लकडाउनको मोडालिटी परिवर्तन हुने

काठमाडौ । लकडाउनको मोडालिटी परिवर्तन हुनेछ । नागरिकको जनजीवन सहज बनाउँने खालको नयाँ मोडालिटी तयार भएको हो । रक्षा तथा उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले उद्योगधन्दा, शैक्षिक संस्था, बजार पसल तथा बस लगायतका सवारी साधन समेत सुचारु हुन दिनेगरी नयाँ मोडालिटी बनेको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

आज कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले उद्योगी, व्यबसायी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरेर मोडालिटी तयार गरेको हो । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टका अनुसारपनि लकडाउन खुकुलो बनाउने बारे सरकारले अन्तिम तयारी गरेको छ । भोली कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले उक्त मोडालिटी मन्त्रीपरिषद्मा पेश गर्ने तयारी छ । भोली वा पर्सीसम्ममा मन्त्रीपरिषद् बैठक बसेर उक्त मोडालिटी मन्त्रीपरिषद्ले पारित गर्ने तयारी रहेको छ ।
भट्टले मन्त्रालयको तर्फबाट उद्योगधन्दा खोल्नेदेखि लकडाउनलाई कसरी खुकुलो बनाउन सकिन्छ भन्ने बारे आवश्यक गृहकार्य गरेको बताए । अव बस्ने मन्त्रिपरिषद् बैठकमा योजना पेश गरी निर्णय गर्ने तयारी गरेको उनको भनाई छ । उनले नेपाल भारतबीच देखिएको सिमा विवादलाई समाधान गर्ने बारे समेत कुटनीतिक पहल र नेपालसँग भएका प्रमाणहरु समेत जुटाइसकेको दावी गरेका छन् ।
यसैबीच कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजनामाथि कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरोकारवाला निकायहरुसँग छलफल गरेको थियो । मंगलबार सिंहदरबारमा समितिले लकडाउनको मोडालिटीका बारेमा उद्योगी, व्यङकर्स लगाएत बाणिज्य क्षेत्रसंग सरोकार राख्ने निकायसंग छलफल गरेको हो । नागरिकलाई सुरक्षित राख्दै व्यवस्थीत रुपमा अघि बढाउन छलफल गरि सुझाव मागिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।
उनले बिभिन्न क्षेत्रबाट प्राप्त भएका सुझावलाई अध्ययन गरि उपयुक्त मोडालिटि तयार पार्ने बताए । सबै तह र तप्कासँग छलफल गरेर आवश्यक निर्णयमा पुगीने उनको भनाई छ । बन्दाबन्दीको अवस्थालाई सरलिकृत गर्नेमा समिति अघि बढेको बिडारीले बताए । छलफलपछि नेपाल उद्योगबाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जोखिमको अवस्था हेरेर उद्योग संचालन गर्नुपर्नेमा छलफल भएको बताइन् । कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजादै गरिने छलफल भएको उनको भनाई छ ।
छलफलमा सामाजिक कार्य गर्ने संघसंस्था, यातायात व्यवसायी लगाएतको पनि सहभागीता रहेको थियो । ७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ ।
(Copied from Janaboli)
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस