यसपटक देखिएको डेङ्गुमा सेरोटाइप-३ स्वरुप

काठमाडौँ, २ माघ (रासस) : नेपालमा गरिएको नमुना परीक्षणमा सेरोटाइप-३ स्वरुपको डेङ्गु धेरै देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बिपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अध्ययनमा सेरोटाइप-३ स्वरुपको डेङ्गु पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो । उहाँले विगतका वर्षभन्दा यसपटक सेरोटाइप-३ धेरै देखिएको बताउनुभयो ।
“यस भन्दाअघि पनि हामीले नमूना परीक्षण गर्दा थोरै मात्रामा सेरोटाइप-३ देखिएको थियो”, उहाँले भन्नुभयो, “यसपटक भने बिरामी पनि धेरै भएकाले धेरै जनामा सेरोटाइप-३ देखिएको छ ।” सामन्यता एकपटक डेङ्गु भएकालाई पुनः डेङ्गु हुँदा सेरोटाइप-३ देखिने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँका अनुसार तीन ठाउँमा गरिएको तीन सय ३४ वटा नमूना परीक्षणमा ८१ जनामा सेरोटाइप–३ देखिएको छ भने दुवै खालका स्वरुप (मिक्स) भने छ जनाको नमूना परीक्षणमा देखिएको छ ।
सामान्यता एकपटक डेङ्गु देखिएकालाई अर्कोपटक देखिँदा सेरोटाइप-२, सेरोटाइप-३ देखिने गर्दछ । “सरोटाइप-१ र सेरोटाइप-२ भइसकेका बिरामीले डेङ्गुसँग लड्ने क्षमता बनाइसकेका हुन्छन”, उहाँले भन्नुभयो, “यही ती दुई स्वरुपको सङ्क्रमण भइसकेका बिरामीलाई पुनःडेङ्गु भयो भने सेरोटाइप–३ हुन्छ ।” राष्ट्रिय प्रयोगशाला टेकुमा दुई सय ७२ परीक्षणमध्ये ५९, त्रिविको ल्यावमा गरिएका ५० नमूनामध्ये १७ र धरानमा १२ नमुना परीक्षणमध्ये पाँच जनामा सेरोटाइप-३ देखिएको छ ।
यस्तै टेकुमा सेरोटाइप-१ प्रजाति एक सय २६, सेरोटाइप-२ प्रजाति २९ र ५३ नमुना परीक्षणमा डेङ्गु देखिएको थिएन । यस्तै त्रिविमा ५० जनामा गरिएको नमुना परीक्षणमा सेरोटाइप-१ स्वरुप २१ र सेरोटाइप-२ स्वरुप पाँच जना र छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थिएन । यस्तै धरानमा १२ जनामा गरिएको परीक्षणमा सात जनामा सेरोटाइप-१ देखिएको थियो । महाशाखाले यसअघि २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ मात्र देखिएको उहाँले जानकारी दिनुभयो । डेङ्गु पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस