आईटीमा भ्याली भ्यु स्कुलका दिक्षान्तको अद‍्भुत क्षमता : १५ वर्षको उमेरमै बनाए कुरा गर्न मिल्ने ‘गफजीपीटी’


काठमाडौं- भनिन्छ, हुने बिरुवाको चिल्लो पात। काठमाडौंको मध्य-बानेश्वरस्थित भ्याली भ्यू स्कुलका दिक्षान्त पाण्डेले उक्त भनाइलाई चरितार्थ गरिदिएका छन्। भर्खरै माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर नतिजाको पर्खाइमा रहेका दिक्षान्त अहिले १५ वर्षका भए। तर, उनको आइटी क्षेत्रमा प्राप्त सफलता अद्भुत छ। दिक्षान्त गफजीपीटी नामक स्मार्ट च्याटबोर्ट बनाउन सफल भएका छन्। उक्त एपका माध्यमबाट सजिलोसँग कुराकानी गर्न सकिन्छ। कुनै प्रश्न गर्दा गफजीपीटीले त्यसको प्रतिउत्तर तुरुन्तै दिन्छ।

यस्तै खाले एप च्याटजीपीटी छ। तर, उक्त एपलाई नै टक्कर दिने गरी दिक्षान्तले उस्तै प्रकृतिको च्याटबोट गफजीपीटी बनाएका हुन्। आर्टिफिसियल इन्टेलीजेन्सका माध्यमबाट यो एप चल्ने गर्छ। गफजीपीटीले एआई र प्राकृतिक भाषा प्रशोधन (एनएलपी) प्रविधिको प्रयोग गरी प्रयोगकर्तासँग सजिलोसँग कुराकानी गर्छ। विभिन्न भाषामा प्रयोगकर्तासँग कुराकानी गर्नसक्ने यसको प्रमुख उद्देश्य भनेको प्रयोगकर्तालाई बौद्धिक सहयोग गर्दै सूचना र ज्ञानको दायरा बनाउनु हो।

‘यसले प्रयोगकर्ताका प्रत्येक प्रश्नको उत्तर सहजै र तार्किक रूपमा दिन्छ। एप निर्माणको उदेश्य पनि यही हो,’ चैतन्यसँग कुरा गर्दै उनले हामीलाई यस सम्बन्धी सबै जानकारी दिए। गफजीपीटीमा सफलता प्राप्त भएपछि उनी दङ्गदास छन्।

दिक्षान्तले सात कक्षा पढ्दै गर्दा कोरोना महामारीका कारण लकडाउन भयो। त्यही बीचमा उनी आठ कक्षामा पुगे। आठ कक्षाको कम्युटर बुकमा प्रोग्रामिङ ल्याङग्वेज थियो, एसटी एमएल, सिएसएस। त्यो सिक्दासिक्दै आइटीका विविध पाटाका बारेमा उनी इन्टरनेटका माध्यमबाट गुगल चहार्न थाले। पाइथन नामक उच्च प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्दै पनि गए। त्यसै समयमा भ्याली भ्यु स्कुलले आफ्ना विद्यार्थीहरूको सिप विकासका लागि डिजी कोर्स लागु गरेपछि दीक्षान्त जस्ता आईटीमा अभिरुचि भएका विद्यार्थीहरूले सिक्ने मौका पाए। दिक्षान्त पनि उत्साहित भएर अझ गहिरो अनुसन्धान गर्दै गए।

उनले घरमा बुबालाई पनि आईटीको कोर्स सिक्ने इच्छा व्यक्त गरे ! छोराको रुचि बुझेका उनका बुबाले छोराको आग्रहलाई नकारेनन्। दिक्षान्तले आइटीसम्बन्धी अनलाइन कोर्स पढ्ने मौका पाए।

कक्षा ९ मा पुगेपछि लकडाउन पनि खुल्यो। विद्यालयले आइटीका क्षेत्रमा विभिन्न कार्यक्रम गर्न थाल्यो। त्यसले उनको यात्रामा थप सहज भयो। १० कक्षामा पढ्दापढ्दै उनले औपचारिक रूपमा ठुलो सफलताका साथ चर्चा कमाए। आईटीका क्षेत्रमा नेपालकै सबैभन्दा महत्त्वपूर्ण मानिएको प्रदर्शनीमा उनले आफूले बनाएको पाइथन भ्वाइस असिस्टेन्ट प्रस्तुत गर्ने मौका पाए।उक्त विशाल प्रदर्शनीमा विद्यालय तहका अनुसन्धानकर्ता दिक्षान्त मात्रै थिए । त्यस प्रतिस्पर्धामा उनले जुरी मेन्सन आईटी अवार्ड हात पार्न सफल भए। विद्यालय र परिवारको साथ र हौसला पाउँदा अहिले आफू यो स्थानमा पुगेको उनी बताउँछन्।

उनी गत चैत्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका थिए। ओपन एआईले निर्माण गरेको एआई च्याटबोट च्याटजीपीटीले विश्वभर प्रयोगकर्तालाई आकर्षित गरिरहेको कुराले दिक्षान्तलाई पनि तान्यो। उमेर सानै भए पनि प्रविधिप्रतिको आकर्षण भने धेरै माथि छ दिक्षान्तको। उनी च्याटजीपीटीका विभिन्न पक्षको प्रयोग गर्न थाले। त्यस प्रयोगले दिक्षान्तको हुटहुटी बढेर गयो। उनले सोही प्रकृतिको एआई च्याटबोट बनाउन सक्ने सोच बनाए। फुर्सदिलो समयलाई दिक्षान्तले गफजीपीटीको निर्माणमा खर्चिए। एआई र यसको निर्माणबारे विभिन्न किसिमका अनलाइन तालिम लिए। उनको ज्ञान र सिपमा निखार आउँदै गयो।

तालिमको क्रममा सिकेका कुरा र आफ्नै स्वअनुसन्धानलाई निखार्दै एआईबारे ज्ञान बटुल्दै दिक्षान्त च्याटबोट निर्माणमा जुटे। उनलाई नाम के राख्ने भन्ने कुरामा अन्योल सिर्जना भयो। बजारमा च्याटजिपीले निकै लोकप्रियता हासिल गरिरहेकाले त्यही नामलाई नेपालीकरण गरेर नाम दिए, ‘गफजीपीटी’।

गफजीपीटीको कोडिङ लगायत सबै काम दिक्षान्त आफैँले गरेका हुन्। उनलाई आर्थिक रूपमा भने बुबाले सहयोग गरिरहेका छन्। गफजीपीटीलाई अहिलेसम्म चार सयभन्दा बढीले प्रयोग गरिरहेको दिक्षान्त बताउँछन्।

‘अहिले पनि म परीक्षणकै चरणमा छु। यसको निर्माण भने पूरा भइसकेको छ। तर, यसको विश्वसनीयताका आधार खोज्दै थप काम गरिरहेको छु। यसलाई विश्वसनीय र सान्दर्भिक मनाउन म सधैँ अग्रसर रहने छु,’ उनी भन्छन्। गफजीपीटीले अहिले सन् २०२१ सम्मका सूचनामात्रै आफ्ना प्रयोगकर्तालाई दिइरहेको उनले बताए।

‘अङ्ग्रेजीबाहेकका भाषामा पनि यसको समस्या छ। तर, यसलाई आगामी दिनमा भाषागत र सान्दर्भिकताका हिसाबले पनि अब्बल बनाउँदै लैजाने छु,’ उनले भने। यसलाई लगइनमार्फत प्रयोग गर्न मिल्ने बनाउने उनले बताए। ‘पाइथन भ्वाइस असिस्टेन्ट’ (आवाजमार्फत विभिन्न किसिमका सहयोग प्रदान गर्ने), ‘च्याट हिस्ट्री’ (पहिले गरिएका च्याट हेर्न मिल्ने) लगायतका सुविधा थप्ने उनको भनाइ छ। अहिले यसमा १० हजार लेटरसम्मको उत्तर दिन सक्ने क्षमता रहेको उनको भनाइ छ।

गत वर्ष नेपालको प्राविधिक क्षेत्रको सबैभन्दा ठूलो आईसीटी अवार्ड २०२२ अन्तर्गत ‘ज्युरी मेन्सन आईसीटी अवार्ड २०२२’ को उपाधि जित्न सफल हुँदा उनी प्रोजेक्ट पाइथन भ्वाइस असिस्टेन्ट राइजिङ स्टार इनोभेसन आईसीटी अवार्ड २०२२को लागि शीर्ष १२ फाइनलमध्ये एकको रूपमा उनी छनोट भएका थिए। यस्ता अवार्डबाट आफूलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो लगावलाई अझ निखार्न मदत पुगेको उनले बताए। अहिले दिक्षान्तलाई विभिन्न आईटी कम्पनीहरूले पनि चासोका साथ हेर्न थालेका छन्। कतिले त उनलाई आफ्नो कम्पनीसँग जोडिएर काम गर्न अफर पनि गरिरहेका छन्। भविष्यमा सूचना प्रविधिको क्षेत्रमा नेपाललाई विश्वसामु चिनाउने लक्ष्य रहेको उनी बताउँछन्।

भ्याली भ्यु स्कुलका प्रिन्सिपल सुभाषचन्द्र भण्डारी पनि आफ्ना विद्यार्थीको सफलता देखेर औधी खुसी छन्। आफ्नो अभिरुचिको क्षेत्रमा उत्साहित र लगनशील बालक दिक्षान्त सबै बालबालिकाका लागि प्रेरणाका स्रोत भएको दाबी गर्दै भण्डारीले दिक्षान्तको सिर्जनशीलताको खुलेर प्रशंसा गर्दै भने, “प्रतिभाको कुनै साँध र बाँध हुँदैन। १५ वर्षका दिक्षान्तले प्राप्त गरेको यो सफलता सामान्य होइन। बालबालिकाले अभिभावक, विद्यालय र समुदायबाट हौसला र प्रेरणा पाउने हो भने विभिन्न विषय र विधामा दीक्षान्त जस्ता लाखौँ प्रतिभा जन्मिन सक्छन्।”


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope