खुम्बुमा चिसोले पानी जम्न थाल्यो

अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ ।
यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ । चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताउनुभयो । उहाँका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ ।
खुम्बु क्षेत्रका अधिकांश होटल व्यवसायी र केही नागरिक यतिखेर जाडो छल्न जिल्ला बाहिर छन् ।
अत्यधिक चिसो हुने भएकाले खुम्बुका धेरैजसो नागरिक चिसो छल्न जिल्ला बाहिर जाने गरेका छन् । चिसोकै कारण पालिकाभित्र रहेका १७ विद्यालयमध्ये १४ विद्यालय बन्द रहेको जनाइएको छ । यसपटक हिउँ नपरे पनि उच्च हिमाली क्षेत्र भएकाले चिसोका कारण पानी जम्न थालेपछि खुम्बुवासीको दैनिकी कष्टकर बनेको स्थानीय तोया श्रेष्ठको भनाइ छ । चिसो बढेसँगै सो क्षेत्रको तापक्रमसमेत घटेर माइनस १० डिग्रीसेल्सियससम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस