कोरोनाबाट मुक्त हुन सकिँदैन, अब के गर्ने ?

१३ जेष्ठ २०७७, मंगलवार ०६:३०

नेपाल काँतरहरुको देश होइनथ्यो। तर, अहिले थुरथुर कामिरहेको छ।

‘लौ अब नेपाल इटाली र न्युयोर्क हुँदैछ।’ ‘सरकार परीक्षण बढाऊ नत्र भयावह हुन्छ ।’ ‘यहाँ भुँसभित्रको आगोजस्तै सल्किरहेको छ ।’ ‘परीक्षणको दायरा बढाएकाले ह्वात्तै संख्या बढेको हो ।

यीआर्तनादहरु अखबारका ‘ब्रेकिङ्ग न्यूज’ का आधारशlला हुन्। यस्तै समाचार पढेर काठमाडौं थुरथुर कामेको छ र सरकार गदगद हाँसेको छ । काम गर्नु छैन लकडाउन गरे भइहाल्छ।

तर, यो आत्तिनुपर्ने अवस्था होइन।शुरुमा केही साना शहर र केही जातीय तथा धार्मिक समुदायमा खतरा देखिए । तर, समुदायको सचेतता र जागरुकताले कम खतरामय भइसके। जमातीहरु तितर वितर भइसकेका छन्। तथापि अधिकांश मामलाहरु आयातीत नै छन्।

यस्ता आयातीत मामलाहरु कताबाट आउँदैछन् स्पष्ट थियो। तर, यसमा सरकार असम्वेदनशील र विवेकहीन भयो। सुनौली र बाँके बर्दियाका नाकामा आइपुगेका नेपालीहरुलाई भित्र्याउनुको सट्टा यसले विश्व स्वास्थ्य संघको सर्कुलर देखायो। अन्तत ५ नम्वर प्रदेश संक्रमितहरुको समूहले भरियो।केही संक्रमितहरुको स्रोत पत्ता लगाउन यौनकर्मीहरुबीच ट्रेसिङ्ग गर्नुपर्ने हुन सक्छ। यदि “भित्रभित्रै भुसभित्रको आगोजस्तै सल्किरहेको छ“ भने यही भूमिगत क्षेत्रमा सल्केको हुन सक्छ

सरकारले यसलाई भाइरसको संक्रमणमात्र वुझ्यो, महामारीहो भनेर बुझेन। यसलाई समयमै व्यवस्थापन गर्न नसक्दा भोकमरी,  मानवीय कोलाहल र आर्थिक मन्दीजस्ता संकटहरु आउने तहमा हेर्नै सकेन। सरकारले संक्रमणको टाउको गन्न थाल्यो किनकि त्यो सँग महामारी बुझ्ने दृष्टि थिएन, दृष्टि नहुँदा दिशाविहीन बाटो हिड्यो। दृष्टि र दिशा बेगर संकल्प नहुनु स्वाभाविक नै थियो।

यी सबैको परिणति हो– अहिलेको हाहाकार र त्रास। जसलाई क्लिनिकल चिकित्सकहरु, यिनीहरुको सूचनामा समाचार उत्पादन गर्ने मिडियाहरु र लकडाउन बढाएर दिउँसै घुरिरहेको सरकारबीचका अप्रत्यक्ष गठवन्धनले उछालिरहेको छ। यसैको परिणामआज हरेक व्यक्तिहरु ‘आफूबाहेक अर्को व्यक्तिले कोरोना बोकेको छ र त्यसले मलाई सार्न आक्रमण गर्न मौका ढुक्दैछ’ भन्ने ठान्दै थरथरी कामिरहेका छन्।

तर, नेपालको अवस्था भयावह हुने छैन, यसबारे मेरा यसअघिका सबैजसो लेखहरुमा तथ्य पेश गरिसकेको छु। तथापि हाल केही सन्देहहरु उठेका छन् तीबारे स्पष्ट गर्नु आवश्यक भएको छ।

विश्वको कोलाहलबीच नेपालमा केही भएकै छैन

नेपालमा भयावह र आतङ्क मचाउनेहरुलाई पछ्याउने हो भने निजी नर्सिङ्ग होममा कार्यरत विशेषज्ञ र सरकारको नेतृत्वका विछ्यौनामा पुगेर नाडी छाम्नेहरुकहाँ पुगिन्छ। त्रासका संचारक यिनै हुन्।

नेपाल चीन र भारतबीचको तरुल हो। मैले भारत–नेपाल भारण्ड चरो हुन् भनेको थिए। यो कथन महामारीका लागि सत्य सावित भएको छ। चीन उत्पत्तिस्थल र भारत हालको संक्रमणको इपिसेन्टर। यी दुईको बाछिटाले नेपाल पुरै डुव्नुपर्ने थियो । तर, नेपालको संक्रमण अति नै नगन्य छ। यसलाई बुझाउन विश्वका शहर तथा मुलुकहरुको विभिन्न अनलाइनबाट लिइएको तथ्याङ्क यस्तो छ-

मुलुकजनसङ्ख्याजम्मा केस (बिरामी)मृत्युमृत्युदर (प्रति १० लाख जनसङ्ख्यामा)
पोर्चुगल (लकडाउन गरिएको)१ करोड १ लाख३०,६२३१,३१६१२९
स्वीडेन (सीमाभित्र लकडाउन नगरिएको)१ करोड २ लाख३३,४५९३,९९८३९६
न्युयोर्क८ करोड १७ लाख ३,७१,१९३२९,२३१ १,५०३
इटाली६ करोड ४७ लाख२,२९,८५८३२,७८५ ५४२
नेपाल२ करोड ९० लाख६८२०.१
आप्रवासी नेपाली (जेठ ११सम्म) १२२०० ११७ 

यस तालिकामा विकसित युरोपका मुलुक स्वीडेन तथा पोर्चुगल र भयावह चित्रण गर्न उहाहरण दिइने इटाली तथा न्युयोर्कका तथ्याङ्क दिइएको छ। ती तथ्याङ्कले नेपाल इटाली तथा न्युयोर्क जस्तो “भयावह” को स्तर तथा डिग्रीमा पुगेको बुझाउँदैन।

यसले कैयन “विज्ञ”हरु “यदि” र “तर” भन्दै “अवस्था भयावह” हुन सक्ने उटपट्याङ्ग कुरालाई पुष्टि गर्दैन। हो, नेपालको भौगोलिक र सामाजिक तथा सांस्कृतिक वातावरण भाइरस संचारणलाई ब्रेक गर्न काफी थियो। तर, नेपाल सरकारले भारतसँगको खुला सीमाको आवागमनलाई व्यवस्थित गर्न सकेन।

कोमल भट्टराई

“भयावह” कसैलाई घर साङला देखेर नै लाग्न सक्छ । तर, आफूलाई विद् र विज्ञ दावी गर्नेहरुले विश्व महामारीमा भयावहको अर्थ बुझ्नुपर्छ। यति नबुझ्ने “भयावहवादीहरु”विज्ञ” भएर समाजमा सूचना दिन उभिनु हुँदैन। ती कथित विज्ञहरुले “भयावह” किन हुनेछ सकारण पुष्टि गरुन् । नत्र तिनीहरुले समाजमा आतङ्कपुर्ण अफवाह फैलाएकोमा ‘कारवाही’ भोग्न तयार हुनुपर्छ।

हरकोही सचेत वर्गले भाइरसका संक्रमित र मृतकको टाउको गन्दा अन्य असंक्रामक रोग, अपरिभाषित समस्या भोगिरहेका र तीबाट मृत्यु भएकाको टाउको गन्नुपर्छ र समस्याको नापजोख गर्नुपर्छ। यसरी नाप्न थालेपछि “भयावह” के कारणले उव्जनेछ, भयावह कस्तो हो सो बुझ्न सकिनेछ।

विज्ञहरुका अध्ययन, अनुसन्धान र मत/निष्कर्ष वास्तविक सूचना र तथ्याङ्कका आधारमा हुनु पर्छ। राजनीतिक गफाडिले कथा, कथ्य र उखानबाट कुतर्क पसारे जसरी वैज्ञानिक निष्कर्ष निस्कदैन,  आफ्ना पूर्वाग्रहलाई पुष्टि गर्न मिल्दैन र त्यस्तो छुट हुँदैन।

अधिकांश मामलाहरु आयातीत हुन्

मइ १० मा संक्रमित संख्या ७९ रहेकोमा त्यसपछिका दुई हप्तामा ६८२ पुगेको छ। तर, कति आयातित हुन् र कति स्थानीय संक्रमित हुन् भन्ने सूचना गरिदैनन्। संक्रमितहरुको उमेर, लिङ्ग र ठेगानामात्र सूचना दिने गरिँदा दुईचार पटक पुष्टि संख्या दोहोरिएका छन्।

ठेगाना स्थायी र अस्थायी भएका कारणले काठमाडौंमा रहेका संक्रमितलाई दाङमा खोज्नुपर्ने अवस्था भएको छ। नुवाकोट ठेगाना भएका कारण “नुवाकोटमा संक्रमित फेला परे” भनेर समाचार आएका छन्। दल बदलु ऐनमा “र” र “वा” ले आनका तान फरक ल्याएको बुझियो भने “नुवाकोटमा” र “नुवाकोटका” ले पनि फरक बुझाउँछ भन्ने बुझ्नुपर्छ। यसरी कुनै क्वारेन्टाइनमा पुष्टि भएका संक्रमितको सूचना दिइँदा ‘विभिन्न जिल्लामा संक्रमण फैलिएको’ सन्देश पुगेको छ र त्यसले गर्दा संक्रमितले पाइला नटेकेका टोल र समुदाय आतङ्कित बन्न पुगेका छन्।

केही मामलाहरुका स्रोत खुलेका छैनन्। प्रहरी,  धनकुटा र इटहरीका मामलाहरु लुकेका छन्। जसरी जमाति समूहका यात्रा विवरणबारे सरकार र मिडियाले खोतले यी मामलाहरुमा पस्न चाहेनन्। मुस्लिम जमातिको यात्रा विवरणबारे भारतीय हिन्दू शासकको पनि स्वार्थ भएको कुरा मैले पहिलाको आलेखमा उठाइसकेको छु।

 केही संक्रमितहरुको स्रोत पत्ता लगाउन यौनकर्मीहरुबीच ट्रेसिङ्ग गर्नुपर्ने हुन सक्छ। यदि “भित्रभित्रै भुसभित्रको आगोजस्तै सल्किरहेको छ” भने यही भूमिगत क्षेत्रमा सल्केको हुन सक्छ।

संक्रमण भूसभित्र आगो जस्तै सल्किएको छैन

केही स्रोत नखुलेका संक्रमणहरुले यौनकर्मी क्षेत्रमा ट्रेसिङ्ग गर्नुपर्ने कुरा संकेत गरे पनि नेपालको संक्रमण प्रसार समुदायस्तरमा पुगेको छैन। संक्रमितका घरपरिवारमा एकाध दुई र क्वारेन्टाइन स्थलबाटमात्र उल्लेखनीय संक्रमित संख्या फेला परेका छन्।

यसैबीच भूसभित्रको आगो थाहा पाइने गरी आरडीटी र पीसीआर भएका छन्। ती परीक्षणहरु उद्देश्यमूलक रुपमा गरिएको थिएन र दवाव समूहको दवावमा गरिएका थिए। ती कुनै खास वर्गहरु लक्षित पनि थिएनन् तर परीक्षण नेपालका उच्च, मध्यम र निम्न वर्गबीच हुन पुगे। जसमा सरकारका सम्पूर्ण अङ्गका पदासीनहरु, दलका उच्च नेताहरु र सभासदहरु, पहुँच भएका पत्रकारहरुबीच पीसीआर परीक्षण गरियो भने कालिमाटीका तरकारी विक्रेताहरु तथा महानगरपालिकाका फोहरमैला उठाउने निरिह प्राणीहरुबीच आरडिटी परीक्षण गरिएको थियो।

जो बढी जोखिममा छ त्यस वर्गबीच आरडीटी र कम जोखिममा रहेकाबीच पीसीआर गरियो। वर्गीय समाज हो। वर्गहरुमा यस्ता सुविधा र परीक्षणहरुमा विभेद भइहाल्छन्। जे सुकै होस्– यी ३ वर्गहरुमा गरिएका परीक्षणहरुबाट कोही पनि संक्रमित देखिएनन्। यसले संक्रमण भित्रभित्रै भूसभित्रको आगो जस्तै सल्किरहेको छैन भन्ने पुष्टि गरिदिएको छ।

संक्रमितको संख्या थपिएको टेस्टको दायरा बढाएर होइन

हाल संख्या थपिनुमा कतिपय टेस्टको दायरा बढाएर होइन। अहिले देखिएका संक्रमितहरु बाँके, कपिलवस्तु, रुपन्देही विरगञ्ज/रौतहट र झापाका क्वारेन्टाइन स्थलहरुमा रहेकाका हुन्। जुन भारतबाट प्रवेश गरेका नेपालीहरु हुन्। ती सबै आयातीत हुन्।

यसरी नै नेपालका मध्यपहाडमा देखिएका संक्रमितहरु समेत भारतबाट आयातीत नै हुन्। नेपालमा सबभन्दा बढी पीसीआर परीक्षण गर्न सक्षम भनिएको कर्णालीमा समेत आयातीत नै फेला परेका हुन्। यसले दायरा बढाउनासाथ संक्रमित भेटिने होइन भन्ने प्रष्ट पारेको छ। जबकि सरकारले शुरुमा त्यही क्षेत्रलाई जोखिम क्षेत्र मानेको थियो। सरकारको त्यहाँ एचआइभी संक्रमण जस्तै कोभिड–१९ भित्रिन्छन् भन्ने पूर्वाग्रही निष्कर्ष थियो, जुन गलत सावित भयो।

लकडाउनलाई राजनैतिक हतकण्डा बनाउँदा कृषि क्षेत्रलाई अपुरणीय क्षति भयो

सरकारले विनातयारी नै लकडाउनको घोषणा गर्‍यो। देशव्यापी लकडाउन संक्रमणको शूरुवातमा एक प्रभावकारी रोकथाम–उपाय हो (माथिको तालिकामा दिइएको स्वेडन र पोर्चुगलको प्रवृत्तिले लकडाउन शुरुवाती चरणमा मात्र प्रभावकारी किन भयो कौतुहलता जगाउन सक्छ। यसबारे सरकार र विदहरुको ध्यान जाओस्)।देशव्यापी लकडाउनले शुरुवातिदिनमा परीक्षण र सेवाहरुको बन्दोवस्ति गर्ने समय दिन्थ्यो। नेपालको सीमाभित्र पसिसकेका भाइरसबाहकलाई परीक्षणको घेराभित्र ल्यायो र सीमा बाहिरबाट पसेकाहरुलाई क्वारेन्टाइनमा हुल्दै संक्रमितलाई आइसोलेसनमा पुर्‍यायो। मे महिनासम्म संक्रमणलाई काबूमा राख्‍न सक्यो।

चौथो संस्करणमा आइपुग्दा देशव्यापी लकडाउन नै संक्रमणको प्रसार र अन्य महामारीको विस्तारको कारण बन्न पुग्यो। जसरी लकडाउनलाई भारतीय हिन्दू सरकारले मुस्लीम र अन्य प्रतिष्पर्धी दलका विरुद्ध प्रयोग गर्‍यो, त्यसरी नै ओली सरकारले आफ्नै दलका प्रतिष्पर्धिहरुका विरुद्ध भरपुर उपयोग गर्‍यो।

लकडाउनलाई सीमा क्षेत्रमा र शहरमा खुम्च्याएर राख्‍नुपर्ने थियो तर चौथो संस्करणको देशव्यापी लकडाउनले श्रमिक नेपाली युवाहरुलाई सीमानामा रोक्यो। यसो हुँदा-

प्रथमतः लुकिछिपी फर्कनेहरुका कारण स्थानीयमा संक्रमण फैलने अवस्था बन्यो।

दोस्रो, नेपालका सीमापार र सीमावर्तिका अव्यवस्थित क्वारेन्टाइनका कारण संक्रमितको संख्या ह्वात्तै बढ्यो।

तेस्रो, यसले ६ दिनको बाटो म्याद र १४ दिने क्वारेन्टाइन अवधि रहनु पर्दा युवा जनशक्तिलाई मानो रोपेर मुरी फलाउने समयमा गाउँमा पुग्न रोक्यो।यसको परिणाम खेतिपातिका लागि विउविजन देखि अन्य तयारी गर्न नदिएर कृषि क्षेत्रमा ठूलै क्षति हुने अवस्था बनाइदियो।

जे सुकै होस्– सरकारले अब देशव्यापी लकडाउनलाई निरन्तरता दिन सक्दैन। सीमामा अड्किएका र भारतको आम यातायात खुलेका कारण भारतबाट फर्कने नेपालीहरुको भेलले सरकारको लकडाउनको तगारो भताभुङ्ग पार्नेछन्। यस भेलले समुदायमा संक्रमणका संख्याहरु आयात हुनेछन् र थप त्रासदी र कोलाहल मच्चिने निश्चित छ।

यसर्थ, समुदायका अगुवाहरु खास गरी नेकपा, काँग्रेस र समाजवादी पार्टिका कार्यकर्ताहरुले यस भेललाई सम्हाल्न तयार भएर बस्नुपर्छ। जिम्मेवार सञ्चारगृह र सकारात्मक सोचका पत्रकारहरुले जनतालाई धैर्य रहनका लागि सूचना प्रवाह गर्नुपर्छ।

समुदाय अब कोरोनासँगसँगै बाँच्न तयार हुनैपर्छ

अधिकांश भाइरसका खोप छैनन् र औषधिहरु छैनन्। यसको पनि छैन। बरु यस्को मृत्युदर र प्रसारण दर अन्यको भन्दा कम भएको भनिँदैछ। यसका संक्रमितहरुमध्ये ९० प्रतिशतलाई खासै  उपचार आवश्यक छैन र ५ प्रतिशतलाई सामान्य उपचार चाहिने भनिएको छ।

हालका अध्ययनहरुले एशिया र अफ्रिकी मुलुकहरुमा संक्रमणको स्वास्थ्य असर कम भएको देखाएका छन्। नेपालमा दश लाखमा ०.१ प्रतिशतको मात्र मृत्यु भएको छ (यद्यपि अध्ययन नमूना उल्लेखनीय छैन)। बरु प्रवासमा नेपालीको बढी संख्या संक्रमित (१२२००) र मृत्यु (११७)भएको छ । तर, सरकारले पुष्टि गरेको छैन।

नेपालमा पुष्टि गरिएका कुनै पनि संक्रमितहरुलाई आम लक्षणहरु देखिएन। कैयन संक्रमितहरुलाई अस्पतालमा रहँदा कुनै पनि औषधिहरु खान परेन। यी कुराहरुलाई स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् र निको भई फर्केकाले स्वीकार गरेका छन्।

एक पत्रकारले केही नर्सिङ सेवा पाए पनि अस्पतालमा चिकित्सकले फोनबाट उपचार गरें भनेर व्यङ्ग्य गरेका छन्। अधिकांश निको भएका त्यसमध्ये कपिलवस्तुकी नर्सले चिकित्सकले राउण्ड नगरेको समेत बताएकी छिन्। रोचक छ कि उनी ४ दिनमा नै निको भइन्। यी तमाम कुराहरुले कोरोना संक्रमण हुँदा पनि अस्पताल बाहिर बाच्न सकिन्छ भन्ने सन्देश दिएका छन्।

हामीले के सम्झिनुपर्छ भने संक्रमितहरुबाट ज्यादै कम संक्रमण भएको देखिएको छ। पहिलो मृतक सुत्केरीबाट उनको नवजात शिशुमा सरेको पाइएन। मदानेका मृतकका संसर्गितहरु नेगेटिभ देखिए। यस्ता कैयन उदाहरण छन्। हालै नरैनापुर, कपिलवस्तु लगायतका संक्रमणहरु क्वारेन्टाइनस्थलका अव्यवस्थापनका कारणहरु मात्र भएका हुन्।

यी तमाम घटनाहरुमा कोभिड–१९ नेपालीका लागि अन्य रुघा मर्की जस्तै भएको छ। यसरी नै विश्वले समेत बुझ्दैछ। हामीले केही कालका लागि ढुक्क हुन संक्रमण स्रोतको मुहान रोक्ने रणनीतिको सहयोग लिनुपर्छ। यो भनेको खासगरी भारत र अन्य अन्तर्राष्ट्रिय सीमामा परीक्षण लगायत क्वारेन्टाइनको व्यवस्था हो।

अब हामीले व्यवहारतः दैनिक दिनचर्याको पुनर्जिवित गर्न कोरोनासँगसँगै बाँच्न तयार हुनैपर्छ। यो काम व्यक्ति व्यक्ति वीच हुने भाइरस आदान प्रदान रोक्ने उपायहरु अपनाएर गर्न सकिन्छ।
खतरा शुन्यमा झर्दैन क्षति न्यूनीकरण अबको रणनीति

लकडाउनको म्याद सकियो र यसबाट नागरिकहरु थाकिसकेका छन्। अब कतिञ्जेल एकले अर्को व्यक्तिलाई आँखा तरेर हिँड्ने वा अर्को व्यक्तिबाट भाग्ने वा घरमा थुनिएर बस्ने ? यसले मानसिक तनाव मात्र दिन्छ नै, कुनै आर्थिक गतिविधिमा संलग्न हुन समेत रोकिरहन्छ। तत्कालै भ्याक्सिन र औषधि नहुनुले खतरा शुन्यमा झर्ने सम्भावना छैन। अब जे जस्तो कठिनाइ आउँछ, बरु भोग्दै बाँचौं। यसका लागि क्षति न्यूनीकरणको रणनीति अख्तियार गरौं।

यो रणनीति लकडाउन रणनीति भन्दा फरक छ। लकडाउनले संक्रमितहरुको चलायमानतालाई ठप्प पारेर संक्रमण प्रसारणलाई रोक्छ। क्षति न्यूनीकरण रणनीतिले संक्रमितहरुको चलायमानतालाई कायम राखे पनि संक्रमित र असंक्रमितबीच भौतिक दुरी र अवरोधक सामग्रीहरुबाट संक्रमण प्रसारणको रोकथाम गर्छ।

क्षति न्यूनीकरण रणनीतिलाई केही महामारीविद्हरुले एचआइभी संक्रमणको शुरुवातीको अवस्था स्मरण गरेर प्रस्तुत गरेका हुन्। सन् १९८१ ताका एचआइभी संक्रमण पुरुष–पुरुषबीचका यौन सहगामीहरुमा संकेन्द्रित थियो। तिनीहरुबीच यौन व्यवहार सुचारु गर्न रोकियो। तर व्यापारीहरुले कण्डमबाट यौन व्यवहारलाई सुरक्षितरुपमा सुचारु गर्न सम्भव भएको प्रचारमा ल्याए। र समयक्रममा रगत, शारीरिक स्रावको आदान प्रदान नहुने सुनिश्चितता आदि उपायहरु यस क्षति न्यूनीकरण रणनीतिमा समावेश गर्दै गए। लागू औषधमा पनि क्षति न्यूनीकरण रणनीति अपनइएको छ। यस्तै अब हामीले पनि कोभिड–१९ को संक्रमण रोक्न यस रणनीतिलाई अख्तियार गर्दै जानुपर्छ र यसमा विभिन्न उपायहरुलाई समावेश गर्दै जानुपर्छ।

अब हामीले भौतिक दूरिलाई कायम गर्न अभ्यास गर्ने हो। भीडभाडमा नगरी उत्सव मनाउने हो। व्यक्तिगत सरसफाइलाई ध्यान दिने हो। यसमा मास्क, सावुनपानीबाट व्यक्तिगत सरसफाइ आदि लगायत पर्दछन्। यिनीहरुको प्रयोगले अन्य कैयन स्वास्थ्य समस्याहरुको पनि रोकथाम हुनेछ।

अब हाम्रो हरेक सूचनाले “कोरोना भाइरसबाट तत्काल मुक्त हुन सकिँदैन, यसकारण यसबाट जोगिने सम्भव उपायहरु अपनाएर बच्ने काम गरौं” भन्ने सन्देश दिनुपर्छ। स्मरण गरौं ! अब हाम्रो सहारा मास्क, एक मिटरको दूरी र सावुन पानी वा स्यानिटाइजर हुनेछन्।

(साभार: अनलाईन खबर)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.