आरती देवीको हत्या भएको माइती पक्षको आरोप, श्रीमान पक्राउ 


विशाल बस्नेत 

महोत्तरी, १० वैशाख । महोत्तरीको गौशालामा विष सेवनको क्रममा मृत्यु भएको भनिएकी आरती देवीलाई श्रीमानले नै हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । माइती पक्षको उजुरीका आधारमा प्रहरीले उनका श्रीमान उमेश साहलाई आइतबार बिहान पक्राउ गरेको छ ।

 

मलहनिया पोखरी बस्ने उमेशले आत्महत्या दुरूत्साहन गरेको बताउदै परिवारसहितको मिलोमतोमा आफ्नी छोरीलाई  आत्महत्याको नाममा हत्या गरेको मृतकका बुबा वली साहले बताए ।‘अनुहार राम्रो भएन भन्दै मेरी छोरीलाई ज्वाइले दैनिक कुटपिट गरिरहन्थे,’ उनले भने, ‘सबै मिलेर हत्या गरेको नै हामीलाई आशंका छ ।’ 

ज्वाइँ र छोरीको विवाद निकै बढेपछी केही दिन अगाडि वली छोरीको घरमा आएका थिए । वलीको अगाडि नै छोरीलाई कुटपिट गरेको पनि स्थानीय प्रत्यक्षदर्शीले बताए । स्थानीय निरन्जन साहका अनुसार उनीहरुबीच लामो समयदेखि नै झगडा हुँदै आएको थियो । ‘झगडाको कारण वास्तविक थाहा नभए पनि झगडा भइरहन्थ्यो,’ उनले भने ।

 

मृतक आरतीदेविले श्रीमानको दिएको यातनाको बिषयमा पटक–पटक हारगुहारसमेत गरेकी थिइन् । स्थानीय पत्रकारसमेत रहेका निरन्जन साहले भने, ‘उनले झगडा मिलाइदिन र यातनाबाट मुक्त बनाइदिन हामीसगँ दर्जनौँपटक अनुरोध पनि गरेकी थिइन् ।

 

गत मंसिरमा आरतीदेवी बहिनीको विवाहमा जनकपुरस्थित बेलामा गएकी थिइन् । घरमा बस्दा श्रीमान र सासुको यातना भोगिरहेकी आरती २ महिनाजति माइतमा नै बसिन् ।

 

घर फर्केपछि यही विषयलाई लिएर श्रीमान र सासुले यातना दिन सुरु गरेको उनले टेलिफोनमार्फत आफ्नो भाइ र बुबालाई सुनाउदै आएकी माइतीपक्षको भनाइ छ । 

 

भाइ गोविन्द साहका अनुसार दिदी आरतीलाई सवैभन्दा बढी यातना सासु र नन्दले पनि दिने गरेका थिए । घटना भएको दुई दिन अगाडि आरतीकी नन्द आशा कुमारी साह घरवाट आएकी थिइन् । उनी आएकै समयमा विष खुवाएर आफ्नी छोरीको हत्या गरेको आरतीका हजुरबुबा बुझाउन साहले बताए । 

 

मृतक आरतीको शवलाई बर्दिबासस्थित इलाका प्रहरीले मुचुल्का गरेको छ । उता गौशाला इलाका प्रहरी कार्यालयले भने घटना वादविवादवाट सुरु भए पनि अन्य विषयमा भने अनुसन्धान भइरहेको  जनाएको छ ।

 

मृतकका जेठाजु विनोद साहले घरझगडा भए पनि माइत पक्षले आरोप लगाएजस्तो नभएको जिकीर गरे । ‘उनीहरुको झगडा हुन्थ्यो । तर, आरोप लगाएजस्तो भने हैन,’ उनले भने । 

 

के भन्छन् चिकित्सक ?

 

उपचारको लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा ल्याइपु¥याएका आरती साहको उपचारको क्रममा नै मृत्यु भएको थियो । ‘आरतीलाई ल्याउँदा उनको श्वास चले पनि ब्लड प्रेसर शून्य थियो,’ उपचारमा सग्लन चिकित्सक डा. सन्तोष यादवले भने , ‘ल्याउनेबित्तिकै उपचार सुरु गरेको र उपचार सुरु गरेको १५ मिनेटभित्र नै उनको मृत्यु भयो । 

 

मृतक आरतीले मुसाको विष सेवन गरेको हुनसक्ने उनको अनुमान छ । ‘पोष्टमार्टमपछि थप कुरा खुल्ला । तर, हामीले ज्यानको निलडामको विषयमा खासै याद गरेनाैँ,’ उनले भने ।

 

आरतीलाई उनकै श्रीमान उमेश साहले अस्पताल ल्याएको पनि अस्पताल प्रशासनले जनाएको छ । ‘उनका श्रीमान उपचारकै क्रममा पनि निकै आत्तिएका थिए । उनी रोइरहेका थिए, चिच्याउदै थिए,’ अस्पतालका व्यवस्थापक शम्भुप्रसाद साहले भने ।

मृतक आरतीका तीन वर्षकी छोरी र ९ वर्षीय छोरा छन् । मृतकका श्रीमानलाई हिरासतमा नै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope