राहत भन्दा पहिला राष्ट्रपति र मन्त्रीकाे लस्कर पुगे पछि बारेकोटबासी आक्रोशित


हेमन्त केसी
जाजरकोट , २२ कात्तिक ः राष्ट्रपति रामचन्द्र पौडेल हेलिकोप्टरमा सहारामा भूकम्पबाट थिलो थिलो भएको जाजरकोट सदरमुकामसँगै बारेकोट पुगे ।

 

सदरमुकामबाट पठाएको राहत सामग्री अझैँ राम्रोसँग गाउँमा पुग्न नसकेको समयमा राष्ट्रपति राहत भन्दा अगाडी गाउँ पुगेका हुन् ।

 

 
अगुवा ,पछुवा गरेर सदरमुकाम हुँदै बारेकोट पुगेको राष्ट्रपति पौडेलले जनता जनधनको क्षती प्रति दुखी भएको भन्दै सरकारले सबैको घर निर्माण गरिदिने समेत बताए । राष्ट्रपति बारेकोट पुग्दा त्यहाँका सर्बसाधारणले राहत ल्याएर आएको अनुमान लगाएका थिए तर राष्ट्रपति खाली हात भाषण मात्र लिएर भत्किएका संरचना हेर्न बारेकोट पुग्दा यहाँका जनताले हाती आयो , हाती आयो सुस्सा भनेझैँ भएको बताएका छन् । बारेकोट गाउँपालिका–१ रामीडाँडामा भूकम्पको केन्द्र विन्दु रहेको थियो । केही काम गरौँला भनेर आशा लिएर आएका छौँ , हाम्रो भरोसा मान्नुहोस भन्दै आसपासनको पोको सुनाएर फेरी राष्ट्रपति पौडेल काठमाडौँ हुइकिए ।

 

त्यस्तै राष्ट्रपति पौडेलले सदरमुकाम स्थित माथिल्लो थाप्लेमा भत्किएका संरचनाको स्थलगत अनुगमन गरेका थिए । उनले पहिले थाप्ले बास बसेको स्मरण गर्दै यसको पूर्ण निर्माण गर्न सरकारसँग कुरा गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । 

 

जाजरकोट अस्पतालमा बिरामी भेटन गएका राष्ट्रपति पौडेललाई भेरी नगरपालिका १ कि सीतली विकले पहुँचवालाको मात्र बाहिर उपचार भएको भन्दै आलोचना गरेकी थिइन । उनले आफ्नो बुहारी विदेशमा रहेकाले तत्काल फिर्ता ल्याइदिन समेत राष्ट्रपतिसँग आग्रह गरेकी थिइन् । भूकम्पका कारण अर्का मेरुदण्डमा समस्या आएर अस्पतालमा उपचार गरिरहेको नलगाडका बीरबहादुर पुनले समेत आफूलाई पक्षपात गरेर जाजरकोट अस्पतालमै उपचार गर्न बाध्य बनाएको आरोप लगाउदै राष्ट्रपतिसँग गुनासो गरे । अरु भूकम्प पीडितको उपचार बाहिर भएको तर आफ्नो मात्र जिल्ला अस्पतालमा किन गरेको होला भन्दै आफूले बुझन नसकेको उनले राष्ट्रपतिलाई सुनाए । 

राष्ट्रपति पौडेलले बीरबहादुरलाई बाहिर लिएर उपचार गर्ने भन्दै आश्वस्त परे । तर राष्ट्रपति काठमाडौँ पुग्ने समयसम्म बीरबहादुर जाजरकोट अस्पतालको बेडमै उपचाररत छन् । राष्ट्रपति पौडेललाई ल्याएको हेलिकोप्टर अवतरण गर्न भूकम्प पीडितलाई आवासको लागि बनाएको टेन्ट समेत हटाएको थियो ।

 

बारेकोट गाउँपालिकाले ३ हजार पाल माग गरेकोमा हाल सम्म २ हजार थान त्रिपाल पठाएको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले बताए । १ हजार ३०० कम्मल , ४०० थान म्याटिस  बारेकोट पठाएको उनले बताए ।

 

त्यस्तै हिजाे देखि कुशे गाउँपालिकामा पनि हवाइ मार्गबाट केही सामग्री पठाएको छ । जुनिचाँदे गाउँपालिकामा बुधबार मात्र पठाउने कार्ययोजना रहेको छ । जिल्ला स्थित सुरक्षा अधिकारीबाट राहत सामग्रीको बारेमा जानकारी लिन खोज्दा कोही पनि तथ्यांक दिन तयार छैनन् ।

 

राहत सामग्री गाडीमा, मन्त्री तथा नेताहरु हेलिकोप्टरमा जाँदा राहतको सामग्री पुग्न समय लागेको हो । यो भन्दा अगाडी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ , भौतिक पूर्वाधार मन्त्री प्रकास ज्वाला , स्वास्थ्यमन्त्री शेरबहादुर बस्नेत , उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका आउने र जाने गरिरहेका छन् । उर्जामन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट बसेर राहत सामग्री संकलन तथा वितरणको काममा खटिरहेका छन् । त्यस्तै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेत जाजरकोटमै रहेका छन् । मन्त्री देखि राष्ट्रपति सम्म जिल्लामा आउने र जाने भीड लागेपनि भूकम्प पीडित सम्म अझैँ राहत सामग्री पुग्न नसक्दा समस्य उत्पन्न भएको छ । 

 

भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकास घर्तीले आकाशमा हेलिकोप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् । घर्तीले लेखेका छन् , ‘बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर । सम्बिधानले व्यवस्था गरेको स्थानीय बिपद ब्यवस्थापन समितीको अधिकार मिच्न नखोज । ’ उनले थप लेखेका छन् , भेरी नगरपालिकामा ५ हजार त्रिपाल चाहियो । 

 

 


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope