खोटाङका स्थानीय तहमा जनसंख्या घट्दै, छैन बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रम


खोटाङ, १ असार । खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ । तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा जिल्लाका १० वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको हो । नागरिकलाई गाउँमै अडेर बसाउने र बसाइँसराइ रोक्ने नीति तथा कार्यक्रमको अभावमा हरेक स्थानीय तहको जनसंख्या घटेको हो । 

 

जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी खोटेहाङ गाउँपालिकाको जनसंख्या घटेको पाइएको छ । राष्ट्रिय जनगणना २०६८ को तुलनामा खोटेहाङ गाउँपालिकामा २५.०४ प्रतिशतले जनसंख्या घटेको तथ्यांक कार्यालयले जनाएको छ । २०६८ मा २२ हजार ४७४ जनसंख्या रहेको खोटेहाङको जनसंख्या २०७८ मा १६ हजार ८४६ मा झरेको छ । यस्तै, १० वर्षको अन्तरालमा जन्तेढुंगा गाउँपालिकाको जनसंख्या २२.२० प्रतिशतले घटेको छ । २०६८ मा १५ हजार ४४४ जनसंख्या रहेको जन्तेढुंगामा २०७८ मा १२ हजार १६ जनसंख्या गणना भएको छ । बराहपोखरी गाउँपालिकामा २० प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १४ हजार ३४९ जनसंख्या रहेको बराहपोखरीमा २०७८ मा ११ हजार ३९७ जनसंख्या देखिएको छ । 

 

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको जनसंख्या १९.१८ प्रतिशतले घटेको छ । २०६८ मा २० हजार १७५ जनसंख्या रहेको दिप्रुङ चुईचुम्माको जनसंख्या २०७८ मा १६ हजार ३०५ मा झरेको छ । ऐसेलुखर्क गाउँपालिकामा १७.८९ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १६ हजार ९७ जनसंख्या रहेको ऐसेलुखर्कमा २०७८ मा १३ हजार २१७ जनसंख्या कायम देखिएको छ । साकेला गाउँपालिकाको जनसंख्या १७ प्रतिशतले घटेको छ । २०६८ मा ११ हजार ५९४ जनसंख्या रहेको साकेलामा २०७८ मा ९ हजार ६२३ जनसंख्या गणनामा आएको तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महतोले जानकारी दिए । 

 

रावाबेँसी गाउँपालिकामा १६.२३ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ मा १३ हजार ३६९ जनसंख्या रहेको रावाबेँसीमा २०७८ मा ११ हजार १९९ जनसंख्या देखिएको छ । केपिलासगढी गाउँपालिकामा १३.४५ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालमा १५ हजार २८८ जनसंख्या रहेको केपिलासगढीको जनसंख्या २०७८ मा १३ हजार २३१ मा झरेको छ । 

 

हलेसी तुवाचुङ नगरपालिकाको जनसंख्या ८.३१ प्रतिशतले घटेको छ । २०६८ मा २९ हजार ५३२ जनसंख्या रहेको हलेसी तुवाचुङमा २०७८ मा २७ हजार ७८ जनसंख्य गणनामा आएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८.३० प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालमा ४६ हजार ९०३ जनसंख्या रहेको दिक्तेल रुपाकोट मझुवागढीमा २०७८ मा ४३ हजार ८ जना जनसंख्या देखिएको तथ्यांक कार्यालयले जानकारी दिएको छ । बसाइँसराइ रोक्ने योजना ल्याउन नसके गाउँ रित्तिदै जाने खतरा देखिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । 

 

समग्र खोटाङमा १५.०३ प्रतिशतले जनसंख्या घटेको छ । २०६८ सालको जनगणनामा २ लाख ६ हजार ३१२ जनसंख्या रहेको जिल्लामा २०७८ मा १ लाख ७५ हजार २९८ जनसंख्या गणना गरिएको छ । जिल्लामा महिलाको जनसंख्या ८८ हजार ६६१ र पुरुषको जनसंख्या ८६ हजार ६३७ रहेको छ । २०६८ मा ४२ हजार ६४७ घर परिवार रहेको जिल्लामा २०७८ मा घर परिवार संख्या ४१ हजार ७५० रहेको पाइएको छ ।  


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope