म भाते !


मलाई चौरासी व्यन्जन खाएर पनि भात नखाइ चित्तै बुझ्दैन । ठूला–ठूला पार्टीमा घाँटीसम्म आउने गरी अनेकौ परिकार खाए पनि आफ्नो घरमा आएर हातैले मुछेर, हात चाट्दै ग्वाम कि ग्वाम भात नखाएसम्म चित्तै बुझ्दैन ।

त्यसैले जतिसुकै भव्य भोज होस वा तारे होटलतिरको अनेकौँ परिकार होस म खासै रमाउन सक्दिन । त्यस प्रकारको भोजमा चमेच नामधारी बेल्चाले खानु पर्दा त झनै दिक्क लिग्छ । त्यो बेल्चाले खानु पर्दा त झन कम्ती झ्याउ लाग्दैन । मलाई प्रायः तरकारीमा मासु नै राम्रो लाग्छ । मासु खाँदा पनि कपुर नभइ हड्डिवाला मासु मन पर्छ । हातले र दाँतले खेलाउदै मासुको पाटापाटा चुस्दै चपाउदाको मजै अर्को । तर के गर्नु पार्टीतिर खाँदा हातले खाँदा पाखे, जङ्गली, असभ्य आदि भन्ला भन्ने डरले बेल्चाको प्रयोग गर्नै पर्यो । तारे होटलतिर पार्टीमा खाँदा कहिले काँहि त लबीतिर गएर सुटुक्क लुकेर हातैले ग्वाम कि ग्वाम खाँउ कि जस्तो झ्वाँक चल्छ तर आँटै आउदैन ।

सानोमा म असाध्य ख्याउटे थिएँ । हाम्रो बाउले आमालाइ सुनाउदै भन्नू हुन्थ्यो ‘यो सारङगीले हाम्रो ब्यजेत नै गर्यो खानु नदिएजस्तो हड्डी मात्रै छ’ भन्नू हुन्थ्यो । हुन पनि म २५ वर्षसम्म अर्थात बाउ जीवित भइन्जेल असाध्य ख्याउटे थिएँ । त्यतिबेला जाँड पिउथेँ, रक्सी पिउँथे, खैनी चुरोट खान्थेँ र पनि कहिले मोटाइन । त्यतिबेला पनि अरुले भन्दा धेरै भात खान्थेँ । विहे पछि भने अलिक छिप्पिएर पनि होला एकाएक मोटाउन थालेँ ।

२०५९ साल देखि सपरिवार काठमाडौ बस्न थाल्यौँ । त्यतिबेला म मोटाउन थाली सकेको थिएँ । धेरै मोटाउन थालेपछि धेरै साथीभाई, आफन्तहरुको विहान एक छाकमात्र खाना खानु बेलुका भने रोटी, फलफूल, सुप वा हल्का नुडल्स खाएर सुत्नु भन्ने सल्लाह प्राप्त भयो । म आज्ञाकारी सबैले बताए अनुसारको खाना खाएँ र मेरो रुचीको भात पनि सङसङ्गै खाएँ । यसो गर्दा त झन दशैको लागि पालेको सुङगुर जस्तो मोटाएँ ।

एक पटक बुढाबुढीले बेलुका बेलुका चाँहि रोटीमात्रै खाने क्रान्तिकारी निर्णय गर्यौँ । र एक दिन छोराछोरी लिएर नजिकै नान पसलमा गएर तीन तीन ओटा नान, मिक्स करी र सेकुवा खाएर घर आयौँ । घर आएर सुत्न लागेको त छोराछोरीले खाना कतिखेर पकाउने पो भन्न थाले । मैले उचित मौका ठानेर हतार हतार एउटा कुकरमा दाल र अर्को कुकरमा भात बसाएर तरकारी केलाउन थालेँ । भातमा दुई सिठी लाग्न साथ उचालेर काउली र आलुको तरकारी भुट्न थालेँ । तरकारी र दाल सङ्गै पाक्यो अनि मुलाको साँधेको अचार र सुकेको अकबरेसङ्ग ग्वाम कि ग्वाम भात बजाएँ ।

यसरी छोराछोरीको कारण पनि हामीले बेलुका भात नखाने निर्णय गर्न सकेनौँ । बेलुका भात नखाने कार्यक्रम सफल नहुनुको अर्को कारण रह्यो पाहुनापाछा । हाम्रोमा गाँउघरतिरको पाहुनापाछा आइरहनु हुन्छ । हाम्रो गाँउघरतिर एकछाकी मात्र भात खाने चलन नै छैन । पाहुनाहरुले एकछाकी भात खाएको थाहा पाउनु भयो भने त ए लु फलनाको सन्तान त काठमाडौ गएर सक्यछ । विचरा एकछाकी खाएर पो बाँच्दै रहेछ भनेर भन्ला र अन्तर्राष्ट्रिय स्तरको बिजेत होला भन्ने डरले अनि उहाँहरुसंगै बसेर ग्वामकि ग्वाम मासु भात खानै पर्यो । अर्को ठूलो कुरा भनेको भातको सट्टा रोटी खाने हाम्रो पारिवारिक इतिहासै छैन ।

साँच्चै भन्ने हो भने हाम्रो परिवारमा राम्रोसंग रोटी बनाउन कसैलाई आउदैन । सेलरोटी, कोदोको ढ्याब्रे रोटी बनाउन आए पनि बेलेर बनाउने रोटी बनाउन कसैलाई आउदैन । दिदीहरुले इटहरी झरेर सिक्नु भयो होला तर हामीलाइ आउदैन । काठमाडौमा इलेक्ट्रिक रोटी बेल्ने मेशिन किन्यौँ, बेल्ना किन्यौँ तर रोटी बेल्न र खाना सारै झ्याउ मानियो र जहिले भातै हानियो ।

हामीले भात नै सधैँ खायौँ । पहाडमा बाउको पालामा बरु मिसा भात (धानको चामलमा मकैको चामल मिसाएको) र हिउँदमा कहिलेकाँहि ढिडो खान्थ्यौँ । हाम्रो बाउ मिसा भात अडिलो (पोषणयुक्त) हुन्छ भन्नू हुन्थ्यो । मलाई मिसाभात असाध्य मन पनि पर्थ्यो । तर ढिँडो भने पटक्कै मन नपर्ने । कहिलेकाँहि हिउदमा ढिडो पकाउनु हुन्थ्यो । भातमाथि एक एक लोरी ढिडो राखेर आमाले दिनुहुन्थ्यो । म चाहिँ ढिडो खाएजस्तो गरेर मेरो पछाडिको भित्ताको खोपा ( प्वाल) मा लुकाँउथेँ र ग्वाम् कि ग्वाम् भात खान थाल्थेँ ।

यो क्रम चलिरहन्थ्यो । एक दिन मेरो दशा चलेछ । बाउले खै किन हो खोपामा हात घुसार्नु भएछ खोपाभरी ढिँडो भेट्नु भएछ । हामी सबै परिवारको आआफ्नो छुट्टाछुट्टै बस्ने ठाउँ हुने हुँदा बाउलाई ढिँडो विरोधी पत्ता लाउन गारो भएन । त्यो बेलाको घटनाको ठ्याक्कै याद त छैन तर बाउको पाँच लात्ती भन्दा कम चाहिँ खाइन सायद । तर अहिले सम्झन्छु त्यो पोषणयुक्त मिसा भात र ढिँडोलाई ।

हाम्रो बाउ नितान्त कृषक । पढलेख मरु तर असाध्य पौरखी । उहाँको एक्लो पौरखले हाम्रो जग्गाजमिन प्रशस्त थियो । तत्कालीन भैसीपङ्खा गाँउपन्चायत पछि गाविसको सबै ओडामा हाम्रो जग्गाजमिन थियो । भोजपुर बजारमा घर थियो । छिमेकी गाविस हेलौछाको खरबारी भन्ने ठाँउमा समेत हाम्रो जग्गाजमिन थियो ।

जिल्लाकै धेरै जमिन हुने र अन्नपात बेच्नेमा हाम्रो बाउ पर्नुहुन्थ्यो । भोजपुर बजारका साहुजीहरु र धेरै किसान परिवारहरुले हाम्रो घरको सयौमुरी अन्न खरिद गरेर लानु हुन्थ्यो । हाम्रो परिवारलाई भात खान त घरमुनिको एउटै खला खेतले पुग्थ्यो तर हामीसङ्ग बिसौखला खेत थियो । तर पनि मिसाभात र बेलाबेला ढिँडो खानु पर्दा म फुच्चे कान्छो छोरो ढिँडो विरोधी अभियानमा लाग्ने प्रयास गर्थेँ । घरको धान बेचेर हामीलाई मिसाभात खुवाउने भन्दै आमा र दिदीहरु मार्फत बेलाबेला घरमा कुरा राख्थेँ । तर म बबुरोको कुरो हेड्क्वार्टरमा कहिले पुगेन । नपुग्नु मेरो लागि राम्रै पनि थियो । ढिँडो विरोधी अभियानको मेरो कुरो पुगेको भए गू आउने गरि पक्कै कुटाइ खान्थेँ । यसरी मेरो जीवनभर भात खाने बाहेक अरु खाने अभ्यास नै हुन सकेन । म भातेलाई एकछाक भात खाने र अर्को छाकचाहिँ भातको सट्टा अरुनै खान पनि सकिन्छ भन्ने ज्ञान पनि भएन ।

काठमाडौ आएर एमएको पढाइ सकेर सिधै विधावारिधिको अनुसन्धान सुरु गरेँ । झन झन मोटाउन थालेँ । ब्लड प्रेसर पनि ह्वात्तै बढ्न थाल्यो । प्रेसर घटाउन अनेक प्रयास गरेँ । तितेकरेला खाएँ, नुन कम गरेँ, माछामासु कम गरेँ, जाँडरक्सी कम गरेँ, चुरोटखैनी कम गरेँ, साथीभाईसंग भेट्ने र जम्ने कम गरेँ अँह प्रेसर घटेन । अन्तमा मात्ने, छाद्ने र धुँवा आउने सबै खान्की छोडेँ र प्रेसरको ओखती खान सुरु गरेँ जुन हालसम्म निरन्तर छ ।

अहिले झन धेरै नै मोटाएको छु । खास गरेर पेट फुलेर दमाहजस्तो भएको छ । तर भातको डोज बढेको बढ्यै छ । भातै खाएर मरिन्छ भने मरियोस भन्ने लाग्छ र ग्वाम कि ग्वाम भात हान्छु । प्रदुषित यो काठमाडौ सहरमा १०५ वर्ष बाँच्न पनि गारो छ । तर मलाई बिहान बेलुका मिले दिउँसो पनि भात नभै हुँदैन । यदि तपाइहरुले पनि मलाई बोलाएर खुवाउने मन छ भने अरु दुख नगर्नुस् कृपया मलाइ भातै दिनुस् किनभने म भाते हुँ ।

डा भक्त राई


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope