कोइलाखानीको ‘हेर्ने कथा’ हेरेपछि

‘हेर्ने कथा’ को पछिल्लो अंक हेरेपछि एकतमासले मुटु दुखिरह्यो । थाहै नपाई आँखाबाट आँसु झार्न सक्ने ती हाम्रै देशभित्रका सत्य कथाहरूले मेरा आँसुका मूल फुटाई रहन्छन् । केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी लाग्छ तर परिवारका सपनाहरू बोकेर म आफैँ खाडी मुलुकमा बस्दै आएको छु । हो त्यस्तै सपना बोकेर काम गर्नेहरूको कथा हो ‘कोइलाखानीको कथा’ । (यो क्लिक गरेर पनि हेर्न सक्नुहुन्छ ।)
पछिल्लो अंकमा पश्चिम नेपालको दाङ र रोल्पाको सीमामा अवस्थित पहाडी भूभागमा अत्यन्त जोखिम मोलेर सुरुङ भित्रबाट कोइला निकाल्ने काम गरेर आफ्नो जीवनयापन गर्ने मानिसहरूको विवशताको कथा हेर्न पाइन्छ । मूलतः राष्ट्रिय सञ्चार माध्यमहरूले नउठाएका गाउँ समाजका दर्दनाक, पीडादायक र बाध्यताका कथाव्यथाहरू हेर्ने कथाले शुरूवातबाट नै उठाउँदै आएको छ । देशका कुनाकन्दरा र सिमानामा पुगेर प्रभावित व्यक्ति र समुदायलाई नै आफ्ना कुरा, विचार र अपेक्षा राख्न दिएर बाहिर ल्याइदिने सराहनीय काम हेर्ने कथा टिमले गरिरहेको छ ।
प्रस्तुत कोइलाखानीको कथाको आधा घन्टाको समयमा नै त्यहाँ काम गर्ने मजदुरहरूले भोगिरहेको जीवन जस्ताको तस्तै देखाइएको छ । सम्बन्धित ठेकेदारले सुरुङभित्र जोखिम न्यूनीकरणका लागि सुरक्षाका उपायहरूको पर्याप्त व्यवस्था नगर्दा पनि कामदारहरू जोखिम मोलेर नै काम गर्न बाध्य छन् । अत्यन्त अप्ठ्यारो, विकट सुरुङभित्र माथिल्लो भाग झर्ने सम्भावना भएकोले ठाउँ ठाउँमा टेको लगाएको देख्न सकिन्छ । केही समय अगाडि गाउँकै मोहनलाल कामीको सुरुङभित्रै ढुङ्गा झरेर निधन भएको घटनापछि उक्त सुरुङ मात्रै बन्द गरेको र अन्य सुरुङहरूमा काम सञ्चालन भईरहेको छ । मृतकको परिवारको अवस्था कारुणिक छ । पतिको दुखद निधनको चोट, भर्खरैको सुत्केरी अनि अभावग्रस्त अवस्थामा रहेकी महिला शान्ति कामीलाई सहयोगको खाँचो रहेको प्रष्ट देख्न सकिन्छ । त्यो दृश्य हेर्दा जो कोहीको पनि हृदय भक्कानिन्छ ।

अँध्यारो र अप्ठ्यारो सुरुङमा बत्तीको व्यवस्था गरे तापनि पर्याप्त उज्यालो नभएको, श्वास फेर्न अप्ठ्यारो भएकोले अक्सिजनको मात्रा कम रहेको आकलन गर्न सकिन्छ । त्यहाँ काम गर्ने मानिसहरूको स्वास्थ्यमा कोइलाको खारको कारण भविष्यमा समस्या आउन सक्ने देखिन्छ । उनीहरूको जीवन बीमा गरेको कुरालाई नाइकेले उल्लेख गरे तापनि अन्य धेरै कुराहरूको व्यवस्था गर्नुपर्ने देखिन्छ जुन बुँदागत रूपमा यसप्रकार छन् ।
१. सुरुङभित्र र बाहिर कोइलाको काम गर्ने सबैलाई ठेकेदार या रोजगारदाताले अनिवार्य रूपमा व्यक्तिगत सुरक्षा सामग्री (personal protective equipment) को व्यवस्था गर्नुपर्छ जसमा हेलमेट, चश्मा, कभरोल, जुत्ता, पन्जा, मास्क लगायतका सामग्री पर्छन् । कामदारलाई पीपीईको महŒव र प्रयोगका बारेमा सुरक्षातालिम समेत दिन सकिन्छ ।
जसले गर्दा अर्को चोटि आँखामा आँसु होइन ओठमा मुस्कान राखेर यस्ता ‘हेर्ने कथाहरू’ हेर्न सकियोस् ।
२. खानी तथा भूगर्भविद् या सम्बन्धित विज्ञहरूबाट अध्ययन अनुसन्धान गरी सुरक्षित, जोखिमयुक्त र अतिजोखिमयुक्त क्षेत्र छुट्याएर सुरक्षित ठाउँबाट मात्रै सुरक्षित तरीकाले कोइला निकाल्नु पर्छ ।
३. सुरुङभित्र प्रशस्त उज्यालोको लागि बत्तीको व्यवस्था गर्नुपर्छ । यसैगरी सुरुङभित्रको अक्सिजनको लेभल नाप्ने यन्त्रको प्रयोग गर्ने, अक्सिजनको लेभल कम भए बाहिरबाट अक्सिजन भित्र पठाउने, सुरुङभित्र अन्य बिषाक्त ग्याँस पनि हुनसक्ने हुँदा ग्याँस डिटेक्टरको प्रयोग गर्ने गराउने ता कि सुरुङभित्र बिषाक्त ग्याँस तथा कम अक्सिजनको कारण कसैको ज्यान नजाओस् ।
४. अर्को महŒवपूर्ण कुरा पूर्णबहादुर जस्ता विद्यालय जाने उमेरका बालबालिकालाई कोइलाको काममा लगाउन नपाउने ।
५. कोइला खानीमा काम गर्ने सबैको जीवन बीमा, उपचारको व्यवस्था, परिवारको स्वास्थ्य, शिक्षा र उचित पोषणको सुनिश्चितता हुनुपर्छ ।
६. सम्भव भएसम्म विज्ञहरूको सल्लाहमा प्राकृतिक रूपले भू–बनोटको संरचना र अन्य वातावरणीय प्रभाव नबिग्रने तरीकाले हाल प्रचलनमा रहेको जोखिमयुक्त सुरुङको विकल्प खोजेर कोइला संकलनको कामलाई पूर्ण सुरक्षित कसरी बनाउन सकिन्छ ? यसमा सम्बन्धित निकायले समयमै आवश्यक पहल गरोस् । कोइला र पैसाभन्दा त्यहाँ काम गर्ने कामदारको जीवनलाई महŒव दिऊँ । सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम लगाउने र गर्ने संस्कार अवलम्बन गरे मात्रै दुर्घटना कम गर्न सकिन्छ । जीवन बचाउन सकिन्छ । जसले गर्दा अर्को चोटि आँखामा आँसु होइन ओठमा मुस्कान राखेर यस्ता ‘हेर्ने कथाहरू’ हेर्न सकियोस् ।
लेखक: पदमप्रसाद भट्टराई
झापा, हालः कतार
पदमप्रसाद भट्टराईका अरु लेखहरु पढ्न यहाँ क्लिक गर्नुहोस ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस