रबी लामिछाने र स्वर्णिम वाग्लेको जित सुनिश्चित, अब हुन्छ के ?

तनहुँ र चितवनमा क्रमशः स्वर्णिम वाग्ले र रबी लामिछानेको जित भारी मतले हुने देखिएको छ । सुरुवाती नै सोचे भन्दा सुन्दर र आसलाग्दो भएको धेरै मतदाताहरूको प्रतिक्रिया छ । “यो हुनु नै थियो, भयो, अब हुन्छ,” खुसीले पुलकित हुँदै चितवनवासी रमेश अर्याल भन्छन्। “देशलाई लुट्नु जति लुटे तिनीहरूले जसलाई हामीले शङ्काको सुविधा दिई राख्यौँ। अति भएपछिको परिणाम हो यो । ” तर यो चोटि रबी लामिछाने र स्वर्णिम वाग्लेको मत परिणाम भनेको पुराना दलले गरेको ‘घटिया’ राजनीतिको बदला नभएर साँच्चै सक्षम र ऊर्जाशील व्यक्तिको राजनीतिमा प्रवेश भएको भन्ने उनको ठम्याई छ । जनताले ‘गोबर’ र “गणेश” छुट्ट्याएका छन् , उनी भन्छन् । “तर त्यसो भनेर मैले कुनै पनि व्यक्तिलाई भगवानको दर्जा दिन खोजेको होइन । भोलि वाग्ले र लामिछानेले पनि गरेनन् भने तिनीहरूलाई अझ ठुलो सजाय हुन्छ । यद्यपि उनीहरू यो मूलकका लागि आसलाग्दा व्यक्ति भने पक्कै हुन् । ”
त्यसै गरी वाग्लेको तनहुँ उति नै प्रशंसा गरेका छन् उनका मतदाताहरूले । “वाग्लेलाई चिन्न नसक्नु भनेको नेपाली काँग्रेसको विलय हुँदै जानु हो,” नाम नभन्ने सर्तमा उनी बताउँछन् । उनी पहिले नेपाली काङ्ग्रेसकै सदस्य भएर काम गरेका रहेछन् अहिले त्यहाँको विकृति देखेर पार्टी छोडेर स्वर्णिम वाग्लेकै पक्षमा आफ्ना कुराहरू सुनाउँदै थिए । “यो चोटि तनहुँमा परेका मत ८० प्रतिशत जति नेपाली काङ्ग्रेसबाटै आएका हुन्,” उनले भने । “अब काँग्रेस सकियो बेलैमा बुद्धि पुर्याएन भने । अर्को चोटिको निर्वाचनमा यही ताल हो भने अहिलेका ठुला पार्टी भनाउँदाको अस्तित्व नै नामेट हुनेछ। लेखेर राख्नुहोस् । ”
“एउटा आधि आएको छ आसाको। हेरौँ के हुनेछ। म चाहन्छु एक चोटि संसद्मा दुई तिहाइ नै राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवेश होस् र हेरौँ देशलाई ५/१० वर्षमा कहाँ पुर्याउंदा रहेछन् ।,” स्वर्णिम वाग्लेलाई मत हालेर घरतिर जाँदै गरेका जीवन गैरेले बताए ।
“कति सम्म गरे त भन्नुहोस् न यिनीहरूले हामीलाई?” उनले उल्टै प्रश्न गरे । “यी फटाहा होइनन् त ? कति डाँटे हामीलाई? यसो गर्छु र उसो गर्छु तर आफ्नै मात्र भुँडी भरे, नाता वाद र कृपावाद अनि भ्रष्टाचारले देश नै खर्लप्प खाए। अहिले पनि पो भाषण गर्दा यो र त्यो मन्त्री बनाउँछौ भन्छन्। लाज पचेका नकचराहरू”
“एउटा कुरा चैँ गज्जब लाग्यो स्वतन्त्र पार्टीको जब उनीहरूले भने ‘हामी देश बनाउँछौ भन्छौ उनीहरू मन्त्री बनाउँछु भन्छन्’ त्यसले मेरो मन छोयो,” उनले थपे अलिक भावुक हुँदै ।
धेरै मतदाताको धारणा उही थियो । “वाग्ले र लामिछानेको जित निश्चित छ,” उनीहरूको भनाई थियो। “अब के हुन्छ हेर्न बाँकी छ तर यी गद्दार नेताहरू भन्दा यिनीहरूमा भने हाम्रो धेरै आस छ। किनकि यिनीहरूमा ऊर्जा छ, प्यासन छ, र देखिरहेछौ बोलेका कुरा गरिरहेछन । हेर्नोस् न वाग्लेको अन्तर्राष्ट्रिय पहिचान र क्षमता र अध्ययन ? अनि त्यस्तोलाई नाचिने यो देश कहिल्यै बन्ने वाला छैन। ”
त्यैबिचमा अर्काले थपे, “अबको राजनीति भनेको युवा, ऊर्जाशील र क्षमता भएका व्यक्तिको हो, बुढा खडा, हिजो जेल बसेका र अहिले ऊर्जा सकिएका, नातावाद र कृपा वाद अनि भ्रष्टाचारमा लागेका को होइन । यो संयन्त्र नै पुरै फेर्नुपर्छ। अब पनि नफेरे पछुताउनु पर्छ । ”
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस