निर्यात वृद्धिदर शुन्य !


काठमाडौं । आर्थिक वर्ष २०७६–७७ को आठौं महिनासम्म निर्यातदरमा आएको उत्साहपूर्ण सुधार सबैको मुखमा झुन्डिन्थ्यो । प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीदेखि सरकारी ओहदामा भएका सबैले निर्यात दर बढेको सान प्रस्तुत गर्थे ।

त्यसपछाडिको सत्यता निकासी दर अघिल्लो आवको सोही अवधिभन्दा २५ प्रतिशतसम्मले बढ्नु हो । जसलाई राज्यपक्षले निर्यात प्रवर्द्धनमा आफूले गरेको प्रयासको नतिजा मान्दथ्यो ।

यो उत्साह राज्यपक्षसहित व्यापारीमा पनि उत्तिकै थियो । अर्थतन्त्रका जानकार पनि यही तथ्यांकका आधारमा धारणा राख्थे । र, राज्यको नीति तथा व्यापार संरचना यही तथ्यांकमा आधारित बनाउने सुर चलेको थियो ।

फागुन मसान्तसम्मको तथ्यांकले त्यसै भन्थ्यो । नेपालको वैदेशिक व्यापारमा कोरोनाको असर देखिएको थिएन ।

तर, चैत लागेपछि अवस्था साबिकको रहेन । लकडाउनसँगै ठप्प भएको आर्थिक गतिविधि र शिथिल बनेको विश्वको अर्थतन्त्रको संकेत नेपालको वैदेशिक व्यापारमा पनि देखियो ।

अत्यावश्यकबाहेक सबै उद्योग बन्द भए । व्यवसाय सञ्चालन भएन । निर्यातमा खटिएको मानव संशाधन कार्यस्थलमा जान सकेन ।

विश्वव्यापी रुपमा उपभोग्य वस्तुको खपत कमि आउँदा नेपालबाट निर्यात हुने त्यस्ता गैर अत्यावश्यक वस्तु खपत हुने कुरै भएन । यसबाट भर्खरै पालुवा पलाउँदै गरेको निर्यात क्रम भंग भयो । निर्यात वृद्धिदरको उत्साहमाथि तुषारापात भयो ।

फागुनसम्म अघिल्लो आवको सोही अवधिभन्दा २२ प्रतिशत बढी निर्यात भएकामा चैतसम्मको यस्तो दर १२ प्रतिशतमा खुम्चियो ।

वैशाखमा यो दर ४ प्रतिशत हुँदै जेठ मसान्तमा आइपुग्दा शुन्यमा झरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यात विवरणअनुसार २०७५ साउनदेखि २०७६ जेठसम्म ८७ अर्ब ८३ करोड ४९ लाख रुपैयाँको वस्तु निर्यात भएकोमा २०७६ साउनदेखि २०७७ जेठमसान्तसम्म ८८ अर्ब ३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । जुन ०.१९ प्रतिशतमात्र बढी हो ।

अघिल्लो निर्यात १९.२ प्रतिशतले बढेको थियो ।

निर्यातमात्र घटाएन, आयातको दरमा पनि उल्लेख्य कमी ल्यायो । भन्सारको तथ्यांकअनुसार फागुनसम्म अघिल्लो आवको सोही अवधिको तुलनामा साढे २ प्रतिशत कम बराबरको वस्तु आयात भएकोमा चैतमा त्यो दर साढे ७, वैशाखमा १३ हुँदै जेठ मसान्तमा १५.३ प्रतिशतले ऋणात्मक हुन पुगेको छ ।

आयात र निर्यात दुवै कम हुँदा नेपालको वैदेशिक व्यापारमा व्यापक गिरावट आएको छ । विभागका अनुसार कुल आयात अघिल्लो आवको जेठको तुलनामा १ खर्ब ९९ अर्ब रुपैयाँले घटेर ११ खर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो जेठसम्म नेपालले १२ खर्ब ९९ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो ।

वैदेशिक व्यापारको कुल तथ्यांकमा गत जेठसम्ममा यस्तो रकम १३ खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा चालू आव ११ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।

वैदेशिक व्यापारको आकारसँगै नेपालको व्यापार घाटा बढेपनि वृद्धिदरमा भने क्रमिक गिरावट आएको छ । फागुनसम्मको तथ्यांकअनुसार अघिल्लो वर्षको भन्दा व्यापार घाटा ४ प्रतिशतले घटेको थियो । यस्तो दर चैत, वैशाख र जेठमा क्रमशः ८.८८ प्रतिशत, १४.२४ प्रतिशत र १६.४३ प्रतिशतले ऋणात्मक छन् ।

जेठसम्म नेपालको व्यापार घाटा अघिल्लो वर्षको तुलनामा २ खर्ब १ अर्ब रुपैयाँले घटेर १० खर्ब १२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको जेठसम्म व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ थियो । जेठसम्मको तथ्यांकमा आयात घट्दा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा घटेर ९२.६ प्रतिशत पुगेको छ । अघिल्लो जेठसम्म आयातको हिस्सा ९३.६७ प्रतिशत थियो । निर्यातको हिस्सा भने ७.४ प्रतिशत पुगेको छ ।

जेठसम्म नेपालले सबैभन्दा धेरै जैविक इन्धन आयात गरेको छ । त्यसपछि स्टिल र फलाम आयात भएका छन् भने मेकानिकल र विद्युतीय उपकरण तेस्रो र चौथो स्थानमा छन् । त्यसपछि गाडी र खाद्यान्न आयात भएको देखिन्छ । विभागका अनुसार चालू आवको जेठसम्म ७८ अर्ब २१ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने ३८ अर्बको सेमिफिनिस्ड फलाम तथा स्टिल आयात भएको छ ।

यस अवधिमा करिब २८ अर्बको एलपी ग्यास, २६ अर्ब ५४ करोडको पेट्रोल र १८ अर्ब ५१ करोड रुपैयाँको चामल आयात भएको छ । यही समयमा ६१ अर्ब रुपैयाँ बराबरका गाडी तथा मोटरसाइकल आयात भएका छन् । निर्याततर्फ तेल तथा घ्यु अगाडि छ । त्यसपछि फाइबर, चिया–कफी र कार्पेट छन् । विभागका अनुसार सबैभन्दा धेरै १८ अर्ब ३१ करोड रुपैयाँको पाम तेल निर्यात भएको छ ।

त्यसपछि सोयाबिन तेल १० अर्ब १२ करोड रुपैयाँको निर्यात भएको छ । गलैंचा, ऊनी कपडा, जुस, जुट, अलैंचीजस्ता वस्तु नेपालबाट धेरै निर्यात हुने वस्तु हुन् ।

साभार: १२खरि


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope