डायरीसँगै डाइपर
सबै आमामा समर्पित:
आमा बन्नु हर विवाहित महिलाको रहर अनि सपना । कसैले चाँडो बच्चा जन्माउँछन् त कसैले ढिलो । अनि कसैको चाहेर पनि बच्चा नभएको अवस्था पनि छँदैछ । आमा बन्नु अघि देखिएका हर सपना सन्तान प्राप्तीपछि पूरा गर्ने कोशिश गर्छन् आमाहरु । उमेर, स्थान र अवस्थाअनुसार जीवनमा धेरै परिवर्तन हुन्छन् । यस्तै आमा भइसकेपछि जिवनमा आउने ठूला परिवर्तन त छँदैछन् त्यो सँगै स–साना परिवर्तनले पूरै जिन्दगी नै परिवर्तन गरिदिन्छ ।
बिहे अघि एकल रुपमा रहँदा र विहेपछीको सन्तान हुनुअघिको समयमा त्यति धेरै परिवर्तन हुदैन जति सन्तानप्राप्ती पछि हुन्छ । म पेशाले पत्रकार । करिब दूई दशक यो क्षेत्रमा बिताइरहेकी छु । सिँगल हुँदा र विहेपछी पनि मैले प्रयोग गर्ने सामानहरु नितान्त मेरा मात्र भए तर आमा भइसकेपछी म सँगै मेरी छोरीका सामानहरुले पनि ठाउँ लिन थाले मेरो जीवनमा । उसले लिने ठाउँ मनमा मात्र नभएर मेरो कोठा, मैले बोक्ने ब्याग हुँदै मेरो बेड सबैमा हुनथाल्यो ।
कहिलेकाँही सोच्छु कति मिठो परिवर्तन यो, अनि कति रमाइलो । पहिले मैले भिर्ने ब्यागमा केही कस्मेटिक सामानसहित सधै डायरी र पेन अटुट हुने गथ्र्यो तर हिजोआज मेरी छोरीको डायपर, वाइप्स उसको निप्पल बोटल अनिवार्य हुनेगर्छ । यस्तै अरु बेला सानो ब्याग लिएर हिड्ने गर्थे भने छोरी भएपछि ठूलो ब्याग लिनु अनिवार्य जस्तै हुनथाल्यो ।
मैले लगाउने कपडा पहिले जस्तो आफनो रोजाईकामात्र भएन् । छोरीलाई दुध खुवाउन मिल्ने कपडा किन्न थाले । हिजोसम्म मेरो मात्र कस्मेटिक सामान हुने मेरो मेकअप टेबुलमा अब मेरी छोरीका गाजल, नेलकट उसका काँटा, काइयो पनि सँगै हुन थाले । मेरा मात्र कपडा हुने दराजमा अब छोरीका सामान, कपडाहरु भरिभराउ भए । मेरो बाथरुममा छोरीको छुट्टै टावेल, उसको स्याम्पु अनि यस्तै यस्तै विविध सामानहरु । घरभरी छोरीका किसिम–किसिमका खेलौनाहरु ।
हिजोसम्म एक्लै जीवनको आनन्द लिइरहेकी मलाई छोरीको आगमनले छुटट्ै आनन्द संगै थप जिम्मेवार बनायो । उसलाई समय अनुसार खाना खुवाउनु, नुवाइधुवाई गरिदिनु, सुताउनु उठाउनु, सबै । जिम्मेवारीसँगै छोरीको लागि एउटी आमाले गर्ने हर कर्तब्य गरिरहेछु । कहिलेकाहीँ सोच्छु । हिजोसम्म डायरी मात्र हुने मेरो झोलामा अब डायरीसँगै डायपरले ठाउँ लिएको छ । कस्तो अद्भुत परिवर्तन यो । सायद मैले जस्तै अनुभूती हर आमाले गर्नुभएको छ होला ।
छोरीको आगमनसँगै उसका सामानहरुले घरमा ठाउँ लिएपछिको खुशी त छँदैछ । त्यो बाहेक यो समय भनेको कठिन समय र हर आमाको परिक्षाको समय हो भन्ने लाग्छ मलाई । एउटा काँचो माटोलाई मूर्तरुप दिनु पक्कै कम चुनौतीपूर्ण छैन । शिशु अवस्थाको बच्चालाई एउटा बयस्क तन्नेरी नागरिक बनाउनुछ ।
घरपरिवार, समाज अनि देशको लागि हर कुरामा स्वस्थ स्फूर्त बनाउनुछ । शारिरिक मात्र हैन मानसिक रुपमा पनि उस्तै अब्बल बनाउनु हामी आमाहरुको कर्तब्य हो । तर यो कर्तब्य निभाईरहँदा आफनो घरपरिवार र त्यहाँको वातावरणले पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ । तर बच्चाको लागि बाबा र घरपरिवार भन्दा पनि आफनो आमाको माया र साथको बढीमात्रामा खाँचो हुनेगर्छ । हामीले सिकाएको एक–एक बोली र ब्यवहारलाई हाम्रा छोराछोरीले छिटो प्रतिक्रिया दिने गर्दछन् । यो त सबै आमाले भोग्नु भएकै छ होला ।
सन्तानको खानपान, बोलिब्यवहार देखि हर कुरामा आमाहरु नै बढी जानकार हुन्छन् । आफनो सन्तानलाई के मनपर्छ के मनपर्देन, कुन कुरालाई उनीहरुका सन्तानले चासो राख्छन् त्यो सबैकुरा एउटी आमाले नै नजिकबाट बुझेकी हुन्छे । त्यसैले त आमाको अगाडी सारा कुरा गौण छन् भनिन्छ । भनाई नै छ नि एउटा सन्तान ‘बाबुको निधन हैन आमाको निधनपछी मात्र टुहुरो हुन्छ ।’ यो भनाई बाट नै हामी आमाहरुको कति महत्व रहेछ भन्ने कुराको अनुमान गर्नसक्छौँ ।
आमा धर्ती हो । आफनो सन्तानका लागि कैयौ त्याग र बलिदान दिएर आमा आमा बनेका हुन्छन् । यो कुरा हर छोराछोरीले बुझन जरुरी छ । जसरी डायरी राख्ने ठाउँ डायपरले लिएको छ अहिले त्यसरी नै हर छोराछोरी आमाले देखेका सपना र सजाएको भोलीको भविष्यमा पनि कब्जा गर्नसकुन । अनिमात्रै हरेक आमाले आफू आमा हुनुमा गर्विलो छाती ढुक्कले फुलाउनेछन् अनि बिर्सनेछन् छोराछोरी हुर्काउँदाका हरेक दुख र कष्ठहरु ।
लेखक परिचय: कृपा भण्डारी समय-समाचार अनलाईन पत्रिकाकी प्रधान सम्पादक हुन्। उनि सँग अहिले १७ महिनाकी छोरी छन।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस