रोकिएन बलात्कार

काठमाडौं- लकडाउनको समय दु्ई महिनादेखि सबै मानिसहरु घरभित्रै छन्। तर यस अवधिमा पनि बलात्कार र बलात्कार प्रयासका घटनाहरु रोकिएका छैनन्।
सामान्य अवस्थाको जस्तै लकडाउनको अवधिमा पनि बलात्कार र बलात्कार प्रयासका घटनाहरु बढिरहेको पाइएको छ।
नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउनको दुई महिनाको अवधिमा दुई सयभन्दा बढी बलात्कारका घटना दर्ता भएका छन्। यस अवधिमा ५० बढी बलात्कार प्रयासका घटना दर्ता छन्।
प्रहरीको तथ्यांकअनुसार लकडाउन सुरु भएको चैत ११ गतेदेखि जेठ ३ गतेसम्म देशभर बलात्कारका १ सय ९२ मुद्दा दर्ता भएका छन्। यस अवधिका बलात्कार प्रयासका ४३ मुद्दा दर्ता छन्।
त्यसयताको समयमा पनि दिनहुँ ४–५ वटा बलत्कारका समाचार मिडियामा आइरहेका छन्। यसले पनि लकडाउनको अवधिमा बलात्कार बलात्कार प्रयासका घटना नरोकिएको देखाएको छ।
चालू आर्थिक वर्षका आठ महिनामा बलात्कारका १ हजार ४ सय २९ र बलात्कार प्रयासका ४ सय ५९ घटना प्रहरीमा दर्ता भएका थिए। यो संख्यालाई आधार मान्दा औषतमा प्रत्येक दिन बलात्कारका ६ र बलात्कार प्रयासका २ घटना हुने गरेको देखिन्छ।
लकडाउनको अवधिमा सबैभन्दा धेरै ४२ बलात्कारका घटना प्रदेश ५ मा दर्ता भएका छन्। बलात्कार प्रयासका ११ घट्ना प्रदेश ३ मा दर्ता भएका छन्।
प्रदेश ५ पछि प्रदेश २ मा ३३ तथा प्रदेश १ मा ३० बलात्कारका घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बाग्मती प्रदेशमा २४, कर्णालीमा १९ र सुदूरपश्चिममा १७, गण्डकी प्रदेशमा १४ तथा उपत्यकामा १३ बलात्कारका घटना दर्ता भएका छन्।
लकडाउनको अवधिमा अधिकांश बलात्कारका घटना चिनजान र आफन्तबाटै भैरहेको प्रहरीले जनाएको छ।
‘लकडाउनको समयमा अरु अपराधिक घटनाहरुमा निकै कमी आए पनि बलात्कारका घटनामा कमी आउन सकेको छैन’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज बहादुर शाहीले भने, ‘नजिकको आफन्त तथा चिनजानकै बाट बलात्कार भैरहेको छ।’
यस अवधिमा संचारमाध्यममा आइरहेका बलात्कारका घटनाहरुको प्रकृति हेर्दा ‘मर्निङ वाक’ मा निस्केको बेला, जंगलमा गाई बाख्रा चराउन गएको बेला तथा लकडाउनले एक्लो भएको मौका छोपेर बढी बलात्कार भैरहेको पाइएको छ।
लकडाउनको बेला एक ठाउँबाट अर्को ठाउँमा पुर्याईदिने तथा समस्या परेकोलाई सहयोग गर्ने बहानमा पनि बलात्कारका घटना भएका छन्। यस अवधिमा परिस्थितीजन्य अवस्थाको फाइदा उठाउँदै बलात्कार गर्नेहरु बढी सक्रिय बनेका छन्।
पहिले पहिले बेइजत हुने डरले बलात्कार जस्तो गम्भीर अपराध पनि सहेरै बस्ने प्रचलन रहेकोमा पछिल्लो पटक न्यायका लागि पीडितहरु राज्यका निकायसम्म पुग्न थालेका छन्।
प्रवक्ता शाही प्रहरीमाथि नागरिकको विश्वास बढ्दै जानुका साथै अन्याय सहेर बस्न हुन्न भन्ने चेतनाको विकासले गर्दा प्रहरीमा उजुरी गर्नेको संख्या बढिरहेको बताउछन्।
लकडाउनको अवधिका प्रहरीमा परेका उजुरीमध्ये बलात्कार तेस्रोमा पर्दछ। पहिलोमा आत्महत्या र दोस्रोमा घरेलु हिंसाका निवेदन दर्ता भएका छन्।
(Copied from Nepal Samaya)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस