सांसद अपहरण प्रकरणमा प्रहरी प्रतिवेदन– अपहरण पुष्टि हुँदैन

काठमाडौँ — पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दलका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठले महोत्तरीबाट समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई काठमाडौं ल्याएको घटनालाई ‘अपहरण’ भन्न नमिल्ने निष्कर्षमा प्रहरी पुगेको छ ।

महानगरिय प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा उक्त जाहेरीमाथि अनुसन्धान हुँदा अपहरण तथा शरिर बन्धकको कसुर पुष्टि नहुने भएकाले मुद्दा चलाउन नपर्ने राय रहेको स्रोतले बतायो ।
‘हामीकहाँ आज प्रतिवेदन आइपुगेको छ, त्यसलाई अध्ययन गर्नुपर्यो, अनि मात्रै के हुन्छ भन्न सकिन्छ,’ सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख हरि रेग्मीले कान्तिपुरसित भने, ‘अध्ययन गर्न बढीमा १/२ दिन लाग्ला । अनि मात्रै केही भन्न सकिन्छ ।’ उनले फाईल अध्ययन नभइसकेको भन्दै प्रहरी प्रतिवेदनमा के छ भन्नेकुरा आफूलाई थाहा नभएको बताए ।
सहन्यायाधीवक्ता रेग्मीको भनाईमा, प्रहरी प्रतिवेदनमा अनुसन्धान गर्नुपर्ने कुनै पाटो छुटेको रहेछ भने सरकारी वकिलले थप निर्देशन दिएर प्रतिवेदन ल्याउन आदेश गर्न सक्नेछ । प्रतिवेदनमा चित्त बुझाएमा त्यसैअनुसार निर्णय गर्नसमेत सक्नेछ । मुद्दा चल्ने निर्णय भएमा जाहेरीमा नाम किटिएकाहरु पक्राउ पर्ने अवस्था हुन्थ्यो । मुद्दा नचल्ने निर्णय भएमा भने तह तह हुँदै महान्यायाधीवक्ताले जिल्लाको निर्णय सदर गर्नुपर्छ ।
स्रोतका अनुसार, प्रतिवेदनमा समाजवादी दलका सांसद डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट उठाएर काठमाडौं ल्याएको नभई उनी राजीखुसी आएको देखिएकाले अपहरणको आरोप पुष्टि नहुने उल्लेख छ । ‘सरसर्ती राय हेर्दा जबर्जस्ती अनि बल प्रयोग भएको दावी प्रमाणसहित पुष्टि नभएकाले अपहरण भन्न नमिल्ने भन्ने निष्कर्ष छ,’ प्रतिवेदनवारे स्रोतले भन्यो, ‘त्यसैलाई सदर गर्ने सम्भावना बढी देख्छु, हदै भए फेरि अनुसन्धान गर्नु भनेर एकपटक निर्देशनसम्म होला ।’
महानगरिय प्रहरी परिसर काठमाडौंले पनि सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन ।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीका सांसदलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा समाजवादी पार्टी फुटाउन अपहरण गरी काठमाडौं ल्याइएको सार्वजनिक गरेका थिए । प्रहरीमा उजुरी दर्ता गर्न खोज्दा महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिएको थिएन । सरकारी वकिलको कार्यालयले पनि जाहेरी नलिएपछि समाजवादी र राजपा मिलेर बनेको नयाँ पार्टी जनता समाजवादीका नेताहरुले मानवअधिकार आयोगमा उजुरी दिएका थिए । त्यसपछि भने सरकारी वकिलले उनीहरुको उजुरी दर्ता गरेर प्रहरीमा पठाएको थियो ।
आफूहरुलाई अपहरणको आरोप लगाएर मानहानी गरकेको भन्दै बस्नेत, खनाल र श्रेष्ठले पनि उजुरी दर्ता गराएका छन् ।
(Copied from Kantipur)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस