अब यस्ता ब्यक्ति जान पाउने छन् विदेश
सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको श्रम स्वीकृत दिने कामलाई पुनः शुरु गर्ने भएको छ ।
मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाका अनुसार बिदामा नेपाल आएका तथा प्रवेशाज्ञा अवधि र करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान सहमति दिइने भएको छ ।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ “यस पूर्वको अवधि समाप्त भई पुनः करार नवीकरण गरेका र प्रवेशाज्ञासमेत म्याद थप भएका व्यक्तिले आवश्यक कागजातसहित निवेदन दिएका कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलसमेतको आधारमा पुनः स्वीकृति जारी गरिने भएको छ ।
यस्तै कोरोना महामारीका सम्बन्धमा सरकारले गत जेठ १८ गते जारी गरेको सङ्क्रामक रोग ऐन, २०२० बमोजिमको आदेशलाई आगामी साउन ६ गते मङ्गलबारसम्मका लागि निरन्तरता दिइने भएको छ ।
यस्तै कोरोना सङ्क्रमणको जोखिमको विश्लेषणका आधारमा जिल्लामा सङ्कट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी जिल्लाको सम्पूर्ण भूभाग वा कुनै क्षेत्रमा बन्द गराउन वा सील गर्नसक्ने व्यवस्था गरिएको छ ।
अन्तर्राष्ट्रिय सीमामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने गरी आगामी साउन ६ गतेसम्म निरन्तर रहने भएको छ ।
सरकारको आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरेमा प्रचलित कानूनबमोजिम कारवाही गरिने भएको छ ।
यस्तै नेपाल आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकका विदेशी राहदानी वाहक सन्तान, नेपाली नागरिकको विदेशी राहदानी वाहकलाई नेपाली नियोगको सिफारिसमा नेपाल आउन स्वीकृति दिइने भएको छ ।
साभार: नेपाल समय
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस