ज्ञानलाई विज्ञानसँग जोड्ने शिक्षा आवश्यक : प्रधानमन्त्री


काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्ञानलाई विज्ञानसँग जोडेर मात्र विश्वविद्यालयको शिक्षा गुणस्तरीय हुने बताएका छन् । बिहीबार दिउँसो बालुवाटारमा राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । 

‘यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र  विश्वासको द्योतक हो भन्ने अर्काेतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो,’ प्रधानमन्त्री प्रचण्डले भने । 

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ :

ज्ञान–विज्ञानको केन्द्र एवं तपोभूमि प्राचीन विदेह राज्यको राजधानी जनकनगरी जनकपुरधाममा स्थापित राजर्षि जनक विश्वविद्यालयको छैठौँ सभामा उपस्थित हुन पाउँदा मलाई खुशी लागेको छ। सर्वप्रथम, यस सभामा उपस्थित हुनुभएका यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। 
राजर्षि जनक विश्वविद्यालयको यस छैठौँ सभाले यहाँहरू सबैका बीच आर्थिक वर्ष २०७९/८० को कार्यक्रम र बजेटमा रचनात्मक छलफल गरी  विश्वविद्यालयको आगामी कार्यदिशा तय गर्नेछ। यस अवसरमा यस राजर्षिजनक विश्वविद्यालयका उपकुलपति एवं सम्पूर्ण सभासद्हरूलाई विश्वविद्यालयको जिम्मेवारी कुशलतापूर्वक वहन गर्दै विश्वविद्यालयलाई यस क्षेत्रकै एक उत्कृष्ट उच्च प्राज्ञिक संस्थाको रूपमा विकास गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

प्राचीनकालमा जुन भूमिमा राजा जनकले ज्ञानी ऋषिमुनिहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेका थिए आज त्यही पवित्र भूमिमा ज्ञानको दीप प्रज्ज्वलित गर्ने पुनीत उद्देश्यले उनै राजर्षि जनकको नाममा विश्वविद्यालय खोलिनु स्वयंमा प्रशंसनीय कार्य हो। यो विश्वविद्यालय एकातर्फ हाम्रो प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको हाम्रो अगाध आस्था र  विश्वासको द्योतक हो भन्ने अर्काेतर्फ विगतमा ज्ञान–विज्ञानको क्षेत्रमा समृद्ध भूमिको रूपमा परिचित मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीतिको सम्पुष्टिसमेत हो।

मिथिला प्रदेश जनक दर्शन, संस्कृति र मिथिला कला तथा साहित्यको केन्द्र हो। यस तथ्यलाई मनन गरी यस विश्वविद्यालयले जनक दर्शन र संस्कृति तथा मैथिली कला–साहित्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न पनि आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्नुपर्दछ भन्ने मेरो मान्यता छ।

कुनै पनि मुलुकको विकासको प्रमुख आधार भनेकै दक्ष जनशक्तिको उत्पादन र तिनको समुचित उपयोग नै हो। विश्वविद्यालय दक्ष जनशक्ति उत्पादन गर्ने प्रमुख थलो हो। अतः विश्वविद्यालयहरूले मुलुकको आवश्यकताअनुसार स्तरीय दक्ष जनशक्तिको उत्पादन गरेर मुलुकका विभिन्न क्षेत्रमा आवश्यक पर्ने गुणस्तरीय र दक्ष जनशक्तिको खाँचोलाई पूर्ति गर्न सहयोग पुर्‍याउनुपर्दछ।

सरकारको उच्च शिक्षासम्बन्धी नीतिलाई कार्यान्वयन गर्न विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहन्छ। यस कुरालाई आत्मसात गरी यस विश्वविद्यालयले सर्वसुलभ मूल्यमा गुणस्तरीय उच्च शिक्षा प्रदान गरी मुलुकका लागि आवश्यक जनशक्ति उत्पादन गर्न प्रतिबद्ध रहन आवश्यक छ।

मुलुकमा विश्वविद्यालयहरूको संख्या बढ्दै जानु राम्रो कुरा हो। यसले उच्च शिक्षामा सबैको सहज र सरल पहुँच स्थापित गर्न मद्दत पुग्दछ। तर विश्वविद्यालयको संख्यात्मक वृद्धिसँगै शिक्षाको गुणस्तर पनि उच्च बनाइराख्ने कार्य चुनौतीपूर्ण छ। यस कुरालाई मध्यनजर गर्दै यस विश्वविद्यालयले आफूलाई गुणस्तरको क्षेत्रमा अब्बल साबित गर्नुपर्दछ। त्यसो भए मात्र यहाँ विद्यार्थीहरूको आकर्षण बढ्दछ, हाम्रो जनशक्ति राष्ट्रको विकास र समृद्धिको सारथि बन्न सक्दछ। साथै, विश्वविद्यालयबाट उत्पादित जनशक्तिले बाह्य बजारमा प्रतिस्पर्धा गरी आफूलाई उत्कृष्ट साबित गर्न सक्दछन्। विद्यार्थीहरूलाई कोरा सैद्धान्तिक ज्ञानभन्दा पनि जीवनोपयोगी, रोजगारीमूलक तथा समाज र देशलाई रूपान्तरण गर्न सहयोग पु¥याउने उच्च शिक्षाको प्रवद्र्धनमा यस विश्वविद्यालयले जोड दिनुपर्दछ। 

यस विश्वविद्यालयको आफ्नै विशिष्टता र पहिचान छ। त्यसलाई जोगाउँदै आफूलाई अरू विश्वविद्यालयभन्दा फरक र विशिष्ट हुने गरी शैक्षिक तथा प्राज्ञिक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ। यस क्रममा विश्वविद्यालयले नवीनतम प्राविधिक ज्ञान, नयाँ विकास भइरहेका शैक्षिक आयामहरूलाई प्रवर्धन गर्ने तथा समाज र मानव जीवनका लागि उपयोगी विषयहरूमा ध्यान केन्द्रित गर्दै आफ्ना पाठ्यक्रमहरूको निर्माण तथा शैक्षिक कार्यक्रमहरूको सञ्चालन गरी अघि बढ्न उपयुक्त हुन्छ। 

यसै सन्दर्भमा राजर्षिजनक विश्वविद्यालयले आफ्नो १५ वर्षे रणनीतिक योजना तयार गरी सोही आधारमा विश्वविद्यालयको प्राज्ञिक क्रियाकलाप तथा भौतिक संरचनाहरूलाई अगाडि बढाउन खोजेको जानकारी पाउँदा मलाई प्रसन्नताको अनुभूति भएको छ।

यस विश्वविद्यालयले स्थापनाको ५ वर्षको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा यसको सराहना गर्दै सफलताको शुभेच्छा प्रकट गर्दछु, साथै विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि प्राच्य दर्शन विषयमा एम.फिल.को कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारीले विश्वविद्यालय शैक्षिक प्राज्ञिक क्षेत्रमा उल्लेखनीय कार्यमा समर्पित भइरहेको प्रमाणित हुन्छ।

विश्वविद्यालयको आफ्नो जग्गा र भवन नहुँदा पूर्वाधारको अभावमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न गराउन असुविधा भएको हुँदा विश्वविद्यालयले उपयुक्त जग्गाको पहिचान गरी स्वामित्व लिन प्रयासरत रहेको छ, यसमा नेपाल सरकारबाट हुन सक्ने सहयोग विश्वविद्यालयलाई प्राप्त हुने विश्वास दिलाउँछु। वर्तमान सरकार नेपालको संविधानले व्यवस्था गरेबमोजिम निशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न संघीय शिक्षा ऐनको अन्तिम तयारी गरिरहेको छ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope