सुपारी, छोकडा लगायतमा लगाएको आयात प्रतिवन्ध हटेपछि कोटाको १८ गुणासम्म बढी माग

२२ चैत्र २०७७, आईतवार १३:०२

काठमाडौँ । सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच सीमित परिमाणमा आयात गर्न पाउने गरी प्रतिबन्ध फुकुवा गरेपछि आयात कोटाको १८ गुणासम्म बढी माग परेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ चैत ९ मा राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाएपछि दुई साताको अवधिमा आयात गर्न कोटाभन्दा १८ गुणा बढी माग आएको हो ।

सरकारले २०७६ चैत २४ मा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाएको थियो । कोभिडका कारण शिथिल बनेको अर्थतन्त्र सुधारोन्मुख भएपछि सरकारले पुनः सूचना प्रकाशन गरेर कोटा तोकेर आयात खुला गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षका लागि केराउ आयात कोटा ८० हजार टनमात्रै तोकेको छ । तर आयातका लागि कोटा तोक्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा १४ लाख ७१ हजार ३३ टनको माग आएको छ । ३ सय ४ निवेदकले उक्त परिमाण माग गरेका छन् । सरकारले सुपारीको आयात पूर्ण बन्देज हटाएर आयात परिमाण २५ हजार टन तोकेको छ । २ सय ५० आयातकर्ताले ४ लाख ७८ हजार ८ सय ४६ टन आयात गर्न आवेदन दिएका छन् ।


छोकडाको आयात परिमाण भने ५ हजार टन तोकिएको छ । तर व्यवसायीले ६० हजार ८ सय ४ टन छोकडाको माग गरेका छन् । नधुल्याएको मरिचको हकमा पनि माग अत्यधिक छ । सरकारले चालु आर्थिक वर्षका लागि १५ हजार टन कोटा तोकेको छ ।
तर शुक्रबारसम्म विभागमा १ लाख ६६ हजार ३ सय ३ टन आयात गर्न आवेदन परेको जनाइएको छ । निवेदन दिन दस्तुर नलाग्ने भएरै बढी माग आएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।

इजाजतका विषयमा आयातकर्तालाई प्राथमिकता दिइने उनको भनाइ छ । निवेदनका लागि डेटलाइन बन्द नगरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए । बजारमा अभाव भएकै कारण व्यवसायीको अत्यधिक माग आएको उनको भनाइ छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.