एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चाको जन्म

भरतपुर अस्पतालमा विगत १० महिनामा छ जना एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चालाई जन्म दिएका छन् ।
नियमित औषधि सेवन गर्ने र सुरक्षित प्रसूति सेवा लिने एचआइभी सङ्क्रमित गर्भवतीबाट स्वस्थ बच्चा जन्मिएको अस्पतालले बताएको छ ।
नियमित औषधि सेवन गरिरहेका महिलाले सुरक्षित प्रसूति सेवा लिने र दूध खुवाउँदा विशेष ध्यान दिनसकेमा सङ्क्रमण नुहुने चिकित्सकको भनाइ छ । भरतपुर अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले शल्यक्रियामार्फत् जन्माइएका बच्चामा रोग सर्ने सम्भावना निकै कम भएको बताउनुभयो । औषधि खाइरहेका आमाबाट बच्चामा रोग सर्ने सम्भावना अन्यको तुलनामा ९० प्रतिशत कम हुने उहाँको दाबी छ । तर लामो व्यथा लागेर जन्मिएका बच्चामा रोग सर्ने सम्भावना बढी हुने उहाँको अनुभव छ ।
एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) नेपालद्वारा भरतपुर अस्पतालमा सञ्चालित एन्टी रेक्ट्रो भाइरल थेरापी (एआटी) सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सेन्टरमा पछिल्लो १० महिनामा १३ हजार ८८ गर्भवतीको एचआइभी परीक्षण गरिएको छ । जसमध्ये दुई जनामा सङ्क्रमण देखिएको थियो । सेन्टरमा चितवनसहित ११ जिल्लाका एचआइभी सङ्क्रमित औषधि लिन आउने गरेका छन् ।
तनहुँ, गोरखा, लमजुङ, धादिङ, मकवानपुर, नवलपुर, नवलपरासी, बारा, पर्सा र धादिङका सङ्क्रमितले चितवनबाट औषधिसहितको उपचार लिँदै आएका छन् । विशिष्ट खालको शल्यक्रिया, सुत्केरी र एमआरआइलगायतका उपचार सेवाका लागि यहाँ आउने गरेका छन् । सापकोटाका अनुसार हाल एक हजार एक सय चार जना सङ्क्रमितले औषधि सेवन गरिरहेका छन् । जसमध्ये ४५ जना बालबालिका छन् । औषधि खानेमा ४५ दिनको शिशुदेखि ८५ वर्षका वृद्धसमेत हुनुहुन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस