‘सीप त छ, बेच्न बजार छैन’


कमलामाई (सिन्धुली), ४ माघ : सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरबत्तीकुमर दनुवारसँग मान्द्रो बनाउने सीप छ । तर बनाएको मान्द्रो बिक्री गर्ने बजार भने छैन । सात वर्ष अघिसम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेर भए पनि व्यवहार धान्नुपरेको उहाँले बताउनुभयो । मान्द्रोको ठाउँमा पछिल्लो समय प्लास्टिकका सामग्रीले लिएको छ । प्लास्टिकका सामग्री सस्तो र सहजरुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिला जस्तै बाँस पाइदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको दनुवारले सुनाउनुभयो । उहाँले भन्नुभयो, “पटिया बिक्री हेतो त फेरी बुन थाल्बो (मान्द्रो बिक्री हुन्छ भने फेरि बनाउन थाल्छु) ।” केही वर्षअघिसम्म चुरे क्षेत्र प्रवेश गर्ने वित्तिकै बाँस पाइथ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी ल्याएर आइन्थ्यो ।

उत्पादित मान्द्रो किन्न ग्राहक घरमै आउँथे । बिक्रीको समस्या थिएन । त्यति बेला दिनकै रु पाँच सय कमाइ हुन्थ्यो । त्यो पैसाले नुन, तेलदेखि घरायसी सबै खर्च टर्थो । यता उता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको दनुवारको भनाइ छ । “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यै छ”, उहाँले भन्नुभयो । दनुवारको पाँच जनाको परिवार छ । श्रीमान् रु दुई लाख ऋण गरेर साउदी अरब जानुभएको हो । दुई वर्ष बितिसक्दा विदेश जाँदाको ऋण तिर्न सक्नुभएको छैन । तीन सन्तानको पालन पोषणलगायत घरायसी खर्च टार्न उहाँलाई यति बेला धौधौ छ । जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट आफ्नो घर व्यवहार धान्दै आइरहनु भएकी दनुवारको हातमा अन्य सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ ।

दनुवारले मात्रै होइन, उक्त समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । सोम्नी दनुवारले भन्नुभयो, “पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे ।” उहाँले तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउनुहुन्थ्यो । ‘घर छोडेर कमाउन जान नमान्ने श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो । चोया आफँै काट्थे । मान्द्रो बनाउँथे । ग्राहक घरैमा आउँथे”, एक दशकअघिको समय सोम्नीले सम्झिनुभयो । दिनमा पाँच वटासम्म मान्द्रो बुन्ने गरेको उहाँ बताउनुहुन्छ । सोम्नी शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गर्नुहुन्छ । “पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्यौँ । मान्द्रो बेच्थ्यौँ, चाहिएको सामान किन्ने गरेका थियौँ”, उहाँले भन्नुभयो, ‘त्यत्तिबेला जतिवटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो । अहिले बिक्री नै हुँदैन । मान्द्रो बन्न छोड्दै गएका छन्, मैले पनि छाडे ।” मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको सोम्नीले बताउनुभयो । उहाँसँग मान्द्रो र थरिथरिका डालो बनाउने सीप छ । गदँै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थाल्नुभएकी सोम्नी उपयुक्त कामको खोजीमा हुनुहुन्छ । दनुवार समुदायको परम्परागत तथा पुखौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण रोजीरोटी नै गुम्ने अवस्था आएको उहाँकोे भनाइ छ ।

स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई÷चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनुपर्ने बाध्यता थिएन । अति सिमान्तकृत दनुवार समुदायको मान्द्रो बनाउने पराम्परागत सीप हो । पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसार नपाउँदा लोप हुँदै गएको छ । बाँसको चोयाबाट अति आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर (दनुवार)ले नजिकै बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउन प्लास्टिकको किनेर ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको रु १५ हजारदेखि रु २० हजारसम्म कमाउँथे । अहिले बाँस टाढा गएर ल्याउन सकिँदैन, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु ? आफूलाई ओछ्याउन बजारबाट प्लास्टिकको विछ्याउना किनेर ल्याएको छु ।” यो सीपको विकास तथा संरक्षण गर्नुपर्ने आवश्यकता भने देखिएको उहाँले धारणा छ । मान्द्रो मात्रै होइन, ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छ ।

बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापन समेत नहुँदा दनुवार समुदायका महिलाले पुखौँदेखि गदँै आएको पेसा लोप हुने अवस्थामा पुगेकोे दनुवार जागरण समितिका सदस्य सुकुमलाल कुमर (दनुवार)ले बताउनुभयो । ‘दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । नयाँ पुस्तामा सीप हस्तान्तरण हुन सकेको छैन । सीप पुस्तान्तरण हुन नसक्दा पेशा लोप हुन थालेको हो”, उहाँले भन्नुभयोे । पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लामा बिक्री हुने गरेको उहाँ सम्झिनुहुन्छ । प्लाष्टिकका सामाग्रीको बढ्दो प्रयोग र बाँसका सामग्रीबनाउने पेसा अँगाल्ने जनशक्तिको कमिका कारणले पनि यो व्यवसायसंकटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुको धारणा छ । यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीे जस्ता सामग्रीको उत्पादन अत्यन्तै न्यून हुने गरेको उहाँले बताउनुभयो । “पहिला बाँसका सामग्री बनाउने जनशक्ति धेरै थियो । अहिले कम छ”, उहाँले भन्नुभयो, “अहिलेका युवा पुस्ता परम्परागत काममा चासो देखाउँदैनन् ।” –––


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope