पर्वतका एक पुरुष छ दिनदेखि बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन हुनुभएको हो । श्रीमान–श्रीमती मात्रै बस्दै आउनुभएका उहाँहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो ।
भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोज्नुभएको थियो । बिहान करिब ८ बजेतिर घरबाट निस्कनुभएका उहाँ अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिनुभयो ।
“उहाँ मिजासिलो र खुशी देखिने मान्छे १५ गते बिहान घरबाट निस्कनुभएको रहेछ । झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन”, शिक्षक गौतमले भन्नुभयो, “छोरा विदेशमा र बुहारी पोखरामा हुनुहुन्छ । घरमा रहनुभएकी उहाँकी श्रीमतीलाई समस्या भएको छ ।”
कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उहाँ कता जानुभयो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएलगत्तै खोजी भइरहेको भए पनि उहाँको अवस्थाबारे पत्ता लाग्न नसकेको बताउनुभयो ।
हामीलाई तपाईंहरूको सल्लाह र सुझाव दिनुहोला जसले गर्दा हामीले यो विकास पत्रकारिता, लेखन र साहित्यको क्षेत्रमा अझ राम्रो गर्न सकौं । यहाँहरूका लेख तथा रचनाहरु छन् भने पनि हामीलाई पठाउनुहोला । छापिन योग्य रचनाहरू हामी छाप्ने छौं ।सम्पर्क इमेल : sendyourarticle@samayasamachar.com
तपाईको प्रतिक्रिया दिनुहोस