस्कने गर्दछन् । कतै वन, बीच भागतिर एकाध घर र साना–साना फाँट छिचोल्दै देवचुली डाँडा पुगिन्छ । देवचुली डाँडा पदयात्राका लागि जिल्लाकै उत्कृष्ट गन्तव्य रहेको कावासोतीका बुलेट सिग्देलले बताउनुभयो । तर पदमार्गलाई थप व्यवस्थित बनाउने, बीच–बीचमा विश्रामस्थल निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, पदमार्गमा बाटाको सङ्केत चिह्न राख्ने हो भने अझै राम्रो हुने उहाँले बताउनुभयो । “केही पूर्वाधारको आवश्यकता रहेको छ, पदमार्ग राम्रो बनाउने, विश्रामस्थल, खानेपानीको व्यवस्था ठाउँ–ठाउँमा बनाउन सके अझै राम्रो हुने थियो”, उहाँले भन्नुभयो ।

रोट्रयाक्ट क्लब अफ नवलपुर सिटीका अध्यक्षसमेत रहनुभएका सिग्देलले देवचुली डाँडाको विकासमा सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो । सो स्थान जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यभित्रसमेत पर्ने गर्दछ । डाँडाबाट देखिने प्राकृतिक दृश्यसहित यहाँ प्राकृतिक गुफा, तीनकन्या माईको मन्दिर, भ्यूटावरलगायतका संरचनासमेत छन् । परापूर्वकालमा यहाँ पाँच पाण्डवहरू गुप्तवास बसेको किंवदन्तीसमेत रहेको छ । थारू समुदायले प्रत्यक वर्ष चैत पूर्णिमाका दिन देवचुली डाँडामा विशेष पूजा गर्ने गर्दछन् । सो दिन डाँडामा मेलासमेत लाग्ने गर्दछ । थारू समुदायमा यहाँ पूजाआजा गर्नाले आफ्नो कूलमा सुख, समृद्धि हुने विश्वास रहिआएको छ ।


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope