सुन्दरबजार नगरपालिकाले विपन्न नागरिकको स्वास्थ्य बिमा गरिदिने


लमजुङ, १९ चैत । लमजुङको सुन्दरबजार नगरपालिकाले नगरभित्र रहेका विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ । आयआर्जनका स्राेत नभएका उपचारमा कठीनाइ परिरहेका नागरिकलाई उपचारमा सघाउने र प्रभावकारी रुपमा स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले नगरक्षेत्रका विपन्न परिवारका व्यक्तिलाई नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने निर्णय गरिएको नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

 

नगर प्रमुख कोइरालाका अनुसार उपचारमा कठीनाइ परेर आर्थिक सहायताका लागि नगरपालिकामा धाउनेको संख्या बढ्दो बढेको अवस्थामा उनीहरुलाई उपचारका लागि पाँच÷दश हजार रुपैयाँ दिनुको सट्टा बीमा रकम नगरपालिका आफैँले व्यहोरेर उनीहरुलाई स्वास्थ्य सेवा लिन सहज बनाउने हेतुका साथ नगर कार्यपालिका बैठकमा छलफल र बहसपछि यस्तो निर्णय गरेको हो ।

 

नगर क्षेत्रका नागरिकको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत परिवारमा रहेका पाँचजनाको स्वास्थ्य बीमा वापतको रकम ३ हजार ५०० नगरपालिका आफैँले तिरिदिनेछ । स्वास्थ्य बीमा पश्चात प्रति घरधुरीका पाँच जनासम्म सदस्यले वर्षमा १ लाखसम्मको स्वास्थ्य सेवा लिन सक्नेछन् ।

 

यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षका लागि तीन लाख रुपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले स्वास्थ्य बीमा गरिदिने भएपछि यसै आर्थिक बर्षमा स्वास्थ्य बीमाको लागि निवेदन दिनेको संख्या बढेको छ । यसलाई मध्यनजर गरेर सो रकममा अझै थप गरिने नगर प्रमुख कोइरालाको भनाइ छ । आगामी आर्थिक बर्षमा स्वास्थ्य बीमाको लागि थप रकमको व्यवस्था गरिनेछ ।

 

यसका लागि अहिले आवेदन संकलन भइरहेको छ । प्राप्त आवेदनलाई छानबिन गरी अति विपन्न व्यक्तिहरुको पहिचान गरी उनीहरुको स्वास्थ्य बीमा वापतको रकम नगरपालिका आफेँले बेहोर्ने नगरप्रमुख कोइरालाले बताउनुभयो । आफूले नगर प्रमुख भए लगत्तै स्वास्थ्यको क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका नगर प्रमुख कोइरालाले यस किसिमको कार्यक्रमले नगरपालिका भित्रका विपन्न परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

 

सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलका अनुसार नगरपालिकामा अति गरिब घरधुरी संख्या २२९, मध्यम गरिब २६३ र सामान्य गरिब घरधुरी संख्या १ सय ७२ रहेका छन् । तिनीहरु मध्ये गरिव परिवारलाई मध्यनजर गरेर यस्तो कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । आवश्यकताअनुसार यस रकम बढाउन सकिने र कार्यक्रम प्रभावकारी भएमा आगामी वर्षहरुमा यस कार्यक्रमको बजेटलाई झै बढाइने उनले बताए ।

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope