डब्लूएचओका नेपाल प्रतिनिधि यसो भन्छन्

३० जेष्ठ २०७७, शुक्रबार ०५:४४

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिट्टै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिनेसमेत बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाइन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारले कोरोना केसको पहिचान र व्यवस्थित क्वारेन्टाइन बनाउने विषयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । आफ्नो क्षेत्रका प्रत्येक व्यक्तिलाई व्यक्तिगत स्वास्थ्य हेरचाह र सचेतना दिने विषयमा पनि उनीहरूको भूमिकाले उल्लेख्य सहयोग पुर्‍याउने बताए ।

‘नेपालको कोरोना केहीबाहेक समुदायमा फैलिएको अवस्था छैन । समुदायमा जान नदिन महत्त्वपूर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिको बढी हुन्छ । अहिले तत्कालका लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परामर्श दिनु नै मुख्य रहेको छ,’ उनले भने, ‘सानोसानो कामका लागि पनि स्थानीय सरकारले परिवारभित्र पुगेर काम गर्न सक्ने भएकाले उनीहरूको भूमिका ठूलो हुन्छ । त्यसका लागि समुदायसँगको सम्बन्ध गाढा बनाउनुपर्ने हुन्छ । साथै, समुदायको स्वास्थ्य सेवाबाहेक अत्यावश्यक सेवामा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।’

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तर्राष्ट्रिय अभ्यासका बारेमा जानकारी गराउँदै उनले सामाजिक र भौतिक दूरी कायम राख्दै मास्क, स्यानिटाइजर प्रयोग गर्नुका साथै साबुनपानीले हात धुनुपर्नेलगायतका स्वास्थ्य सचेतना फैलाउनुपर्नेमा जोड दिए । उनले नेपालमा समुदायमा गरिने परीक्षण किट अभाव देखिएको, नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार ०.१५ मा मात्रै संक्रमण भएको बताए ।

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डाक्टर टियान विङवीले चीनले जोखिम न्यूनीकरणका लागि गरेको राम्रा अभ्यासबारे जानकारी गराएका थिए । उनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जोखिम नक्सांकन गरी उच्च र निम्न जोखिमको वर्गीकरण गरी परीक्षण बढाउनुका साथै समुदायमा संक्रमण फैलिन नदिने तर्फ कार्यक्रमहरू केन्द्रित गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा स्थानीय सरकारका पदाधिकारीले कोभिड-१९ नियन्त्रणका लागि संघ र प्रदेश सरकारबाट आवश्यक स्वास्थ्य सामग्री तथा बजेट व्यवस्था नगर्दा संक्रमण नियन्त्रणका लागि गर्नुपर्ने तयारीहरू हुन नसकेको गुनासो गरेका थिए ।

कार्यक्रममा संकटमा जनस्वास्थ्यका चुनौती र स्थानीय सरकारका प्राथमिकताबारे छलफल भएको थियो । कार्यक्रममा स्थानीय सरकारका पदाधिकारी तथा त्यहाँ कार्यरत कर्मचारीले जुममार्फत सहभागिता जनाएका थिए ।

(साभार: शिलापत्र)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.