बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या अमेरिकापछि दोस्रो सूचीमा

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) को सुरुवाती महामारीमा स्पेन र इटली तहसनहस भएको खबर आएको थियो । त्यो गति अमेरिकामा तिब्र रुपमा बढ्यो र मृत्यु र संक्रमित हुनेको सूचीमा पहिलो स्थानमा पुग्यो । अहिले बेलायतले समेत स्पेन, इटलीलाई पछि पारेको छ । अहिले बेलायत कोरोना भाइरसबाट ज्यान गुमाउँने मुलुकको दोस्रो सूचीमा पुगेको छ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार नाघेको छ।
योसँगै अमेरिकामा ७६ हजार ९ सय २८ जनाको निधन भएपछि धेरै मृत्यु हुने सूचीको माथिल्लो स्थानमा छ । ३० हजार ६ सय १५ जनाको ज्यान गएपछि बेलायत मृत्यु हुनेको संख्याको आधारमा सूचीको दोस्रो स्थानमा छ । विगत २४ घण्टामा विश्वमा साढे पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै एकै दिन ९६ हजार २ सय ६१ नयाँ विरामी थपिएका छन्। त्यस्तै विश्वमा १३ लाख ४१ हजार २२ जना निको भएका छन् भने ३९ लाख १३ हजार ६ सय ४३ जनामा संक्रमण भेटिएको छ।
अमेरिकामा २४ घण्टामा २ हजार १ सय २९ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ। त्यस्तै त्यहाँ थप २९ हजार पाँच सय ३१ जना नयाँ संक्रमित रहेका छन्। अमेरिकामा संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २३ छ। हालसम्म अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ भने २ लाख १७ हजार निको भएका छन्। त्यहाँ १६ हजार ९ सय ९५ जनाको अवस्था अझै गम्भीर रहेको छ। युरोपेली देश बेलायतमा ३० हजार ६ सय १५ जनाको ज्यान गइसकेको छ भने त्यहाँ २ लाख ६ हजार ७ सय १५ कोरोना संक्रमित भेटिएका छन्।
इटालीमा २९ हजार ९ सय ५८ को ज्यान गएको छ भने त्यहाँ २ लाख १५ हजार ८ सय ५८ जनामा संक्रमण छ। स्पेनमा २ लाख ५६ हजार संक्रममित हुँदा २६ हजार ७० को मृत्यु भइसकेको छ। त्यस्तै फ्रान्समा २५ हजारको ज्यान गएको छ भने ब्राजिलमा ९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै बेल्जियममा ८ हजार चार सय १५ को मृत्यु भएको। जर्मनीमा ७ हजार ३ सय ९२ को ज्यान गएको छ। छिमेकी देश भारतमा संक्रमितको संख्या ५६ हजार पुगेको छ भने त्यहाँ १ हजार ८ सय ८९ जनाको ज्यान गएको छ। तीव्र रुपमा फैलिरहेको यो भाइरसका कारण रुसमा एकै दिन ११ हजार भन्दा बढी संक्रमित भेटिएका छन्।
त्यहाँ हालसम्म १ हजार ६ सय २५जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ। यसैबीच पाकिस्तानमा २४ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ५ सय ८५ जनाको ज्यान गएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने महामारीबीच भालिदेखि लकडाउन खोल्ने घोषणा गरेका छन्। लकडाउनका कारण झन गरिबी बढ्ने भन्दै उनले लकडाउन खोल्ने घोषण गरेका हुन्।
साभार: जनबोली
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस