‘धर्मपुत्र’ बनेर लुकेका थिए दम्पती हत्याका अभियुक्त

२९ असार २०७७, सोमबार २३:५६

काठमाडौँ — सीतापाइलामा काठ मिल सञ्चालन गर्दै आएका मोरङ डाँगीहाटका ४५ वर्षीय नातिकाजी सुवेदीको परिवार २०६३ पुस २० गते खाने खाएर सुत्ने तरखरमा थियो । पत्नी ४४ वर्षीया सानु सुवेदी तथा दुई छोरा १२ वर्षीय दुर्लभ र १५ वर्षीय विलभसहित भाडामा बस्दै आएका नातिकाजीको फर्निचर व्यवसाय राम्रै चलेको थियो  ।

सुवेदीले काठ मिलमै बस्ने–खाने सुविधासहित ६ महिनाअघि सर्लाहीका जेके भन्ने जयकिशोर साह र बाँकेका प्रताप रानालाई काम (मिस्त्री) मा राखेका थिए ।

काठ प्रशोधनदेखि फर्निचरका सामान तयार गर्नेसम्मको सबै काम त्यहींबाट हुन्थ्यो । एक दिन अर्डर गरेअनुसार फर्निचर तयार नभएपछि ग्राहकले सुवेदीसँग असन्तुष्टि जनाए । त्यसको रिस उनले कामदारमाथि पोखे । तर साह र रानाले आफूले गल्ती नगरेको बताए । त्यस क्रममा सुवेदी र उनीहरूबीच भनाभन चल्यो । त्यसपछि मिल सञ्चालक सुवेदीसँग बदला लिने निष्कर्षमा पुगे मिस्त्रीद्वय साह र राना ।

भनाभन भएको केही दिनभित्रै पुस २० गते कामदार कोठामा आएको देखेपछि सुवेदी आत्तिए । राति पौने ८ बजेतिर सुवेदी दम्पती र उनीहरुका दुवै छोरालाई मार्ने योजनासहित साह र राना छुरा लिएर कोठामा पुगेका थिए । सुवेदी दम्पतीमाथि छुरा प्रहार हुन थालेपछि १२ वर्षीय दुर्लभले अर्को कोठामा पसेर चुकुल लगाए तर विलभ भाग्न पाएनन् । बाबुआमालाई छुरा प्रहार गरेर मारियो । छुरा हान्नेलाई रोक्न जाँदा विलभलाई पनि लाग्यो । उनी बेहोस भए । मर्‍यो भनेर उनलाई त्यहीं छाडेर दुवै जना भागे । हत्यापछि उनीहरु सामान पोको पारेर राति नै काठमाडौंबाट थानकोट हुँदै भागे । यता मरेको भनेर छोडिएका विलभलाई तत्काल वीर अस्पतालमा लगियो । उनको होस आयो ।

विलभ डेढ महिनाजति वीर अस्पतालमा बसे । छिमेकी र घरधनीले राति नै घटनाबारे प्रहरीलाई खबर गरे । तर हत्याराको नाम, ठेगाना पत्ता लागेन । घाइते विलभ र ढोका थुनेर बाँचेका दुर्लभसँग मिस्त्रीद्वयको हुलिया खोज्नतिर प्रहरी लाग्यो । अनुसन्धानमा कुनै प्रगति हुन सकेन । मुद्दा महानगरीय प्रहरी वृत्त स्वयम्भूमा दर्ता भए पनि अभियुक्त पत्ता लाग्न सकेन ।

चार वर्षपछि प्रहरीले विशेष किसिमका अपराध हेर्ने गरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गठन गर्‍यो । यो घटनाको फाइल ब्युरोले स्वयम्भूबाट झिकाएर खोल्यो तर आरोपितको जिल्लाबाहेक ठेगाना थाहा नहुँदा प्रहरी अलमलमा पर्‍यो । सीआईबीले प्राविधिक अनुसन्धानलाई समेत एकसाथ अघि बढाएर खोजी कार्य थाल्यो । अनुसन्धानकै क्रममा हत्या गर्नेको नाम खुल्यो तर आरोपितका परिवारले आफूहरुसँग सम्पर्क नभएको भन्दै अनुसन्धानमा सहयोग गरेनन् । फरार भएका दुवै जनाले भारतको लखनउबाट बेला–बेला परिवारका सदस्यलाई सम्पर्क गर्ने गरेको खुल्यो । १३ वर्षसम्म घटना अनुसन्धानमै सीमित थियो ।

पछिल्लो एक वर्षको अवधिमा ब्युरोको टोली हत्यारा पत्ता लगाउन कस्सियो । नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाउन दुवै देशका सुरक्षाकर्मीलाई उनीहरुको हुलियासहित पठाए । पछिल्लो केही महिनाको अनुसन्धानमा हत्या गर्नेमध्येका साह भारतको लखनउमा एउटा परिवारको सदस्यका रूपमा (धर्मपुत्रकै हैसियत) मा बसेको पुष्टि भयो ।

ब्युरोले लखनउ प्रहरीलाई आरोपित जयकिशोर साहको हुलियासहित विवरण पठायो । भारतीय प्रहरीले साहलाई पक्राउ गरे पनि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने पक्षमा थिएन । अनि अनुसन्धानमा संलग्न ब्युरोका अधिकारीले भारतमा तालिम लिएका एक पूर्वसुरक्षा अधिकारीसँग सहयोग मागे । तालिम लिँदाका सहकर्मीसँग नेपालका ती सुरक्षा अधिकारीले समन्वय गरिदिए । बाबुआमा गुमाएका विलभका अनुसार उनी र ती पूर्वसुरक्षा अधिकारीका छोरा स्कुलमा सँगै पढेका हुन् । छोराको साथी भएका कारण पनि उनले हत्या आरोपित ल्याउन भारतीय सुरक्षाकर्मीसँग समन्वय गरिदिएका थिए ।

विलभले साथीका बुबाबाट सहयोग नभएको भए हत्यामा संलग्नलाई सजिलै नेपाल ल्याउन कठिन हुने बताए । ती अधिकारीले समन्वय गरेपछि मात्रै लखनउस्थित भारतीय प्रहरीले ब्युरोलाई आरोपित लिन बोलाएको स्रोत बताउँछ ।

भारतीय प्रहरीले वैशाख २५ गते ब्युरोलाई खबर गरेर साहलाई नियन्त्रणमा लिएको जानकारी दियो । २६ गते ब्युरोबाटै गाडीसहित अनुसन्धान टोली नेपालगन्ज हुँदै लखनउतर्फ लाग्यो । भारतीय प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा ल्याएर साहलाई छोडिदिए र ब्युरोले त्यहाँबाट काठमाडौं ल्यायो । ब्युरोका एसपी बेलबहादुर पाण्डेले भने आरोपित साहलाई नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिइएको दाबी गरे । तर साहको खोजीमा भारतीय सुरक्षाकर्मीले सहयोग गरेको पाण्डेले स्पष्ट पारे ।

हत्या लुकाउन ‘धर्मपुत्र’

प्रहरीले हत्याको अनुसन्धान गरिरहेको सुइँको साहले पहिल्यै पाएका थिए । त्यही भएर प्रहरीबाट जोगिन उनले आफ्नो नाम नै बदलेर जय शर्माका नामबाट एक भारतीयको परिवारमा बसेका थिए । नेपालबाट भागेर लखनउ पुगेपछि साह र अर्का आरोपित राना दुई २ वर्ष सँगै बसे ।

पछि खटपट हुन थालेपछि राना त्यहाँबाट हिँडे तर साह भने भारतीय नागरिकसरह रासन कार्ड, मतदाता पचियपत्रलगायत सबै सुविधा लिएर उक्त घरमा बसेका थिए । ‘हत्याको घटना लुकाउनकै लागि साहले नाम परिवर्तन गरेर भारतीय नागरिकसरहको सुविधा लिएर बसेका रहेछन्,’ एसपी पाण्डेले कान्तिपुरसँग भने, ‘नेपाली नागरिक भागेर भारतमा जानु र आफ्नो हुलिया नै बदलेर बस्नुको एउटै उद्देश्य अपराध लुकाउनका लागि थियो ।’

साहको साथबाट लखनउको मौसमगन्ज–डालीगन्जबाट बनेको भारतीय नागरिकसरह सुविधा पाइने आधार कार्ड, भारतीय प्यानकार्ड, बाबुको नाम जोगेन्द्र शर्मा राखेर मतदाता परिचयपत्र, एटीएम कार्डलगायत पनि बरामद गरेको छ ।

‘बुबाआमाको आत्माले शान्ति पायो’

१४ वर्षअघि नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्या हुँदा उनीहरुका दुवै छोरा नाबालक थिए । अहिले विलभ २९ वर्ष र दुर्लभ २६ वर्षका भए । घटनाको १४ वर्षअघि हत्या गर्नेमध्येका एक अभियुक्तलाई ब्युरोले सोमबार सार्वजनिक गर्‍यो ।

आरोपित सार्वजनिक र अनुसन्धानबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा मृतक दम्पतीका दुई छोरा साथमै थिए । ब्युरोका डीआईजी सहकुल थापाले घटनाबारे जानकारी गराउन थालेपछि विलभ र दुर्लभ भावुक बने ।

बुबाआमाको हत्या हुँदा घाइते बनेर बाँचेका विलभले अभियुक्त पक्राउ परेसँगै आफूले न्याय पाएको सुनाए । ‘यस्तो कसैलाई पनि नहोस्,’ अनि सबैले घर वा व्यवसायमा कामदार नियुक्ति गर्दा व्यक्तिगत विवरण लिन नभुल्न सुझाव दिए । सुवेदी दाजुभाइ अहिले सीतापाइलामा बस्छन् । उनीहरुले बाबुआमाले सञ्चालन गरेको फर्निचर उद्योगलाई नै निरन्तरता दिएर बसेका छन् ।

यसैबीच, लखनउबाट पक्राउ परेका हत्या आरोपित साहलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा चलाउन वृत्तमा पठाइएको छ । हत्या आरोपित अर्का अभियुक्त रानाको खोजी कार्य जारी राख्दै साहलाई मुद्दा चलाउन वृत्तको जिम्मा लगाइएको एसपी पाण्डेले बताए ।

kantipurdaily

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.