लकडाउन झन् कडा हुने भो

काठमाडौँ । गृह मन्त्रालयले बिहीबार काठमाडौँ, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, मेयरहरू, प्रहरी अधिकारीहरूसँग छलफल गरेर शुक्रबारदेखि लकडाउन कडा बनाउने निष्कर्ष निकालेको छ । सरकारले ५३ दिनदेखि लगातार गरिरहेको जारी लकडाउनलाई अझै कडाइ गर्ने भएको हो । यसैबीच गृह मन्त्रालयले ‘लकडाउन कडा बनाउनू’ भनी सबै जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ ।
सरकारले यसअघि जारी गरेका सबै पास गृहमन्त्रालयले आजदेखि लागु हुनेगरि रद्ध गरिसकेको छ । ‘अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि दिइएका पासहरु आजदेखि खारेज भएका छन् । अब नयाँ तरिकाले पास लिनुपर्नेछ,’ गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले भने, ‘अब गृहको निर्णयबिना एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइँदैन ।’
अधिकारीका अनुसार अब बिरामी भएका व्यक्ति र मृत्यु संस्कारमा जाने बाहेकका काममा एउटा जिल्लाबाट अर्को जिल्ला जान पाइनेछैन । एउटा जिल्लाबाट अर्को जिल्लामा जानबाट रोक्नैका लागि झन्झटिलो प्रक्रिया बनाइएको गृहको भनाइ छ । उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि शुक्रबारदेखि लकडाउन कडाइ गर्न लागिएको हो ।
बैठकमा सहभागी एक प्रमुख जिल्ला अधिकारीका अनुसार भोलिदेखि आवातजावातको चेकिङमा थप कडाइ गरिनेछ। ‘चेकिङ कडा गर्ने, उपत्यका भित्रनेरबाहिरिने नाकाहरूमा थप कडाइ गरेर जाने भन्ने निष्कर्षमा हामी पुगेका हौं,’ बैठकमा सहभागी ती प्रजिअले भने। कोरोनाविरूद्ध लडाइँमा सबै एकजुट भएर जाने पनि छलफल भएको उनले बताए ।
बैठकमा सहभागी मेयरहरूले भित्री सडकमा पनि चेकमा कडाइ गर्न सुझाव दिएका थिए । गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ । जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ । यसअघि सरकारले खोल्ने भनेका ४२ उद्योगका बारेमा पनि पुनर्विचार गर्न मेयरहरूले बैठकमा आग्रह गरेका थिए । नेपालमा अहिलेसम्म कोरोनाबाट दुई सय ४६ जना संक्रमित छन्। काठमाडौं, भक्तपुरमा कोरोनाका संक्रमित देखिएका छन्।
साभार: जनबोली
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस