मोचन
Mochan — An action packed Nepali novel on duality of love, life, and relationship between two continents, leading to meditation and resolution
Mochan: पारिजातको 'शिरीषको फूल'लाई प्रस्थानबिन्दु बनाएर न्यून पात्रहरूको उपस्थापनमा जीवन भोगाइका अनेक आयाम अभिरेखित यो उपन्यासले जीवनका अक्करिला बाटा र सम्बन्धका अनपेक्षित मोडलाई सादृश्य गराउँदै आशा र निराशाजन्य अभिव्यक्ति एकसाथ मुखरित गरेको छ । नेपाल र अमेरिकाको परिवेश र जीवन पद्धतिको रोचक वर्णनले कथानक जीवन्त बनेको मात्र छैन पाठकलाई नयाँ खुराक समेत पस्किएको छ । यो संघर्षशील एक पात्रको यस्तो जीवनयात्राको आलेख हो जसले पाठकलाई पात्रसँगै सानिध्य गराउँछ; दुःखि बनाउँछ, खुसि बनाउँछ, हँसाउँछ र रुवाउँछ पनि ।
जीवनदर्शन, ध्यान, योग र अध्यात्मका अलावा वैवाहिक र विवाहेत्तर रतिराग र प्रेम प्रणयको चित्ताकर्षक वर्णन मूलतः वयस्क पाठकलाई अझ बढी अर्थपूर्ण र उपयोगी छ । कथानकको संरचना र प्रस्तुतीले पाठकलाई यसरी लट्ठ्याउँछ कि उपन्यास समाप्त नहुँदासम्म पाठकले न परिणामको आँकलन गर्न सक्छ न पठनलाई विश्राम नै दिन सक्छ ।यस उपन्यासमा एक पुरुष पात्रको प्रेम, माया र सम्बन्धको अन्तरङुग प्रस्तुत छ । पारिवारिक उत्साहका साथ विवाह गरेर ल्याइएकी श्रीमतीसँग सम्बन्धको बढुदो टकराब र चिसोपनले ऊ पारपाचुके नै नगरी अलग्गिन्छ र अर्कै युवतीसँग विवाह गर्छ ।
स्थापित सम्बन्धको बिग्रह र नयाँ सम्बन्धको थालनीबीचको दुर्दान्त पीडा, मानसिक तनाव, जिजीविषा, विजिगीषा र प्राप्त ज्ञान 'इपिफेनी' नै यो उपन्यासको कथ्य हो । उक्त पात्रले सहजताबाट असहजतातर्फ, अपरिपक्वताबाट परिपक्वतातर्फ, प्रेम–घृणा–प्रेमबाट प्रगाढ र प्रेमिल सम्बन्धतर्फ, भौतिकताबाट अध्यात्मतर्फ र देखिएको जीवनबाट भोगिएको जीवनतर्फको यात्रा गरेको छ । प्रेम र आत्मीय सम्बन्ध साँचो अर्थमा के हो ? यसलाई आत्मसात गर्न नसक्ता जीवन कसरी क्षतबिक्षत हुन्छ ? उपन्यास दृष्टान्त छ ।भावना, घृणा र संवेदनाको अन्तर्य प्लावित यस उपन्यासले अस्तित्ववादी चिन्तन र शून्यवादी दर्शनको छनकका साथ सम्बन्धको उच्चता र गहिराइको मर्मलाई अत्यन्त मार्मिक ढङगले प्रस्तुत गरेको छ ।