अहिलेसम्मकै उच्च बिन्दूमा नेप्से परिसूचक


काठमाडौं : सेयर बजार परिसूचक अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । यो साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८.४३ अंक अर्थात् ०.९८ प्रतिशतले बढेर १,८९३.२४ बिन्दूमा पुगेको छ । यससँगै नेप्से अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । यसअघि नेप्से परिसूचक २०७३ साउनमा अहिलेसम्मकै उच्च बिन्दू १८८१.४५ बिन्दूमा पुगेको थियो । यसअघिको उच्चबिन्दूभन्दा ११.७९ बिन्दू माथि पुगेको छ ।

बिहीबार नेप्समा ‘क’ वर्गका कम्पनीको सेयर मूल्य प्रतिनिधित्व गर्ने सेन्सेटिभ इन्डेक्स २.८५ अंक अर्थात् ०.७९ प्रतिशतले बढेर ३६५.१८ अंकमा पुगेको छ । पछिल्लो समय सेयर बजारमा उछाल आउने क्रम सुरु भएसँगै नेप्सेमा दैनिक कारोबार रकम पनि बढेको छ । बिहीबार नेप्सेमा २०१ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख ९१ रुपैँया मूल्य बराबरका एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७० हजार ३ ओटा कारोबारमार्फत् किनबेच भएका छन् ।

लकडाउनपछि सेयर बजार खुल्दा बजारमा क्रमशः उछाल देखिन शुरु भएको हो । कोभिड–१९ का कारण लगानीका अन्य क्षेत्र खुम्चिएको र मौद्रिक नीतिले शेयर धितो कर्जा केही खुकुलो बनाएपछि बजार सुदृढ गतिमा अघि बढेको हो ।

यसअघि नेप्से परिसूचक २०५२, २०५७, २०६५, २०७३ मा बुलिस ट्रेन्डको उच्चतम बिन्दूमा पुगेको देखिन्छ । २०५२ मा उच्चतम बिन्दूमा पुगेर सुरु भएको वियरिस ट्रेन्ड २०५४ सम्म, २०५७ को २०५९ सम्म २०६५ को २०६८ सम्म चलेको थियो। २०७३ को साउनमा शेयर बजार स्याचुरेसनमा पुगेपछि शुरु भएको वियरिस ट्रेण्ड समाप्त हुन पनि झण्डै तीन वर्ष नै लाग्यो ।

शेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाजेसन) भने कुल गार्हस्थ उत्पादनको आकारको हाराहारीमा पुग्नै लाग्दा बुलिश ट्रेण्ड उच्चतम बिन्दूमा पुगेको देखिन्छ ।

२०६५ भदौ १५ मा उच्चतम बिन्दू ११७५ मा रहेको नेप्से परिसूचक २०६८ असार ६ मा २९२ बिन्दूमा आएर रोकिएको थियो । अघिल्लो वियरिस ट्रेन्डसँगै शेयर बजार ‘क्र्यास’ भएपछि यसलाई पुनर्जीवित गर्न तत्कालीन सरकारले ठूलै पहल गर्नुपरेको थियो । शेयर बजारको यसअघिको प्रवृत्ति हेर्दा पनि वियरिस ट्रेन्ड समाप्त भएसँगै बजार केही समय स्थिर भएपछि मात्र बुलिस ट्रेन्डतर्फ अघि बढ्छ । यसमा लगानीकर्ताको मनोभावना जोडिएको हुन्छ । बजार वियरिस ट्रेन्डमा जाँदा सामान्यतः साना मझौला लगानीकर्ताले गुमाउँछन् र उनीहरु विश्वस्त भएर बजारमा पस्न समय लाग्छ । यसले गर्दा केही समय वियरिस ट्रेन्ड स्थिर हुन्छ । बजारले बुलिस ट्रेण्ड पक्रेपछि भने छोटो अवधिका लागि सामान्य करेक्सन बाहेक बजार अघि बढ्छ ।

२०७२ भदौको पहिलो साता १२०० अंकको आसपासमा आएर बुलिस ट्रेन्डको उच्चतम बिन्दूमा रहेको नेप्से परिसूचक राष्ट्र बैंकले तत्कालीन समयमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने निर्णयसँगै पुनः बुलिश ट्रेण्ड पक्रिएको थियो । २०७२ भदौदेखि २०७३ साउनको बीचमा शेयर बजारमा ‘कपल बुल’ बनाउने बैंक तथा वित्तिय संस्थाको पुँजी वृध्दिले २०७३ साउनमा नेप्से परिसूचक अहिलेसम्मकै उच्च १८८१.४५ अंकमा पुगेको थियो । बजार घट्ने क्रममा पनि न्यूनतम बिन्दू ११०० अंकको आसपासमा रहेको थियो ।

लगानीका अन्य विकल्पहरु संकुचित भएपछि लगानीकर्ताहरु शेयर बजारमा केन्द्रीत भएपछि अहिलेको उछाल देखिएको विश्लेषकहरुले बताएका छन् ।

बिहीबार बैंकिङ्ग उपसमूहको परिसूचक बढ्दा नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको हो । बिहीबार बैंकिङ्गका अतिरिक्त जलविद्युत्, म्यानुफ्याक्चरिङ्ग र प्रडक्सन, नेपाल टेलिकमको समेत सेयर सूचीकृत रहेको अन्य समूह र म्युचुअल फण्ड बाहेक अन्य सबै उपसमूहका परिसूचक नकारात्मक छन् ।

(साभार: ईकागज)


Please send us your feedback or any articles if your passion is in writing and you want to publish your ideas/thoughts/stories . Our email address is sendyourarticle@samayasamachar.com. If we find your articles publishable, we will publish them. It can be any opinionated articles, or stories, or poems, or book reviews.
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com

तपाईको प्रतिक्रिया दिनुहोस

सुन चाँदी दर अपडेट

© Gold & Silver Rates Nepal
विदेशी विनिमय दर अपडेट

© Forex Nepal
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
आजको राशिफल

© Nepali horoscope