काठमाडौं, असोज १६ । सरकारले १८ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।
चिकित्सा शिक्षा सुधारको माग राखेर १९ औं अनशनमा बस्नु भएका डा. केसीलाई अहिले अनशन बस्ने समय नभएको तर्क सरकारको छ ।
सरकारको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना महामारीबाट आम नागरिकलाई जोगाउनु पर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना जस्ता विषय सुहाउँदो नभएको बताउनुभयो ।
ज्ञवालीले डा. केसीका धेरै माग पूरा भएको दाबी गर्दै भन्नुभयो, ‘यस्तो असामान्य बेला अनशन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र ? पक्कै पनि होइन ।’
केही विषय बाँकी रहेछ भने पनि छलफल गर्न सकिने भन्दै ज्ञवालीले अनशन फिर्ता लिन आग्रह गर्दै भन्नुभयो, ‘मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ । अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडियौं । जनतालाई महामारीबाट जोगाऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं ।’
सरकारलाई दबाब दिइरहनु जरुरी छैन भन्दै ज्ञवालीले भन्नुभयो, ‘उहाँका धेरै माग पूरा भइसकेका छन् । हामीले चिकित्सा शिक्षा ऐन बनाएका छौं, आयोग बनाएका छौं । ७५ प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था पनि लागू भइसकेको छ । सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि शुरू भइसकेको छ । सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको छ । यसमा थप दबाव दिनु जरूरी छैन ।’
पिसिआर परीक्षण बढाउनु पर्ने माग सम्बोधन भइसकेको पनि उहाँले बताउनुभयो ।
आजैमात्रै कोरोनाबाट एक जना चिकित्सकलाई गुमाउनु परेको भन्दै उहाँले यस्तो बेलामा अनशन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन म डाक्टर केसीलाइई आग्रह गर्नुभयो ।
भदौं २९ गते जुम्लाबाट १९ औं अनशन थाल्नु भएका डा. केसी स्वास्थ्य कमजोर भएपछि काठमाडौं आएर हाल शिक्षण अस्पतालमा अनशनमा हुनुहुन्छ ।
Please send us your feedback or any articles if your passion is in writing and want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईहरुको सल्लाह र सुझाब दिनुहोला जसले गर्दा हामीले यो पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौ। यहाँहरुका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरु हामी छाप्ने छौ । सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com