किराँत समुदायको महान् चाड ‘साकेला उधौली’ सुरु

खोटाङ, २२ मङ्सिर (रासस) ः प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ ।
पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा÷धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुआत गर्ने तयारी गरेको किराँत राई यायोख्खा खोटाङका सचिव जीवन नाछिरिङले बताउनुभयो ।
किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिकरूपमा सुरु गरिने साकेला उभौलीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको किराँत राई यायोख्खाले जनाएको छ । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरूले बताएका छन्
। साकेला उधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासे भञ्ज्याङलगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ । उधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।
छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेषभूषामा सजिएर हरेक किराँत राईहरूको घर–घरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरुन् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो । हरेक वर्ष जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित मझुवागढीबाट विधिवत् रुपमा सुरु गरिने साकेला उधौलीको अवसरमा आफन्तजन तथा इष्टमित्रबीच शुभकामना आदानप्रदान समेत गरिन्छ ।
बालकदेखि वृद्धसम्म एउटै लहरमा बसेर सामूहिकरूपमा नाचिने साकेला सिलीले दर्शकलाई समेत भरपुर मनोरञ्जन दिने गर्दछ । उधौली तथा उभौलीको अवसरमा किराँत राईहरूले मात्र नभई सबै जातजाति तथा धर्मका समुदायलेसमेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृतिका रूपमा विकास भएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशस किराँतले बताउनुभयो । “साकेला पर्वले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्वन्द्वलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ”, उहाँले भन्नुभयो, “साकेला पर्वमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ ।”
साकेला उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाइने गरिएको छ । साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस