महामारीबाटै सिर्जित भएका जात्रा–पर्वहरू

२९ चैत्र २०७६, शनिबार ०२:१५

काठमाडौं–करिब पन्ध्र सय वर्ष अघि नै हाम्रो समाजमा अनेकौ महामारीहरु फैलिएको किवंदन्ती छ।  विज्ञान प्रविधियुक्त समाजमा एउटा महामारी पररास्त गर्न कठिन भइरहेको बेला त्यतिबेलाको समाजमा महमारीफैलँदा कसरी उपचार गरिए होला ? कन्दमुल खाएर हुर्किएको मानव जातिमा आधुनिक कालसम्म आइपुग्दा अनेक किसिमका महामारी देखिनु चुनौतिपूर्ण रहेको इतिहासविद् तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।  लामो अन्तरालको फरकमा देखा पर्ने यस्ता जटिल महामारीविरुद्ध लड्न विश्व मानव समुदायलाई जोखिम परिरहेको उनको भनाई छ।  उनले यस्तो महामारीसँग समाज र ऐतिहासिक सांस्कृतिक पर्व–पक्षहरु जोडिएको बताए।  उनका अनुसार मुलुकभर मनाइने ठूल्ठूला जात्रा पर्वहरू यी यस्तै महामारीबाट सिर्जित भएका हुन्।  

वर्तमान समय विज्ञान प्रविधियुक्त मानिएतापनि हजारौं वर्ष पहिले मानिसरूसँग यस्ता महामारी निको पार्ने वैज्ञानिक ओखती थिएनन्।  त्यतिबेला महामारी रोक्न धर्म र संस्कृतिलाई नै मानिसहरूले ओखतीका रुपमा प्रयोग गरेको पाइन्छ।  उपत्यकाको प्रख्यात विस्केट जात्रा, इन्द्र जात्रा, रातो मच्छिन्द्रनाथ जात्रा, देवी नाच, कात्तिक नाचजस्ता पर्वहरू महामारी रोक्नको लागि सुरु गरिएको किवंदन्ती रहेको संस्कृतिविद् श्रेष्ठको भनाई छ।  उनी भन्छन्, ‘महामारी रोकथाममा लागि मध्य र प्राचीन कालमा उपत्यकामा विभिन्न जात्राहरू सिर्जित भएका थिए।  ती जात्राको इतिहास र किवंदन्ती खोज्दै जादा महामारीको उपचारमा जोडिएको पाइयो, नियन्त्रण गर्न नसकिने महामारी रोक्नको लागि मानिसहरू धर्म र संस्कृति प्रयोग गर्छन्, त्यसैबाट नयाँ परम्परा थालनी पनि गर्छन। ’

उनका अनुसार इन्द्र जात्राको क्रममा मनाइने नानिचा जात्रा पनि बालबालिकामा रुन्चे रोग लागेपछि निको पार्न सुरु गरिएको थियो।  करिब १२ सय वर्ष पहिले उपत्यकाका नेवार समुदायका बालबालिकाहरु अज्ञात रोग (रुन्चे रोग) का कारण रुन कराउन थालेपछि स्थानीयवासीले यो जात्रा सुरु गरेका थिए। श्रेष्ठकै भनाई अनुसार हाल विश्वमा फैलिरहेको कोरोना भाइरस आधुनिक रोगको भाइरस भएतापनि मध्य र प्राचीन समयमा पर्ने आपत्ति विपत्ति भने बेग्लै हुन्थ्यो।  कहिले पानी नपर्ने, कहिले भोकभरी लाग्ने, कहिले खडेरी पर्ने, अज्ञात रोगबाट मानिस र पशुपंक्षिको मृत्यु हुनेजस्ता जटिल महामारीहरु हुन्थे।  त्यस्ता महामारी रोक्न तत्कालीन समाजले धर्म र संस्कृतिलाई प्रयोग गरेको पाइन्छ।  श्रेष्ठले यस्तो रोगविरुद्ध सारा मानव जाती नै एक हुनु सुखद रहेकोले महामारीले विश्व बन्धुत्वको भावना सिर्जना गरिहेको बताए।  ‘यसले विश्व समाजमा ठूलो अर्थ राखेको छ, अन्र्तराष्ट्रियवादको महत्व बढाएको छ, हामीकहाँ मनाइने जात्रा पर्वको मुलमर्म भनेको सहकाल नै होस् हो, त्यसकारण यस्तो महामारीपछि विश्वको एकताको सुत्रमा बाधिन्छ तर महामारी फैलनु आफैमा दुखद कुरा हो,’ उनले भने।  

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव गोविन्द टण्डनले संसारमा विज्ञान प्रविधि र प्रयोगशालाहरू प्रयोगमा आएको झन्डै ८० वर्ष हाराहारी भएको बताए।  उनले उक्त समयभन्दा अघिका मानिसहरूले परम्परा र धार्मिक अस्त्र प्रयोग गरेर महामारी रोक्ने गरेको किंवदन्तीहरू भेटिएको बताए।  ‘कुनै महामारीसँग जुध्न र त्यसको निवारणको लागि दैवलाई पुजा अर्चना गर्ने, महायज्ञ चलाउने, ढुंगामा पूजा गर्ने, मुर्ति बनाउने, त्यसको नाममा नयाँ पर्व सुरु गर्ने, वलि दिनेजस्ता कार्यहरु हुन्थे, वर्तमान विज्ञानले भने यी कुरालाई मान्दैन, तर मानव सभ्यतालाई कोट्याउँदा तल्कालीन समयका मानिसहरू महामारी रोक्न संस्कृति र धर्मको बढी प्रयोग गरेको हुन्थे,’ उनले भने।  

उनका अनुसार त्यतिबेला बालबालिकाहरूमा कुनै रोग देखा परे सरस्वती र देवीको पूजा गरिन्थ्यो।  मल्ल र शासनकालमा पनि नेपालमा महामारीजन्य रोगहरु फैलिएका थिए।  ‘वर्तमान विश्व विज्ञान प्रविधिमा पोख्त भइसकेको छ, तर यस्तो महामारीको रुपमा देखा पर्ने रोगहरु विज्ञानले नियन्त्रण गर्न नसकिने भएपछ धार्मिक र सांस्कृतिक पक्षमा ध्यान दिने चलन छ,’ उनले भने, ‘मानिस आस्तिक हुनु राम्रो हो।  अस्तिमात्रै भारतमा पनि दिप प्रज्वलन गरियो।  भुकम्पको बेला हामीकहाँ दिप प्रज्वलन गरिएको थियो, ठूला विपत्तिहरु नदोहोरियोस् भनेर पूजा अर्चना गर्नु धार्मिक दृष्टिकोणले उपयुक्त मानिन्छ। ’

 उनका अनुसार हिन्दु समाजमा मृत व्यक्तिको आत्मशान्ति, देशको एकता र सामाजिक सदभावको लागि दियो वत्ति बाल्नु राम्रो मानिन्छ।  ‘अन्तिममा मानिसलाई चाहिने भनेको इश्वर नै रहेछन्, आफूले सिर्जना गरेको विज्ञानले नियन्त्रण गर्न नसकेपछि मानिसहरु निरिह हुन्छन्, अनि मठ मन्दिर र देवी देवालयमा पुजा अर्चना गर्न पुग्छन्,’ पूर्व सदस्यसचिव टण्डनले भने।  उनका अनुसार धार्मिक मुलुकहरुले कोरोना भाइरस नबल्झियोस् भन्नका लागि कोरोना देवी भनेर पिठ स्थापना गर्न सक्ने देखिन्छ।  यसअघि पनि कुनै घटना भइसकेपछि देवीको पीठ बनाउने चलन रहेको उनको भनाई छ।  उनले यस्तो परम्परा हिन्दु समाजमा बढी भएकोले धार्मिक र सांस्कृतिक पक्षमा यसलाई राम्रो मानिने बताए।  

आफू सय वर्षको हुँदासम्म यसरी घरभित्रै बस्नेगरी संसारभर कुनै महामारी नफैलिएको अनुभव सुनाउँदै शताब्दि पुरुष सत्यमोहन जोशीले वि.स २००२ मा भने पाल्पामा मुसाबाट सर्ने मुसेरोग पश्चिम क्षेत्रमा महामारीको रुपमा फैलिएको बताए।  ‘त्यतिबेला पाल्पाका मानिसहरु घरभित्रै बसेका थिए तर यस्तो संसारै लकडाउनमा पर्ने महामारी फैलिएको थिएन,’ उनले भने, ‘तर, उपत्यकाका मुख्य जात्रापर्वको थालनी महामारीजन्य रोगहरुबाट भएको पाइन्छ। ’

संस्कृतिविद् ओम धौबडेलका अनुसार यस्तो महामारी विगतमा नभएका होइनन्।  किंवदन्ती अनुसार नेपाली समाजमा फैलिएका महामारीका चाङ नै भेटिन्छ।  प्राचिन र मध्य कालमा पनि बढी महामारी फैलिएको थियो।  कस्ता माहामारी भनेर लिखित रुपमा भने त्यस्सका प्रमाणहरु भने पाइँदैन।  त्यसका साक्षि हाल मनाइने जात्रा पर्वहरु नै रहेको उनको भनाईछ।  ‘विज्ञान प्रविधिले विश्वलाई साघुँरो बनाइदिएको छ, कहाँ केके भइरहेको छ क्षणभरमै थाहा पाउन सकिन्छ,’ उनले भने, ‘यस्तो प्रविधियुक्त समयमा पनि रोक्न नसकिने महामारी फैलनु विज्ञान जगतको लागि ठूलो चुनौंति हो,’ उनले भने, ‘विज्ञान र प्रविधिले नियन्त्रण गर्न नसकिने भएपछि महामारी रोक्न अहिलेका मानिसहरु धर्म र संस्कृति प्रयोग गर्र्छन्। ’ कुनै प्राकृतिक वा मानव निर्मित आपत्ति प¥यो भने आध्यात्मिक शक्तिमा मान्छेको ध्यान जाने उनले बताए।  धौबडेलमा अनुसार मल्ल कालमा उपत्यकामा एउटा त्यस्तै माहामारी फैलिएको थियो।  जसका कारण काठमाडौंका एक तिहाई मानिसले ज्यान गुमाएका थिए।  त्यतिबेलाको किंवदन्तीलाई उल्लेख गर्दै धौबडेलले भने, ‘मल्ल कालमा काठमाडौंका जनताले मलामासको बेला दशै मनाएका थिए, जसका कारण तत्कालीन राजा भास्कर मल्लसँगै एकतिहाई मानिसले ज्यान गुमाएका थिए।  भक्तपुर र पाटनका जनताले मलामासमा दशै नमनाएका कारण कसैको ज्यान नगएपनि कान्तिपुरले ठूलो क्षति व्यहोर्नु परेको थियो। ’ उनका अनुसार शाह कालमा पनि यस्ताखाले महामारी फैलिएको थियो।  जसका कारण उपत्यकामा धेरै पशुपंक्षिको मृत्यु र मानिसमा पनि खटिरा आउने रोग फैलिएको थियो।

त्यस्तै, विस २०१८ शालमा पृथ्वी उल्टन्छ भन्ने हल्ला फैलिएपछि नौ ग्रहको शान्ति पुजा गरिएको थियो।  सरकारले नै  त्यस्तो नहोस् भनेर ठाउँ ठाउँमा महायज्ञ सञ्चालन गरेको थियो।  दोलखा भिमसेन मन्दिरसँग पनि एउटा धार्मिक मान्यता र विश्वास जोडिँदै आएको छ।  भिमसेनलाई पसिना आयो भने पुजा गर्नुपर्ने मान्यता छ।  पसिना आएपछि कपासले पसिना पुछेर दरबारमा बुझाएपछि दरबारका पुजारीले पुजापाठ गर्छन।  त्यसपछि पसिना आउन रोकिन्छ।  ‘अहिलेको समयमा आधुनिकता र मौलिकता दुवै कुराको महत्व रहन्छ,’ उनले भने, ‘यूरोपजस्ता मुलुकहरुमा आधुनिकता मात्रै छ।  हामीकहाँ आध्यात्मीक शक्ति पनि छ, त्यसकारण अरु भन्दा हामी फरक छौं। ’  उनका अनुसार नयाँ वर्षको बेला भक्तपुरमा मनाइने विस्केट जात्रा सामान्य पूजाआजा गरी मनाइने छ।  रातो मच्छिन्द्रनाथ जात्रा पनि स्थगन गरिएको छ।  भीडभाडलाई ख्याल राख्दै जात्रा नमनाइने भएको हो। (सम्पुर्ण साभार : नागरिक)

लेखक: शिवहरि घिमिरे

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.