महिला जीवनका सातघुम्ती
अनुभवी र छिप्पिएको बूढो र विधुरसँग किशोरी कन्याको विवाह गरिदिएर वैवाहिक बलात्कारको लाइसेन्स दिने यो ढोंगी समाज कौमार्य परीक्षण महिलामा मात्र किन गरिरहन्छ?

हुन त हिन्दू संस्कृतिका हाम्रा प्राचीन ग्रन्थ ऋग्वेद र गीतामा नारीलाई निकै सम्मानित सामाजिक ओहोदामा राखिएको र नारीको महिमा गाइएको पाइन्छ । ‘जहाँ नारीहरु पुजिन्छन् त्यहाँ देवताहरु खुसी हुन्छन्’ भनेर उल्लेख गरिएको पनि छ । तर शब्दजालले जति नै विभूषित गरेपनि भोगाइका हिसाबले नारीले आनो जीवनका विभिन्न कालखण्डमा धेरैचोटि अग्निपरीक्षा दिनुपर्ने हुन्छ । सनातन वैदिक कालदेखि एक्काइसौं शताब्दीको सङ्घारसम्म हाम्रो हिन्दू समाजले पितृसत्ता जोगाउनकै खातिर रचेका प्रपञ्चहरुलाई मलजल गरेर संस्कारको बिल्ला भिराइयो र कालान्तरमा यो संस्कृति जस्तो बन्न पुग्यो ।
आज यहाँ तिनै हाम्रा पुरातनवादी सोच र व्यवहारमा कसरी नारीहरु आमाको गर्भदेखि चिहानको गर्तसम्म सामाजिक, शारीरिक र मानसिक रुपमा प्रताडित छन् भन्ने कुरालाई प्रकाश पार्न खोजिएको छ । अक्सर नेपाली महिलाहरुमा आत्मविश्वासको कमी हुनु, पुरुषसँग समानान्तर भएर अगाडि आउन नसक्नु, एकल अस्तित्वलाई प्राथमिकता नदिइनु जस्ता थुप्रै मनोवैज्ञानिक हिसाबले कमजोर मानिनुमा त्यो कसरी उनीहरुको सामाजिकीकरण, भोगाई र सोचको प्रतिफल हो भन्ने कुरा यहाँ चर्चा गरिने छ । बौद्धिक हिसाबले महिला पुरुषभन्दा कत्ति पनि कम छैनन् भन्ने कुरा त धेरै उदाहरणहरुबाट पुष्टि भैसकेको छ तर क्षमतावान् हुँदाहुँदै पनि उनीहरु पछि पर्नुमा हाम्रो पितृसत्तात्मक सोच, रुढीवादी संस्कार र सामाजिकीकरणको प्रक्रिया दोषी छ । क्रिया र प्रतिक्रियाको कहिल्यै नसिद्धिने उक्त दुश्चक्रलाई तलका सातवटा मुख्य चरण वा घुम्तीमा व्याख्या गरिन्छ ।
घुम्ती नम्बर १. रजस्वलाको रडाको
रजस्वला महिलाको जीवनमा हुने पहिलो यस्तो घटना हो जसले उनीहरुको मनोबल कमजोर बनाउँछ । महिला भएर जन्मनु अभिशाप हो भन्ने गलत सोचको विकास रजस्वलाप्रति बनाइएको यही गलत हेराइ, बुझाइ र व्यवहारबाट सिर्जित भएको हो । पहिलो रजस्वला पश्चात् परिवारका सदस्य र समाजले उनीप्रति गर्ने व्यवहार, त्यसपछिका पहिरन, बसउठ, सोच र संस्कारका जुन बोझ बोकाइन्छ उनलाई जिन्दगी त्यतिखेरदेखि नै गह्रुँङ्गो हुँदै जान्छ । हुनत पछिल्ला केही वर्षमा शिक्षित वर्ग एवम् सहरी क्षेत्रमा केही परिवर्तन नआएको होइन तर जरा गाढेर बसेको धार्मिक आडम्बरको अवशेष अझ बाँकी नै छ ।
महिलाको शारीरिक विकासक्रममा आउने रजस्वला जस्तो एक विशुद्ध जैविक प्रक्रियालाई पनि हेय दृष्टिकोणका साथ अपवित्रतासँग जोडेर हेरिने कारणले कति किशोरीले किशोरावस्थादेखि नै खेलकुद, साहसिक कार्य र अन्य त्यस्तै किसिमका शारीरिक क्रियाकलापमा कम रुचि देखाउनका अलावा कतिपय सामाजिक, धार्मिक र साँस्कृतिक कामबाट समेत बञ्चित हुनुपर्छ । रजस्वलाकै कारण कतिपय छोरीमान्छेलाई धेरै अवसरबाट विमुख बनाइएको हुन्छ भने छोरीमान्छे कुनै न कुनै रुपमा पुरुषभन्दा कमजोर हो भन्ने मानसिकता सुषुप्त रुपमा विकसित गराउन यसले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । जब रजस्वलाकै कारण पाउने सेवा, सुबिधा र अधिकारबाट घरका आनै दाजुभाइले समेत बञ्चित गर्न थाल्छन् तब नारी भएर जन्मेकोमा आफैंलाई हीनताबोध हुन थाल्छ । रजस्वलासँग जोडिएको कुरीति र रुढीबादी सोच नै नारीलाई अधिकारविहीन बनाउने प्रयत्नको पहिलो खुट्किलो हो । जब यो प्रक्रियासँग जोडिएको सोच र धार्मिक धारणामा परिवर्तन आउँदैन यसले महिलाको व्यक्तित्व विकासमा असर पारिरहन्छ ।
घुम्ती नम्बर २ः केटी हेर्न आउनेको कटाक्ष
हाम्रो समाजमा अनेकौं त्यस्ता प्रचलन विद्यमान छन् जसले पाइला पाइलामा छोरीलाई दोस्रो दर्जाको नागरिक वा ‘सेकेन्ड सेक्स’ भएको महसुस गराउँछन् । त्यस्तै प्रचलन मध्ये एक हो केटी हेर्न आउने प्रचलन ।
बालविवाह प्रचलनमा भएको समयमा कन्याले आनो विवाहको मामिलामा स्व–निर्णय लिन सक्ने उमेरकी नहुँदै विवाह गरिदिने चलन हुँदा घरका बाबुआमा वा अभिभावकबाट निर्णय लिने कुरालाई अन्यथा मान्न सकिँदैन । तर छोरी शिक्षित र योग्य भैसकेकी र विवाहको बारेमा स्वयं निर्णय लिनसक्ने भइसकेपछि पनि वर पक्षका मान्छे घरमा आएर केटी हेर्ने प्रचलन आजसम्म ज्यूँका त्यूँ छ । यो यस्तो कुसंस्कार हो जसले महिलालाई पहिलोपटक आफू मान्छे नभई ‘कमोडिटी’ हुँ कि भन्ने महसुस गराउँछ । यसमा वर पक्षकाले कन्यालाई रुप, सीप लगायत अन्य शारीरिक दोष देखाएर, नभएका कमजोरीहरु औंल्याएर विवाह गर्न इन्कार गरेर जानुलाई कस्तो संस्कार भन्ने?
के छोरीलाई जीवनसाथी रोज्ने, छान्ने वा टिकाटिप्पणी गर्न पाउने अधिकार हुँदैन?
त्यतिमात्रै नभई विवाहमा दाइजो र अन्य आर्थिक लेनदेनका कुराले यस्तो लाग्छ कन्या मानिस नभएर खसीबजारको जन्तु हो जहाँ ग्राहकहरु मासु हेरेर मोलतोल गरिरहेछन् । के छोरीलाई जीवनसाथी रोज्ने, छान्ने वा टिकाटिप्पणी गर्न पाउने अधिकार हुँदैन? हुनत यो कुरीति धेरै हदसम्म हट्दै गइरहेको छ तर जहाँ जहाँ यो अझै विद्यमान छ त्यहाँ त्यहाँ छोरी चेलीलाई पशुवत् व्यवहार गरिएको छ । समाजको रीत भनेर सामान्य जस्तो लाग्ने संस्कारसँग जोडिएको यसको मनोवैज्ञानिक पक्ष हेर्ने हो भने बढो घातक छ । यस्ता संस्कार मानव सभ्यताको लागि विडम्बना नै मान्नुपर्छ । हाम्रो हिन्दू संस्कारमा वधूले वरलाई रोजेर गरिने स्वयंवरको दृष्टान्त लिन सकिन्छ । चाहे त्यो जानकीको होस् या द्रौपदीको । स्वयंवरको तात्पर्यलाई तोडमोड गरेर जुन संस्कारको थालनी भयो यो त पितृसत्ताले आनो जरो बलियो बनाउन बुनेको प्रपञ्च हो । कतिसम्म भने केटापक्ष घर आएर केटीलाई मन नपराई फर्किए भने आनै आमा, भाउजू, काकीहरुबाट जुन कटाक्ष हुन्छ त्यसले त्यो किशोरावस्थाको कोमल मन मस्तिष्कमा कति ठेस पुर्याउँछ भन्ने कुरा मनोविश्लेषकले समेत सही चित्रण गर्न सक्दैनन् ।

हाम्रो जमानामा समेत आमाले, काकीले ‘अलि हेर्ने जस्ति भएर बस्’ भनेको, भाउजूले ‘बुढीकन्या बस्नी हुन् कि क्या हो हाम्री नानी त जो पनि मन परेन भनेर फर्किन्छन्’ भनेको र बाको आँखामा देखिएको ग्रहण सम्झँदा भाउन्न भएर आउँछ । ऊफ् ! मानौं घरको दैलो छोरीभन्दा यति होचो भएको छ कि अब ऊ छिर्नै सक्दिन, छोरी यति ठुली भइसकेकी छ कि मानौं घरको कोठाचोटामा अब ऊ अटाउँदिन, मानौं उसको जाउलो पाक्ने भान्सामा अब उसका लागि खान्की पाक्दैन । अझ मन नपराएर केटो फर्कियो भने, काली/होची/कोप्ची/नेप्टी/लुरी/मोटी जस्ता दोष लगाएर फर्केको कुरा गाउँ हुँदै विद्यालयसम्म पुगिसकेको हुन्छ । भर्खर ठूलो मान्छे बन्ने सपना देख्दै गरेकी अबोध कुनै बालिकालाई बलीको बोको बनाइने यो संस्कार कस्तो संस्कार हो? बिहे गर्ने या नगर्ने? कहिले गर्ने? कोसँग गर्ने? जस्ता सम्पूर्ण निर्णय छोरालाई जति छ छोरीलाई पनि उत्ति नै हुनुपर्छ । बुवाआमा र अन्य अभिभावकले सल्लाहकार र सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ ता कि विवाहकै कारणले उसका रहर, करिअर र भविष्यमा सम्झौता गर्न नपरोस् ।
घुम्ती नम्बर ३ः बिहे, बुहारी र बुहार्तन
कसैले मन पराइदियो । अहो उद्दार नै भयो । बा–आमाका थाप्लाबाट ठूलो बोझ हटेको छ । कन्यादान गर्न पाएर महादान गर्न पाएकोमा बा–आमालाई स्वर्गको बाटो जो खुलेको छ । कसैले बिहे गर्न राजी हुनु भनेको यस्तो खुसीको कुरा हो मानौं थारो गाईलाई कसाही आएर लगिदिएको छ । मानौं उल्लेख्य विजय प्राप्त भएको छ । त्यति दुःख गरेर हुर्काएकी छोरी दिनु त छँदैछ त्यसमाथि दुलाहा पक्षकालाई ज्यू हजुरीको अनावश्यक लोकाचार के अनिवार्य छ?
हाम्रो समाजमा यस्तो सोच छ छोरीलाई अब कसैले पालिदिन राजी भएर पुन्य गर्दैछ र बा—आमाका जीवनको बोझ सर्लक्क आफूले लिँदैछ । आफू जन्मिएर हुर्केको घर, बा—आमा, दाजुभाइ, साथीसङ्गी सबै चट्टै छोडेर पराई घर आएकी उसलाई गाह्रो–साह्रो, अप्ठेरो–असजिलो केही छ कि कसैले सोध्दैन । यस्तो लाग्छ, छोरीमान्छे भनेपछि जसरी भएपनि सहनु नै पर्छ । ‘एड्जस्ट’ गर्नुपर्ने भनेकै छोरीमान्छेले हो । बिहेपछि श्रीमान्को घरमा कसरी हिँड्ने, बोल्ने, बस्ने, सुत्ने, उठ्ने, खाने सबैको नियम हुन्छ र त्यो हुबहु पालना गर्नुपर्छ । वैवाहिक जीवनका भागिदार त दुलहा दुलही दुवै उत्तिकै हैनन् र? दुलाहाको दिनचर्या, आनिबानी, स्वभाव, रुचि कुनै परिवर्तन गर्न नपर्ने तर दुलहीले सबै आनो छोडेर अरुको अपनाउनु पर्ने कस्तो विचित्रको चलन हो हाम्रो? बुहारीलाई के मन पर्छ या पर्दैन, कसको सरोकार? केही सजिलो र गाह्रो कसलाई दरकार? उसलाई अर्काको घरमा सहज वातावरण बनाएर छिटो अपनत्व भाव उत्सर्जित गराउने र पराई घरको महसुस हुन नदिने कर्तव्य निर्वाह दुलाहाको घरकाले गर्नुपर्दैन र?
नव वधूसँग यस्तो अपेक्षा राखिन्छ मानौं बिहे हुने बित्तिकै उसले नयाँ अवतार लिएकी छे । अनि कसरी क्षय हुँदैन उसको आत्मसम्मान? कसरी रहन्छ ऊसँग आत्मविश्वास? उनले आनो कुरा राख्ने, कुनै असान्दर्भिक कुराको प्रतिवाद गर्ने र सम्झाउने गर्न खोजिन् भने खानदान र बा—आमाको प्रसङ्ग जोडिन्छ । आत्मसम्मान टोकरीमा मिल्काएर बाँच्नुपर्ने हुन्छ । एउटी बुहारी केवल असल बुहारी बन्नु पर्यो । ऊ असल अधिकृत बनोस् या नबनोस् त्यो सरोकारको विषय बन्दैन । जब घर बाहिर निस्कन्छे व्यावसायिक सफलताको अप्ठेरो एक्लै सामना गर्छे । जब घरको चार दिवारभित्र छिर्छे ऊ अब केवल गृहिणी बन्छे ।
घुम्ती नम्बर ४ः कौमार्यको कहर
बिहेसँगै जोडिएको अर्को अमानवीय र सुन्दै कहालीलाग्दो सोच हो कौमार्य वा भर्जिनिटी । त्यो पनि सिर्फ बधुको । बरको बाल मतलब । कौमार्यको सवाल केटा या केटी दुवैका लागि हुन्थ्यो भने सायद त्यति आपत्तिजनक हुन्थेन तर जब यो केटीको मामिलामा मात्रै लागू हुन्छ नि तब यो अत्याचार लाग्छ । नेपाल, भारत, पाकिस्तान लगायत अन्य मुलुकमा जहाँ कौमार्यलाई पवित्रतासँग जोडेर हेर्ने गरिन्छ त्यहाँ महिला हिंसा यहीँबाट सुरु हुन्छ र वैवाहिक जीवनको दुरुह यात्रा पनि यहीँबाट सुरु हुन्छ । यद्यपि ‘भर्जिनिटी’ गुम्ने कारण यौन सम्पर्क मात्र नभई अन्य थुप्रै कारणहरु हुन्छन् भन्ने अधिकांशलाई थाहा छ । अनुभवी र छिप्पिएको बूढो र विधुरसँग किशोरी कन्याको विवाह गरिदिएर वैवाहिक बलात्कारको लाइसेन्स दिने यो ढोंगी समाज कौमार्य परीक्षण महिलामा मात्र किन गरिरहन्छ? हामी नेपालीहरु आधुनिकताका नाममा अनेक आयातीत कुरीतिहरु आँखा चिम्लेर अभ्यास गरिरहेका छौं तर महिलाको भर्जिनिटीलाई इस्यु नै बनाउँछौं भने हाम्रो आधुनिक भनिएको सोचलाई किन कालोमोसो नलगाउने? भर्जिनिटी अब शारीरिक कुरा रहेन, यो त अब एब्स्ट्र्याक्ट भइसकेको छ किनकि भर्जिनिटी अब महिला र पुरुषको शारीरिक अवस्थाभन्दा पर दुवैको भावनात्मक सम्बन्धमा र प्रेममा खोजिनु पर्छ न कि महिलाको मात्र शरीरमा ।
अनुभवी र छिप्पिएको बूढो र विधुरसँग किशोरी कन्याको विवाह गरिदिएर वैवाहिक बलात्कारको लाइसेन्स दिने यो ढोंगी समाज कौमार्य परीक्षण महिलामा मात्र किन गरिरहन्छ?
घुम्ती नम्बर ५ः गर्भाधारण र लिङ्गभेद
भर्खरै बिहे भएको छ । जागिर, पढाइ, उमेर वा अन्य कुराले दुईचार वर्ष बच्चा भएन भने आइमाईको शरीर र कोखको खोट नाप्ने कार्य सुरु हुन्छ । यसमा पनि बच्चा हुनु र नहुनुमा महिलालाई मात्रै दोषी देखाइन्छ । परिवारको त कुरै छोडौं, बच्चा समयमा भएन भने श्रीमान्ले समेत आफूले जँचाउनुभन्दा पहिले श्रीमतीलाई नै डाक्टरकोमा पुर्याउँछ । गर्भवती भएपछि पनि सुख छैन, छोरा पाउने हो कि छोरी भनेर मानसिक यातना सुरु हुन्छ । पहिलो सन्तान छोरी जन्मिई भने अर्को सन्तान छोरा जन्माउनु पर्ने मानसिक दबाब यति दिइन्छ कि दुर्भाग्यवश दोस्रो गर्भमा पनि छोरी रहेको थाहा भएमा गर्भपतन गराउन बाध्य पारिन्छ । र, कतिपय परिवारमा त यतिसम्म हुन्छ कि छोरा नजन्मिउन्जेल महिलाको शरीर भ्रूणको लिङ्ग परीक्षण गर्ने ल्याब मात्र हो भने जसरी गर्भपतन गराइन्छ । अझ बलियो कानुन नबन्दासम्म त छोरा जन्माउनकै खातिर दुई तीनवटी श्रीमती भिœयाउने कुरालाई ‘मर्दका सातवटी’ भनेर उल्टै पुरुषार्थको बखान गरिन्थ्यो । सबैभन्दा हाँसोलाग्दो कुरा त के छ भने भ्रूणको लिङ्ग निर्धारण प्रक्रियामा आमाको नभई बाबुमा निहित क्रोमोजोमको भुमिका रहन्छ । तर छोरी जन्माए बापत यातना दिइन्छ महिलालाई । मानौं यसको एकल भागिदार महिला मात्रै हो । यसले महिलालाई पार्ने शारीरिक, मानसिक र मनोवैज्ञानिक असरलाई हाम्रो समाजले सधैँ नजरअन्दाज गरिरहन्छ । एउटा महिलाको पढाइ किन पूरा भएन, पढाइ किन अब्बल हुन सकेन, राम्रो जागिरका लागि हुने प्रतिस्पर्धामा किन ऊ पछि परि, जागिर खाइसकेपछि ऊ कार्य मूल्याङ्कनमा किन कमजोर ठहरिई वा बढुवाको अवसर किन कम भयो जस्ता विविध योग्यताका मापकहरुमा ‘कमजोर’ को ट्याग लगाइनुमा अप्रत्यक्ष रुपमा यस्तै विवाह, गर्भाधान, सन्तान उत्पादन जस्ता कारकहरुले प्रभाव पारेको कुरालाई आँखा चिम्लेर महिलालाई जन्मले नै कमजोर बौद्धिक आकलन गरिन्छ जसलाई बिडम्बना मान्नुपर्छ ।
घुम्ती नम्बर ६ः सुत्केरीको सकस
आमा बन्नु प्रकृतिले नारीलाई प्रदान गरेको सर्वोत्तम बरदान हो । यसबाट महिलाले प्राप्त गर्ने मानसिक सन्तुष्टि र सुख सायदै अन्य भौतिक सुखसँग दाँज्न सकिएला तर आमा बन्नु अघिको जुन प्रसव बेदना छ त्यो अत्यन्तै जोखिमपूर्ण कुरा हो । गर्भवती अवस्थामा मानसिक, शारीरिक र मनोवैज्ञानिक रुपमा जुन परिवर्तन आउँछ त्यसको एक प्रतिशत पनि पुरुषले सायदै महसुस गर्न सक्छन् । यो अति नै संवेदनशील चरणमा गर्भवती महिलालाई सहयोगको साटो ‘के जन्माउँछे’ को प्रश्नले मानसिक रुपमा आतङ्कित बनाइन्छ ।
एउटी महिलाले बच्चा जन्माउनु भनेको आफू मरेर नयाँ सृष्टि दिनु सरह हो तर यसलाई यति हल्का रुपमा लिइन्छ कि महिलाले बच्चालाई जन्म दिनु सामान्य मानिन्छ । कतिपय अवस्थामा छोरी जन्माएकी सुत्केरीको स्याहारसुसार र खानपानमा वास्ता नगर्दा बच्चा र आमा कुपोषणको सिकार बनेका, ज्यान गुमाएका साथै पछि गएर आमाले पाठेघर खस्ने जस्तो बिकराल स्वास्थ्य समस्या भोग्नुपरेका समाचार पनि हाम्रा लागि नौला होइनन् । यसका अतिरिक्त सुत्केरी अवस्थामा शारीरिक स्याहारसुसार, खानपान र हेरचाहको आवश्यक पर्ने बेलामा सुतक बारिन्छ । सुत्केरीले पाउनुपर्ने सुबिधाको वञ्चितीकरण कतिपनि वैज्ञानिक छैन । यो सुतक बार्ने प्रचलन कुन धार्मिक मान्यतासँग जोडिएको छ यो बुझ्न नसकिएको पाटो हो ।
घुम्ती नम्बर ७ः विधवा र विभेद
विधवा हुन कसलाई रहर हुँदो हो? तर समय र मृत्युले कसलाई पर्खन्छ र? परिस्थितिले उब्जाएको यो जीवनको कठिनतम् पक्षमा पनि हाम्रो समाजले महिलालाई घोक्र्याउन छोड्दैन । अहिलेसम्म पनि हाम्रो समाजले बिधवालाई ‘पोइ टोकुई’ को संज्ञा दिन्छ । विधवाले नयाँ दुलहीलाई सिन्दुर राखेको हेर्न हुँदैन, मंगलकार्यमा विधवाको नजर परे साइत पर्दैन भन्ने जस्ता कहावत अहिले पनि प्रयोगमा छन् । कतिपय उक्तिहरु विधवालाई हेप्ने दुराशयले बनाइएका छन् । जस्तै, राँडीको राज्य, हाँडीमा कनिका हुन्जेल राँडीलाई निद्रा लाग्दैन, राँडीसँग आशिर्वाद मागे मजस्तै भएस् भन्छे रे । यस्ता उखान र भनाइले विधवा भएर बाँच्नुको कष्टकर जीवनको पराकाष्ठा बताउँछ । यो पनि महिला हिंसाको एक पाटो हो । जबकि माथि उल्लिखित कुराहरु विधुरलाई लागू हुँदैन । सबैलाई थाहा छ, कसैलाई मृत्युले अघि लान्छ त कसैलाई पछि । सँगै त को मर्छ र? अझ पचाउन नसकिने कुरा त के छ भने विधुर पुरुषलाई साठी कटेपछि पनि विवाह गर्न कुनै बन्देज छैन तर महिलाको हकमा बालविधवालाई पनि पुनर्विवाह गर्ने अनुमति समाजले दिँदैन । कानुनले मात्र फुकुवा गरेर के गर्नु । पुनर्विवाह गरेका महिलाको हकमा जातबाट च्यूत गर्ने संस्कार सामन्तवादी संस्कार हो जब कि पुरुषको हकमा न बहुविवाहले उसको सामाजिक प्रतिष्ठा घट्छ न विधुरको पुनर्विवाहले ऊ जातबाट च्यूत नै हुन्छ ।
यसरी नेपाली समाजका हरेक महिलाले धेरथोर यी सबै घुम्ती पार गरेर पनि आफूलाई समयसापेक्ष, सबल र सक्षम बनाउने भरमग्दुर प्रयास गरिरहेका छन् । देशमा महिलामैत्री संविधान त बनेको छ तर त्यसमा उल्लेखित कुराहरु एक तिहाई मात्रै पनि व्यवहारमा लागू हुने हो भने यो समाज अति नै सभ्य र शालीन बन्ने थियो । यो लेखको अभीष्ट धर्म, संस्कार र मूल्य मान्यताको विरोध होइन । सामन्ती र पुरातनवादी सोच हाबी रहेको हाम्रो समाजमा त्यसको अन्त्य नभएसम्म महिला कल्याणकारी समाजको परिकल्पना गर्नु कोरा कल्पना मात्र हुनेछ । व्याप्त महिला शोषण, विभेदीकरण र हिंसा हाम्रै समाजका निर्मिति हुन् किनकि संस्कृति भन्ने कुरा मानव निर्मित हो र यो परिवर्तनशील हुन्छ । तसर्थ हामी नै परिवर्तनकर्ता भएर महिलामैत्री संस्कार, संस्कृति र समाजको निर्माणमा जुट्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस